विश्‍व सहरी दिवसकै दिन सुकुम्बासी बस्ती तनावग्रस्त

हिमाल प्रेस १२ मंसिर २०७९ ६:४३
64
SHARES
विश्‍व सहरी दिवसकै दिन सुकुम्बासी बस्ती तनावग्रस्त सोमबार थापाथलीमा काठमाडौँ महानगर प्रहरीविरुद्ध प्रदर्शन गर्दै सुकुम्बासीहरू। तस्बिर- दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ–  सोमबार विश्व सहरी दिवस मनाइरहेकै दिन काठमाडौँ थापाथलीस्थित सुकुम्बासीबस्तीमा नगर प्रहरी र बस्तीका बासिन्दाबीच झडप भयो। सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा काठमाडौँको तारे होटलमा विभिन्न देशका प्रतिनिधिसमेत सहभागी भएर विश्व सहरी दिवस मनाइरहँदा उता झडप भएको हो।

थापाथलीमा देखिएकाे काठमाडौँ महानगरपालिकाका प्रहरी र सुकुम्बासीहरूबीचको झडपले यो दिवसको मर्ममाथि प्रश्न उठाएको छ। थापाथलीमा मात्र होइन काठमाडौँ उपत्यकामा बग्ने बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, रुद्रमतीलगायतका नदी किनारमा सुकुम्बासी बस्दै आएका छन्।

सरकारले सुकुम्बासी व्यवस्थापनका लागि विभिन्न समिति तथा आयोग गठन गरेर धेरै प्रकारका योजनाहरू ल्याए पनि कार्यान्वयन नहुँदा सुकुम्बासी समस्या जहाँको त्यहीँ छ। खासगरी सुकुम्बासी र सरकारबीच तथ्यगत बुझाइ नहुँदा सुकुम्बासी समस्या थप पेचिलो बन्दै गएको देखिन्छ।

सरकारी पक्षले पनि उनीहरूको व्यवस्थापन गर्न जरुरी छ। अहिले सहरी विकास मन्त्रालय होस् या भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय। यी निकायहरूसँग नेपालमा बास्तविक सुकुम्बासीको यकिन संख्या कति छ? यसमा काठमाडौँ उपत्यकामा कति संख्यामा वास्तविक सुकुम्बासी छन् भन्ने तथ्यांक छैन।

सरकारको यस्तो लापरबाहीले वास्तविक सुकुम्बासी राज्यबाट पीडित छन्। यसका साथै नक्कली सुकुम्बासीबाट पनि सार्वजनिक जग्गा हडप्ने काम भएको छ। थापाथली सुकुम्बासी बस्तीमा पनि यस्तो अवस्था पक्कै छ। नेपालको संविधानले हरेक नागरिकका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूत गरेको छ। यस्तो कानुनी व्यवस्थाका अघि नागरिकहरूले बस्न पाउनकै लागि राज्यसँग पौँठेजोरी खेल्नु संवैधानिक हकका विरुद्धमा छ।

नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा बस्तीका बासिन्दाहरूको आक्रमणमा परी महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ जना प्रहरी घाइते भएको महानगरपालिकाले जानकारी दिएको छ। घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीका अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

केसीका अनुसार घाइतेमध्ये धेरैको टाउकोमा चोट लागेको छ। घाइतेहरू खतरामुक्त रहेको पनि उनले जानकारी दिए। नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो।

सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नु पर्ने थियो। सूचना अवज्ञा गर्दै यस अवधिभित्र किनाराका संरचना नहटाइएकपछि महानगरले आवश्यक कदम चालेको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए।

‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौं। त्यही क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुंगा हानेर आक्रमण भयो। यसबाट नगर प्रहरीहरू घाइते हुनुभयो,’ अधिकारीले भने।

नांगो खुकुरीसहित आएका स्थानीयले ढुंगा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेपछि केही घन्टासम्म थापाथलीको स्थिति तानवपूर्ण रह्यो।

संयुक्त रूपमा मनाइयो विश्व सहर दिवस

‘दीगो विकासका लागि स्थानीय प्रयास’ भन्ने नारासहित सोमबार विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ मनाइएको छ। हरेक वर्ष नोभेम्बर ८ का दिन विश्व सहरी दिवस मनाइन्छ। नेपालले सन् २०१९ देखि यो दिवस मनाउँदै आएको छ। यद्यपि यसवर्ष निर्वाचन आचारसंहिताका कारण ढिलो गरी यो दिवस मनाइएको हो।

सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले संयुक्त रुपमा दिवस मनाएका हुन्। दीगो विकासका लक्ष्य हासिल गर्न सहरी क्षेत्रको योगदानलाई पहिचान गर्दै सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्ने यस दिवसको मुख्य उद्देश्य रहेको छ।

नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको तर पूर्वाधार विकासका हिसाबले भने यो अवधिभित्रमा नेपाललाई सो लक्ष्य हासिल गर्न चुनौति देखिन्छ।  सहरीकरणलाई विकासको प्रमुख मुद्दा मानेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु पनि यसको उद्देश्य रहेको छ।

‘स्थानीयको जबसम्म विकाससँग अपनत्व हुँदैन, तवसम्म विकासले पूर्णता पाउँदैन। यस कारण स्थानीयलाई पनि विकाससँग जोड्न सक्नुपर्छ,’ सहरी विकास मन्त्रालय निमित्त सचिव पद्मकुमार मैनालीले भने। बागमती नगरपालिकाका नगरप्रमुख भरत थापा भन्छन्, ‘जनप्रतिनिधि र कर्मचारीको सोचमा सकरात्मक ढंगबाट तर्जुमा गरिएका नीति निर्माण कार्यान्वयन गरेमा १० वर्षमा नेपाललाई उत्कृष्ट बनाउन सकिन्छ।’ दिवसका अवसरमा दीगो विकासका विश्वव्यापी लक्ष्य हासिल गर्न भएका स्थानीय प्रयास र अन्तर्राष्ट्रिय विज्ञको अनुभव आदानप्रदान गरिएको थियो।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बागमती नगरपालिकालगायत विभिन्न नगरपालिका, काठमाडौँ उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, नगर विकास कोष, संयुक्त राष्ट्र संघीय बसोबास कार्यक्रम, इञ्जिनियरिङ अध्ययन संस्थान, नेपाल नगरपालिका संघ तथा विभिन्न गैरसरकारी संघ संस्थाहरूको सहयोग एवम् सहकार्यमा दिवस मनाएको हो ।

प्रकाशित: १२ मंसिर २०७९ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =