एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्दो प्रयास गर्नेछ : विष्णु पौडेल

हिमाल प्रेस १२ मंसिर २०७९ १८:२१
766
SHARES
एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्दो प्रयास गर्नेछ : विष्णु पौडेल फाइल तस्बिर।

एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ बाट २७ हजार १ सय ४८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी मानिएका गठबन्धनको उम्मेदवारको उम्मेदवारी खारेजीमा परेपछि नै उनी निर्वाचित हुने आकलन थियो। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले एमाले उपाध्यक्ष पौडेललाई चुनौती दिए। मतगणनाको सुरुमा ‘डेन्जर जोन’ मा पौडेल उनी १३ सय ६६ मतले निर्वाचित भए। पार्टीमा उनकै वरीयतामा रहेका सुवास नेम्बाङ र पृथ्वी सुब्बा गुरुङबाहेकले जित निकाल्न सकेनन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतको पनि पाँच वर्षका लागि संसद् यात्रामा पूर्णविराम लागेको छ। यस्तो अवस्थामा एमालेको रणनीति तथा सरकार गठन लगायतका विषयमा उपाध्यक्ष पौडेलसँग हिमाल प्रेसले गरेको संक्षिप्त कुराकानी :

चुनाव जितेर काठमाडौँ आउनुभयो। कस्तो अनुभव भएको छ?

मेरो क्षेत्रमा म जित्छु भन्ने लागेको थियो। आमनागरिकले मलाई चुन्नुभयो। उहाँहरूप्रति आभारी छु। प्रक्रियागत रूपमा काम हुँदा मैले जितेर आएको छु। निर्वाचनमा जितहार हुन्छ। यो स्वाभाविक हो। यसपल्ट केही उत्साहित भएको छु। हार्दा अत्तालिनु हुँदैन। अर्को निर्वाचन आइहाल्छ। पाँच वर्ष यसै कटिहाल्छ नि। तर घेराबन्दी गर्दा अलिक अत्यास लाग्ने रहेछ। यसपटक त्यसको राम्रै अनुभव भयो।

तपाईँलाई कसरी घेराबन्दी भयो र? गठबन्धनको नेता त उम्मेदवारी रद्द भएको होइन र?

हो, एकजनाको उम्मेदवारी रद्द भयो। त्यसपछि अन्य खालको घेराबन्दी भयो। सत्तारुढले कसलाई सघाउने भन्ने सहमति भयो। जसले गर्दा म अलिक अत्तालिएँ। तर त्यसलाई राम्रोसँग व्यवस्थापन गर्‍यौँ। मैले रुपन्देहीका साथीहरूको खटाइ र मतदाताको विश्वासले जितेको हुँ। अब त्यो खटाइ र विश्वासलाई तलमाथि हुन दिने छैन। मैले मेरो क्षेत्रमा राम्रै गरेको छु भने सरकारमा रहँदा मुलुकको विकासमा योगदान पुर्‍याउने काम गरेको छु।

दलभित्रैको प्रतिस्पर्धाले एमालेका दोस्रो तहका नेताहरूले हारेका हुन् भनिन्छ नि?

एमालेभित्रबाट त्यस्तो काम हुँदैन। हामी बरु पार्टीभित्र जति नै झगडा, वादविवाद गरौँला तर त्यसको असर सांसद बनेर आउने विषयमा हराउने खेलमा परिणत हुँदैन। त्यस्तो संस्कार हाम्रो पार्टीमा छैन। कोही व्यक्तिले त्यस्तो गरेको भए कारबाही हुन्छ। असहयोग गर्ने काम हुँदैन। आगामी दिनमा पनि त्यस्ता आरोपलाई ध्यानमा राखेर हामी छलफल गर्न सक्छौँ। बाहिरबाट हामीलाई घेराबन्दी गरिएको हो। यसमा एमाले राम्रैसँग घोत्लिएर अवधारणा बनाउनेछ।

अबको राजनीति कसरी जाला?

मैले पार्टी अध्यक्षसँग छलफल गर्न पाएको छैन। उहाँसँग छलफल गर्छु। त्यसपछि पार्टीहरूबीच विभिन्न विकल्पमा छलफल हुनेछ। चुनावमा कुनै पार्टीको पनि बहुमत नआएकाले कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुनेछ। एमाले संघीय संसद्मा दोस्रो नम्बरको दल बनेको छ। त्यसैले अहिले यसोउसो केही भन्न सक्ने अवस्था छैन। तर पनि एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्दो प्रयास गर्नेछ। हामी दोस्रो भए पनि सिट संख्यामा अधिक मतान्तर नहुने भएकाले सरकार बनाउन पहिलो र दोस्रो जसले पनि पहल गर्न सक्ने अवस्था छ।

एमाले सरकारमा जान्छ त?

सरकारमा जाने विषय स्पष्ट छ। कसैको पनि बहुमत छैन। जति घेराबन्दी गरे पनि एमालेले पनि अन्य दलहरूसँग मिलेर बहुमतको प्रयास गर्ने बाटो छ। म अध्यक्षज्यूसँग छलफल गरेर मात्र यस विषयमा भन्न सक्छु। तर एमाले अर्कोले सरकार बनाउँछ भनेर चुप लागेर बस्दैन। प्रयास भने गर्नेछ।

पार्टीका धेरै नेताहरूले चुनाव हार्दा आगामी दिन कति सहज होला?

सबैतिरबाट घेराबन्दी गर्दा पनि हामी दोस्रो स्थानमा छौँ। यसमा हामी सन्तुष्ट हुने कुरा छैन। तर हामीले प्रयास बराबर गरेका हौँ, भएन। आमनागरिकले दिनुभएको मतलाई स्वीकार गरेर हामी अघि बढ्नेछौँ। तर राज्य संयन्त्रको उपयोग केकसरी भए भन्ने बारेमा छलफल गरेर समग्र समीक्षापछि मात्रै धारणा सार्वजनिक गर्नेछौँ।

सत्ता समीकरणका विषयमा विदेशी शक्तिको पनि आँखा परिसकेको हो?

हामी दरिलो हुने हो भने विदेशीको आँखा परेर केही हुँदैन। पहिला हामीले स्वच्छ प्रतिस्पर्धामा सरकार बनाउनुप¥यो। त्यसपछि विदेशी आफैँ चुपचाप हुन्छन्। हामीले उनीहरूलाई गुहार माग्ने हो भने त पक्कै हस्तक्षेप गर्छन्, हेप्न खोज्छन् नै।

प्रकाशित: १२ मंसिर २०७९ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =