यसपालिको विश्वकपमा किन सर्बियालाई समर्थन गर्दैछन् रुसी?

हिमाल प्रेस १२ मंसिर २०७९ १३:३१
12
SHARES
यसपालिको विश्वकपमा किन सर्बियालाई समर्थन गर्दैछन् रुसी?

काठमाडौँ- मस्को सहरको मध्यभागमा रहेको एक बार। जहाँ ठूलो टेलिभिजनमा विश्वकप देखाइँदैछ। खेल हेर्न निकै रुसी त्यहाँ पुगेका छन्। उनीहरूले रातो, सेतो र निलो रंगको जर्सी लगाएका छन्। खेल सुरु हुनै लागेको छ। दुवै टिमका खेलाडी लहरै उभिएका छन्। अब पालो राष्ट्रिय धुनको।

जब राष्ट्रिय धुन बज्न सरु हुन्छ तब ती रुसी उभिन्छन्। तर बजिरहेको राष्ट्रिय धुन रुसको होइन। यो त सर्बियाको हो। हो, यसपल्ट अधिकांश रुसीले सर्बियालाई समर्थन गरिरहेका छन्।

विश्वकप २०१८ को आयोजक रुस कतार पुगेको छैन। उसलाई फिफाले विश्वकप खेल्नबाट प्रतिबन्ध लगाएको छ। कारण उही, रुसी सेनाले युक्रेनमाथि गरेको आक्रमण।

युक्रेनमाथि आक्रमण गरेकाले रुसलाई पश्चिमा देशहरुले दण्डित गर्ने प्रयास गरेका छन्। विश्वव्यापी रुपमै रुसलाई बहिस्कार गर्न अभियान चलाइएको छ। फिफा र अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी जस्ता अन्तर्राष्ट्रिय खेल संगठनले रुसलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागी हुन वञ्चित गरेका छन्।

यही कारण रुसले विश्वकप गुमाएको हो। उसलाई विश्वकपको प्लेअफ नै खेल्न दिइएन। विश्वकपमा आफ्नो टिम नभएपछि रुसीले सर्बिया रोजेका हुन्। किनभने सर्बिया रुससँग मजबुत सम्बन्ध भएको देश हो।

‘रुसीले सर्बियालाई सधैँ समर्थन गरेका छन्। यो विश्वकपमा पनि हामीले सर्बियालाई नै समर्थन गरेका छौँ। सर्बियाली हाम्रा लागि दाजुभाई हुन्,’ मध्य मस्कोको यो बारमा भेटिएका किरिल नेभुचेभले भने।

नेभुचेभ उनका साथीहरूसँग सर्बिया र ब्राजिलबीचको खेल हेर्न आएका थिए। सर्बियन भाषामा ओर्लोभी (अंग्रेजीमा द इगल्स) भनिने सर्बियाली टिम पहिलो खेलमा ब्राजिलसँग २–० ले पराजित भयो। अब सोमबार दिउँसो हुने दोस्रो खेलमा सर्बियाले क्यामरुनको सामना गर्दैछ।

अधिकांश छिमेकी देशले रुसको आलोचना गरिरहँदा सर्बिया भने उसको भ्लादिमिर पुटिनको पक्षमा उभिएको छ। उसो त बेलग्रेड र मस्कोको सम्बन्ध पहिलेबाटै मजबुत रहँदै आएको छ। यसकारण आमरुसीमा सर्बिया र सर्बियालीप्रति सकारात्मक धारणा छ।

सर्बियाको समर्थनका उसको झण्डा पोतेर हिडिरहेका निकै रुसी भेटिन्छन् मस्कोमा। ‘यो खेल ब्रजिलले जित्छ जस्तो लाग्छ। मैले बाजी पनि ब्राजिलको पक्षमा लगाएको छ। ब्राजिलले जिते मलाई फाइँदा हुन्छ। तर सर्बिया विजयी भए म अझ खुसी हुनेछु,’ गत शुक्रबार बारमै भेटिएका स्थानीय रुसी रोमन मारसाकले भनेका थिए।

बारमा काम गर्ने रोमन यान्चिन्स्कीले सर्बियाको खेलका बेला आउने रुसीको संख्या अरुबेला भन्दा बढी हुने गरेको अनुभव सुनाउँछन्।

अधिकांश छिमेकी देशले रुसको आलोचना गरिरहँदा सर्बिया भने भ्लादिमिर पुटिनको पक्षमा उभिएको छ। उसो त बेलग्रेड र मस्कोको सम्बन्ध पहिलेबाटै मजबुत रहँदै आएको छ। यसकारण आमरुसीमा सर्बिया र सर्बियालीप्रति सकारात्मक धारणा छ।

नोभेम्बरको दोस्रो साता रुसको प्रसिद्ध खेलकुद वेबसाइट च्याम्पियोनटले सर्वेक्षण गरेको थियो। जसले धेरैजसो रुसीको मनपर्ने टिम सर्बिया रहेको देखाएको थियो। स्थानीय फुटबल विश्लेषक पनि आफ्ना कार्यक्रममा सर्बियाली टिमको चर्चा गरिरहन्छन्। डुसान भ्लाहोभिच र अलेक्जान्डर मिट्रोभिच जस्ता सर्बियाली फरवार्डबारे छलफल गर्छन्।

रुसी फुटबल संघले समेत सामाजिक सञ्जालमा सर्बियालाई शुभकामना दिएको छ। ‘विश्वकपका लागि सर्बियालाई शुभकामना। सर्बियाली दाजुभाईले यो विश्वकपमा सफलता पाउने छन् भन्ने विश्वास छ,’ रुसी फुटबल संघले भनेको छ।

विश्वकपमा सर्बियालाई समर्थन गर्नुपर्ने बाध्यता, रुस विश्व खेलकुदबाट टाढिएको उदाहरण हो। चार वर्षअघि आफैँ आयोजक रहेका रुसी नयाँ संस्करणको विश्वकप हेर्न कतार पुग्न सकेका छैनन्। छिमेकी देशहरूले आफ्नाे आकाशमा रुसी वायुसेवा कम्पनी उड्न प्रतिबन्ध लगाइदिएकाले रुसी कतार पुग्न नसकेका हुन्।

अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण युरोपका ठूला लिग खेल्ने क्लबले रुसी खेलाडी अनुबन्ध गर्न पाएका छैनन्। अन्तर्राष्ट्रिय राजनीतिमा मात्र होइन अन्तर्राष्ट्रिय खेलकुद मञ्चबाट समेत टाढा पारिएको रुसलाई सर्बियाले भने लगातार समर्थन गरिरहेको छ।

विश्वकपमा सर्बियालाई समर्थन गर्नुपर्ने बाध्यता, रुस विश्व खेलकुदबाट टाढिएको उदाहरण हो। चार वर्षअघि आफैँ आयोजक रहेका रुसी नयाँ संस्करणको विश्वकप हेर्न कतार पुग्न सकेका छैनन्। छिमेकी देशहरूले आफ्नाे आकाशमा रुसी वायुसेवा कम्पनी उड्न प्रतिबन्ध लगाइदिएकाले रुसी कतार पुग्न नसकेका हुन्।

हालै मात्रै सर्बियन लिग च्याम्पियन रेड स्टार बेलग्रेड रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गसँग मैत्रीपूर्ण खेल खेल्न पिटर्सबर्ग पुगेको थियो।मैत्रीपूर्ण खेल हेर्न रंगशाला पुगेका रुसी समर्थकले सर्बियन झण्डा बोकेका थिए।

सबैभन्दा लोकप्रिय खेल फुटबल रहेको देश विश्वकपमा नहुनु आफैँमा पीडादायक हो। ‘फुटबल वा कुनै पनि खेलमा राजनीति पस्नु हुँदैन। यही राजनीतिका कारण रुसी फुटबल पछािड परेको छ,’ बारमा भेटिएका १८ वर्षीय ग्लेब भन्छन्।

कुनैबेला युगोस्लाभियालाई युरो १९९२ र विश्वकप १९९४ खेल्न दिइएको थिएन। बाल्कान युद्धका कारण युगोस्लाभियाली फुटबल ‘आइसोलट’ भएको थियो। यद्यपि पछि युगोस्लाभियालाई अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्न दिइयो। हाल रुसको स्थितिलाई त्यसबेलाको युगोस्लाभियासँग दाँजिदैछ।

‘हामी अन्तर्राष्ट्रिय फुटबलमा फर्कनेछौँ। विश्वकपमा खेल्नेछौँ। तर कहिले? थाहा छैन। आजको दिनमा खेलकुद र राजनीतिलाई अलग गरेर हेर्न सकिने अवस्था छैन। हालको राजनीतिक अवस्था जटिल छ। त्यसकारण रुसले कहिले पुनरागमन गर्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन,’ ग्लेबका साथी मार्सकले भने।

एएफपीबाट

प्रकाशित: १२ मंसिर २०७९ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =