सीताराम विवाह महामहोत्सव : मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

हिमाल प्रेस ११ मंसिर २०७९ २१:५६
8
SHARES
सीताराम विवाह महामहोत्सव : मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

जनकपुरधाम– जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ।

जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्यान्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ। जसलाई मटकोर विधि भनिन्छ ।

गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुन जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षुभिक्षुणी तथा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो।

मटकोर विधिका क्रममा आज ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ले गंगा आरतीको आयोजना गरेको थियो।

सो अवसरमा महिलाले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू गाएका थिए। मटकोर विधि हेर्न गंगासागर क्षेत्रमा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता थियो।

मटकोर विधिबाट उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन छ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार (भोलि) दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाह हुनेछ।

सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत मंसिर १३ गते रामकलेवा रहेको छ। रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरूलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ।

मधेसमा सोमबार सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार (आज) शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको जानकारी गराएका छन्।

सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्षजस्तै बिदा दिएको हो।

जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आइतबार (आज)देखि तीन दिनका लागि बिदा दिइएको छ।

सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बासको तथा भीडलाई ध्यानमा राखेर विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो। खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो संख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =