इतिहासमा निर्वाचन : १०

पहिलो चुनाव : यस्ता थिए मतदाताका लागि आयोगबाट जारी सन्देश

हिमाल प्रेस २१ कार्तिक २०७९ १०:४८
पहिलो चुनाव : यस्ता थिए मतदाताका लागि आयोगबाट जारी सन्देश

काठमाडौँ- २०१५ सालमा सम्पन्न मुलुकको पहिलो आमनिर्वाचन गराउने जिम्मेवारी त्यतिबेला निर्वाचन कमिसन (आयोग)को थियो। २००७ सालको राजनीतिक परिवर्तनलगत्तै २००८ सालमा नेपालमा निर्वाचन कमिसनको गठन भइसकेको थियो।

कर्नेल सुवर्णशमशेर त्यसका चिफ कमिस्नर नियुक्त भएका थिए। २०१५ सालमा निर्वाचन हुने निश्चित भएपछि निर्वाचन आयोगको पुनर्गठन गरिएको थियो। जसमा चिफ कमिस्नरसहित अन्य तीन जना इलेक्सन कमिस्नर थिए।

चिफ कमिस्नर कर्नेल सुवर्णशमशेर जबरा र इलेक्सन कमिस्नरहरू रुद्रराज पाण्डे, प्रद्युम्नलाल राजभण्डारी र वज्रकान्त ठाकुर थिए। त्यस्तै निर्वाचन आयोगका सेक्रेटरीमा श्यामकृष्ण भट्टराई थिए भने प्रचार विभागका डाइरेक्टरमा सुरेन्द्रराज शर्मा थिए।

निर्वाचन आयोगको प्रचार विभागद्वारा २०१५ असार १ देखि नै ‘निर्वाचन सन्देश’ नामक पाक्षिक पत्रिका प्रकाशित हुन्थ्यो। त्यसको पहिलो र दोस्रो अंक नरेन्द्र यन्त्रालय नेपाल र बाँकी अन्य अंक गोरखापत्र छापाखानाबाट छापिएको थियो।

सोही पाक्षिक पत्रिकाका विभिन्न अंकमा चुनावमा भोट हाल्न उत्प्रेरित गर्ने खालका केही सन्देश प्रकाशित थिए।

त्यसो त निर्वाचनसम्बन्धी सन्देश, जनतचेतनाका लागि विभिन्न किसिमका रेडियो नाटक, वार्ता, चुनावी गीत, कविता आदि पनि त्यसमा प्रकाशित भएका थिए।

उपलब्ध भएसम्मका अंकमा प्रकाशित ती नारालाई यहाँ प्रस्तुत  छ :

आमनिर्वाचन नै प्रजातन्त्रको मुटु हो। प्रजातन्त्रमा प्रजाले रोजेका मानिसहरूले नै राजकाज चलाउँछन्।

न बिर्सिनुहोस् नि?

के!

२०१५ सालको फागुन ७ गते!

प्रजातन्त्र दिवस!

हो, त्यही पुण्य स्मृतिको दिन।

के त?

आमनिर्वाचन सुरु हुने।

अनि।

मत दिएर प्रजातन्त्रलाई उज्यालो पार्नोस् नि!

आँखा भए सबै झलमल्ल

आँखा नभए सबै अलमल्ल

मतदाताको आँखा खुलाउनोस्।

योग्य उम्मेदवारलाई कत दिलाउनोस्।

प्रजातन्त्र फलाउनोस् फुलाउनोस्।

हैन, के? आमनिर्वाचनमा सबैले मत दिन पाउँछन्?

सबैले पाउँदैनन्।

कस–कसले पाउँदैनन्।

२१ वर्ष नपुगेकाले, पागल र अनागरिकले।

आमनिर्वाचन सफल गराउन के चाहिन्छ

सहयोग।

कसको?

सरकार जनता दुवैको।

कसलाई?

निर्वाचन आयोगलाई।

जनप्रतिनिधित्व ऐन भनेको क्या हो?

निर्वाचनमा जनताले आफ्नो प्रतिनिधि छान्न केके गर्नुपर्छ भन्ने अधिकार जनाउने कानुन, अलि बुझिनँ।

मतदाताहरू को बन्न सक्दछ? उम्मेदवार को हुन सक्दछ? कसरी निर्वाचन गर्नुपर्छ? त्यसको बयान।

आमनिर्वाचनमा जनाना–मर्दाना सबैको समान हक हुन्छ।

समान हक भने कि क्या हो?

दुवै थरीले एकै तवरले मत दिन पाउँछन्।

हाम्रो नेपाल पनि कुनै प्रगतिशील मुलुकभन्दा पछाडिएन।

निर्वाचन आयो, सफल तुल्याउन सहयोग दिनोस्।

२०१५ फागुन ७ गते नबिर्सिनोस्

सोची सम्झी मत दिनु नै ठूलो देशसेवा हो।

कसले कसलाई मत दियो कसैले थाहा पाउँदैन।

(निर्वाचन सन्देश वर्ष–१, अंक–२)

आमनिर्वाचन नै प्रजातन्त्रको मुटु हो

मतदान (भोट) दिनुभएको आफूले लायक ठहराएको मानिसलाई रोज्नु हो।

मतदान दिनु सबै उमेर पुगेका नेपालीहरूको हक हो।

प्रजातन्त्रमा प्रजाले रोजेका मानिसहरूले नै राजकाज चलाउँछन्।

देशको गौरव बढाउने खालका मानिसलाई रोज्नु नै जनताको कर्तव्य हो।

कसले कसलाई मतदान दियो कसैले थाहा पाउँदैन।

(निर्वाचन सन्देश वर्ष–१, अंक–३)

निर्वाचन आयो, हात बाँधेर नबस्नोस्

(तटस्थ न बन्नोस्)

निर्वाचन आयो, सफल तुल्याउन सहयोग दिनुहोस्।

सोची सम्झी मत दिनु नै ठूलो देश सेवा हो।

(निर्वाचन सन्देश वर्ष–१, अंक–४)

निर्वाचन आयो, देशको पहिलो

निर्वाचन सफल पार्न सबैसँग सहयोगको अपिल गर्दछ। नि.आ.

देशको गौरव बढाउन निर्वाचनमा लायक उम्मेदवार रोज्नुहोस्।

मतदान गर्दिनँ भन्नु राजकाज हक मोस्नु हो।

मत दिनु सबैको साजे कर्तव्य हो।

(निर्वाचन सन्देश वर्ष–१, अंक–९)

प्रकाशित: २१ कार्तिक २०७९ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =