नेपाली कला-संस्कृतिकी प्रशंसक शबाना

हिमाल प्रेस ११ मंसिर २०७९ १३:०३
20
SHARES
नेपाली कला-संस्कृतिकी प्रशंसक शबाना

काठमाडौँ- भारतीय अभिनेत्री तथा रंगकर्मी शबाना आजमीले नेपाल र नेपालीको प्रशंसा गरेकी छन्। ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०७९’का लागि आएकी उनले शनिबार मण्डला थिएटरमा ‘मास्टर क्लास’मात्र लिइनन् नेपाली सञ्चारमाध्यमसँग कुराकानी पनि गरिन्।

आजमीले नेपाली कला, सौन्दर्य र संस्कृतिको तारिफ गरिन्। ‘नेपालसँग कला संस्कृतिको लामो इतिहास छ,’ उनले भनिन्, ‘म नेपालको कला, संस्कृतिको सदैव प्रशंसक हुँ। नेपालीपनलाई महसुस गर्न सक्छु। नेपाल साँच्चिकै संस्कृति र कलाका लागि धनी देश हो।’

अभिनेत्री दोस्रोपटक नेपाल आएकी हुन्। ‘पहिलो पटक सन् १९७४ मा देव आनन्दको फिल्म ‘इश्क इश्क इश्क’का लागि यहाँ आएकी थिएँ,’ आजमीले भनिन्, ‘नेपाल प्राकृतिक रूपले धनी भएकाले यहाँ फिल्म निर्माणका लागि निकै सम्भावना रहेका छन्।’

आजमीले नेपालको प्राकृतिक सौन्दर्य, कला र संस्कृतिसँगै नेपाली रंगमञ्चको पनि प्रशंसा गरिन्। नेपालको नाटक महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्।

‘नेपालमा रंगमञ्चका कलाकारले मिलेर आफैँ नाटकघर निर्माण गरेर, नियमित नाटक मञ्चन गरिरहेका छन्,’ उनले भनिन्, ‘रंगमञ्चको विकास विस्तार र प्रवद्र्धनका लागि उनीहरूले गरेको काम प्रशंसनीय छ।’

थिएटरप्रति रंगकर्मीको प्रेम र लगावका कारण दोस्रो नाटक महोत्सव सम्भव भएको पनि उनले बताइन्। ‘रंगकर्मीहरूको प्रयासले नै नाट्य महोत्सव सम्भव भएको हो,’ उनले भनिन्, ‘यस्तो महोत्सव आँट्नु पनि ठूलो कुरा हो।’

शबानाले मण्डलामा मञ्चन भएका नाटकको अवलोकन गरिन्। दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ हेरेर आफू निकै प्रभावित भएको उनले बताइन्। ‘छोटो समयको वर्कसपपछि यति राम्रो नाटक तयार पार्नु सानो कुरा होइन,’ उनले भनिन्।

‘निशान’, ‘मासुम’, ‘फायर’, ‘अर्थ’जस्ता फिल्मका काम गरिसकेकी आजमी पछिल्लो समय फिल्म ‘जज्बा’, ‘चक एन्ड डस्टर’, ‘गंगुबाई काठियावाडी’मा देखिएकी थिइन्।

उनले पाँच पटक ‘राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री’को पुरस्कार र चारवटा फिल्म फेयर अवार्ड जितेकी छन्।

मंसिर ९ देखि सुरु भएको नाटक महोत्सव मंसिर १७ सम्म चल्नेछ। जसमा विश्वभरिका दुई सयभन्दा बढी रंगकर्मी सहभागी भएका छन्।

काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा १३ देशका नाट्य समूह सहभागी छन्।

प्रकाशित: ११ मंसिर २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =