देउवा र दाहालबीच गठबन्धनलाई निरन्तरता दिने सहमति

हिमाल प्रेस १० मंसिर २०७९ २१:३७
32
SHARES
देउवा र दाहालबीच गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गठबन्धन सरकारलाई नै निरन्तरता दिने सहमति भएको छ। भारतीय राजदूतले नयाँ सरकार गठनका विषयमा चासो राखेको भोलिपल्ट देउवा र दाहालबीच गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको देउवा निकट एक नेताले जानकारी दिए।

भारतीय राजदूत नवीन श्रीवास्तवले चासो बढाएपछि राजदूत श्रीवास्तवले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग चुनावी परिणाम र नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो।

चुनावको समीक्षासँगै दुई शीर्ष नेताबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको कांग्रेसका ती नेताले जानकारी दिए। ती नेताले भने, ‘देउवा र दाहाल मिलेमा सत्ता गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने निश्चित छ।’ देउवाले दाहालसँगको भेटमा गठबन्धनको निरन्तरता अझै आवश्यक रहेको बताएका थिए।

गोरखाबाट चुनाव जितेर काठमाडौँ फर्किएका दाहाल शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। दाहालले चुनावी नतिजाको विषय उठाउँदै कांग्रेसजनबाट पूर्ण सहयोग नपाएको गुनासो गरेका थिए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मत परिणामअनुसार वर्तमान गठबन्धन बहुमत नजिक रहेपछि देउवा र दाहालले यसै विषयमा छलफल अघि बढाएका हुन्।
गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा छन्। यी दलले निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गरेर गए पनि अपेक्षाकृत परिणाम भने हासिल गर्न सकेनन्।

‘गठबन्धनकै सरकार बनाउनुको विकल्प छैन। चुनावी परिणामले दिएको सन्देशमा अडेर विश्लेषण गर्दै साझा नीति कार्यक्रमसहित सरकार बनाउन जुट्नेछौँ।’

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने सबै मत परिणाम आएपछि गठबन्धनको निरन्तरताबारे सत्तारुढ दलको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहको बताए।

माओवादीका एक नेताका अनुसार देउवा र दाहालबीच अनौपचारिक छलफल भएको हो। उनले भने, ‘उहाँहरूबीच अनौपचारिक छलफल भएको हो। के निर्णय लिने विषय पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्नेछ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवा र दाहालबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने विषयमा कुराकानी भएको बताए। उनले भने, ‘चुनावको समग्र विषयमा समीक्षा भएको छ। सरकार गठनमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको हो।’

प्रतिनिधिसभा प्रत्यक्षतर्फ गठबन्धन दलले ८२ सिट जितिसकेका छन् भने कांग्रेस र माओवादीले अग्रता लिएका ६ क्षेत्रमा जितेमा गठबन्धनको सिट संख्या ८८ पुग्ने निश्चित छ। समानुपातिकबाट गठबन्धनले ५० सिट मात्र ल्याउँदा पनि साधारण बहुमत पुग्ने आकलन नेताहरूको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको बहुमत आउने दाबी गरेका छन्। उनले भने, ‘गठबन्धनकै सरकार बनाउनुको विकल्प छैन। चुनावी परिणामले दिएको सन्देशमा अडेर विश्लेषण गर्दै साझा नीति कार्यक्रमसहित सरकार बनाउन जुट्नेछौँ।’

प्रकाशित: १० मंसिर २०७९ २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =