विश्‍वकपमा लेवान्डोस्कीको पहिलो गोल, नकआउट चरण नजिक पोल्यान्ड

हिमाल प्रेस १० मंसिर २०७९ २०:५४
8
SHARES
विश्‍वकपमा लेवान्डोस्कीको पहिलो गोल, नकआउट चरण नजिक पोल्यान्ड

काठमाडौँ- विश्वकप समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको साउदी अरब शनिबार दोस्रो खेलमा पोल्यान्डसँग २–० ले पराजित भएको छ। पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्की निर्णायक साबित भए।

लेवान्डोस्कीले पोल्यान्डको पहिलो गोलका लागि पिटर जेलेन्स्कीलाई असिस्ट गरे भने दोस्रो गोल आफैँले गरे। लेवान्डोस्कीले विश्वकपमा पहिलो पटक गोल गरेका हुन्। यसअघि पोल्यान्डका लागि १३५ खेल खेलेर ७६ गोल गरे पनि लेवान्डोस्कीले विश्वकपमा भने गोलको खाता खोल्न सकेका थिएनन्। चार वर्षअघि रुसमा भएको विश्वकपमा पोल्यान्ड समूह चरणबाटै बाहिँरिदा लेवान्डोस्की गोलविहीन बनेका थिए।

यो जितले पोल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। पहिलो खेलमा मेक्सिकोसँग बराबरी गरेको पोल्यान्डको चार अंक जम्मा भएको छ। पाेल्यान्ड पहिलाे स्थानमा उक्लिँदा साउदी तीन अंकसहित दाेस्राे स्थानमा छ।

साउदीको नकआउट चरणमा पुग्ने सम्भावना भने मेक्सिकोसँगको खेलले निर्क्याेल गर्नेछ। उसले समूह चरणको अन्तिम खेलमा मेक्सिकोको सामना गर्नेछ। मेक्सिको र अर्जेन्टिना शनिबार राति आमनेसामने हुँदैछन्।

३९ औँ मिनेटमा लेवान्डोस्कीले बक्सभित्रबाट दिएको पासलाई जेलेन्स्कीले सजिलै गोलमा परिणत गरेका थिए। साउदीका मिडफिल्डर अब्दुलेलाह अल मल्कीबाट बल खोस्दै लेवान्डोस्कीले ८२ औँ मिनेटमा गोल गरेका थिए।

एजुकेसन सिटी रंगशालामा भएको खेल बराबरीमा पुर्‍याउन साउदीले अवसर नपाएको होइन। पहिलो हाफको उत्तरार्द्धमा पोल्यान्डका रक्षक ख्रिस्टियन बिलिकले सालेम अल शेहरीमाथि फउल गरेपछि साउदीले पेनाल्टी पाएको थियो।

तर अर्जेन्टिनाविरुद्ध गोल गरेका सालेम अल डावसरीको पेनाल्टी पोल्यान्डका गोलरक्षक वोजिएक सेज्नीले बचाएपछि ‘स्कोरलाइन’ उही रह्यो। डावसरीको प्रहार सेज्नीले ‘पन्च’ गरेपछि ‘रिबाउन्ड’ मा आएको बललाई मोहम्मद अल बुरायकले प्रहार गरेका थिए। त्यसलाई पनि सेज्नीले बचाएका थिए।

प्रकाशित: १० मंसिर २०७९ २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =