हलेसीमा निःशुल्क आँखा जाँच शिविर, सेवाग्राहीको भिड

हिमाल प्रेस १९ कार्तिक २०७९ १०:२९
हलेसीमा निःशुल्क आँखा जाँच शिविर, सेवाग्राहीको भिड फाइल तस्बिर।

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान हलेसीमा तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु गरिएको छ।

आँखासम्बन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिको संयुक्त आयोजनामा शनिबारदेखि निःशुल्क आँखा शल्यचिकित्सा शिविर सुरु गरिएको हो।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविर हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका हुन्।

मोतिबिन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेकोलगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको हो।

शिविरमा आँखा जाँचदेखि मोतिबिन्दु भएका विरामीको पहिचान गर्दै शल्यक्रिया गर्ने र निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

शिविरको पहिलो दिन एक बालकसहित १७ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ। पाँच जनाको आँखामा पलाएको मासुलाई शल्यक्रिया गरेर हटाइएको छ।

पहिलो दिन २७८ जनाले आँखा जाँच गर्नुका साथै औषधि र चश्मा लिएका छन्। चश्मा भने सुपथ मूल्यमा उपलव्ध गराउने व्यवस्था मिलाइएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए।

पहिलो चरणको कोभिड-१९ को महामारीअघि सञ्चालन गरिएको घरदैलो अभियानबाट पहिचान गरिएका १८ जना, वर्षदिनको अवधिमा दैनिक ओपिडि सेवाबाट पहिचान भएका १९ जना, विश्व दृष्टि दिवसको अवसरमा गत असोजमा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा आयोजना गरिएको आँखा उपचार शिविरबाट पहिचान भएका ११ जना बिरामीको पनि शल्यक्रिया गरिने प्रमुख श्रेष्ठले बताए।

केही समयअघि हलेसीमा आयोजना गरिएको ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिविरबाट पहिचान भएका १६ जनाको मोतिबिन्दुको पनि शल्यक्रिया गरिने छ। यसबाहेक जारी शिविरमा आएकामध्ये मोतिबिन्दु भएका बिरामीको पनि शल्यक्रिया गरिने उनले जानकारी दिए।

निःशुल्क आँखा जाँच शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जना शल्यक्रिया टोली आएका छन्। आँखाको उपचारका लागि छिमेकी पालिकाबाटसमेत बिरामी हलेसी पुगेका छन्। सेवा लिन आउनेमा अधिकांश लठ्ठी टेक्ने वृद्धवृद्धा देखिएका छन्।

प्रकाशित: १९ कार्तिक २०७९ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =