कतार विश्वकप : फ्रान्सलाई डेनिस चुनौतीको चिन्ता

हिमाल प्रेस १० मंसिर २०७९ १७:३४
10
SHARES
कतार विश्वकप : फ्रान्सलाई डेनिस चुनौतीको चिन्ता

काठमाडौँ- फ्रान्सले अस्ट्रेलियालाई हराउँदै विश्वकपको सुरुवात गरिसकेको छ। पहिलो खेल सजिलै जिते पनि फ्रान्सका लागि शनिबार राति डेनमार्कले दिने चुनौती कठिन हुनेछ। बलियो डेनिस टिमको सामना गर्दा फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्प्सले रणनीतिक परिवर्तन गर्ने अनुमान छ।

डेनमार्कलाई पराजित गरे फ्रान्स नकआउट चरणमा पुग्नेछ। त्यो पनि समूहको अन्तिम खेल नखेली। समूह ‘डी’ को विजेता बन्ने लक्ष्य राखेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग भिड्नेछ।

फ्रान्स र डेनमार्क नेसन्स लिगमा आमनेसामने भएका थिए। दुवै लेगमा डेनमार्क विजयी भएको थियो। डेनमार्कले जुनमा २–१ ले र सेप्टेम्बरमा २–० को जित दर्ता गरेको थियो।

जुनयता डेनिस टिममा केही खेलाडी परिवर्तन भएकाले यसपल्ट खेल फरक हुनसक्ने फ्रान्सका कप्तान ह्युगो लोरिसको अनुमान छ। ‘डेनमार्कमा नयाँ खेलाडीहरू थपिएका छन्। यसकारण ती दुई खेलमा भन्दा फरक किसिमको डेनिस टिमको सामना हामीले गर्नुपर्नेछ। उनीहरू फरक फरक संरचना रणनीतिमा खेल्न माहिर छन्। तर डेनमार्कले प्रस्तुत गर्ने हरेक किसिमका चुनौती सामना गर्न हामी तयार छौँ,’ गोलरक्षक लोरिसले भने।

डेस्चाम्प्सले शनिबारको खेलमा रक्षापंक्तिको संरचना परिवर्तन गर्ने छैनन्। तर त्यहाँ खेल्ने खेलाडी भने परिवर्तन गर्नेछन्। घाइते भएका लेफ्टब्याक लुकास हर्नान्डेजले डेनमार्कसँगको खेल मात्र होइन पूरा विश्वकप नै गुमाउने पुष्टि भइसकेको छ। पहिलो खेलमा लयमा नदेखिएका राइटब्याक बेन्जामिन पाभार्डका स्थानमा डेस्चाम्प्सले युल्स कौन्डेलाई मौका दिन सक्छन्।

त्यसैगरी मिडफिल्डमा पनि डेस्चाम्प्सले केही परिवर्तन गर्ने सम्भावना छ। उनले सेन्ट्रल मिडफिल्डको दायाँतिर खेल्ने एड्रियान राबियोटलाई निकालेर डिफेन्सिभ मिडफिल्डर औरेलियान टुचामनीलाई अवसर लिने अनुमान छ। अस्ट्रेलियाविरुद्ध ‘नम्बर १०’ को भूमिकामा देखा परेको एन्टोइन ग्रिजमन सेन्ट्रल मिडफिल्डर बनेर खेल्नेछन्।

अग्रपंक्तिमा भने डेस्चाम्प्सले परिवर्तन गर्ने सम्भावना कम छ। ओलिभर जिरुड सेन्ट्रल फरवार्ड अनि औसमाने डेम्बेले तथा किलियान एम्बाप्पे पहिलो खेलमा झैँ विंगमा देखिनेछन्।

डेनमार्कसँगको खेलमा फ्रान्सले आक्रामक सन्तुलन कायम गर्नु पर्नेछ। विशेषगरी डेम्बेलेले रक्षापंक्तिसँग साझेदारी गर्न नसकिरहेको विश्लेषण गरिएको छ। प्रशिक्षक डेस्चाम्प्सले यो विषयमा आफूले डेम्बेलेसँग कुरा गरिसकेको बताएका छन्।

‘डेम्बेलेको खेलमा निकै सुधार आइसकेको छ। अस्टे«लियासँगको खेलमा उनीबाट केही कमजोरी भएकै हो। कुनै कुनै बेला उनी आफ्नो पोजिसनमा थिएनन्,’ डेस्चाम्प्सले भनेका छन्।

फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताएका डेस्चाम्प्सले डेनर्माकसँगको खेलका लागि रणनीतिमा केही परिवर्तन गर्ने पनि बताएका छन्। ‘पहिलो खेलको विश्लेषण गरेपछि हामीले हामीले केही पक्षमा सुधार गर्नुपर्ने आवश्यकता देखेका छौँ। अस्ट्रेलियाले हामीविरुद्ध सजिलै गोल गरेको थियो। फेरि यस्तो स्थिति नआओस् भनेर चनाखो हुनुछ,’ डेस्चाम्प्सले भने।

रणनीति परिवर्तन भए वा नभए पनि आफ्नो टिम गोलका अवसर सिर्जना गर्न र गोल गर्नमा केन्द्रित हुनुपर्ने डेस्चाम्प्सको भनाइ छ। ‘कुनै पनि टिमको प्रदर्शनमा पूर्णता हुँदैन। तर त्यसको नजिकसम्म पुग्न सकिन्छ। पुग्ने कोसिस गर्नुपर्छ। हामी पनि यही कोसिसमा छौँ,’ डेस्चाम्प्सको भनाइ थियो।

प्रकाशित: १० मंसिर २०७९ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =