साउदीका प्रशिक्षक रेनार्ड भन्छन् : नकआउटमा नपुग्‍ने भए अर्जेन्टिनालाई हराएकाे अर्थ रहँदैन

हिमाल प्रेस १० मंसिर २०७९ १४:३१
8
SHARES
साउदीका प्रशिक्षक रेनार्ड भन्छन् : नकआउटमा नपुग्‍ने भए अर्जेन्टिनालाई हराएकाे अर्थ रहँदैन

काठमाडौँ- साउदी अरबका प्रशिक्षक हेर्भे रेनार्डले आफ्नो टिम विश्वकपको नआउट चरणमा पुग्न नसके समूह चरणमा अर्जेन्टिनामाथि हासिल गरेको जितको अर्थ नहुने बताएका छन्। गत मंगलबार साउदीले १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो।

साउदीलाई कतार विश्वकप खेलिरहेका कमजोर टिमध्येको एक मानिएको छ। साउदी फिफा वरीयतामा ५१ औँ स्थानमा छ। विश्वकप खेल्ने ३२ टिममध्ये फिफा वरीयतामा सबैभन्दा तल्लो स्थानमा भएकाे टिम घाना हो। त्यसपछि साउदीको नाम आउँछ।

फिफा वरीयताको आधारमा कमजोर टिम मानिएको भए पनि साउदी अन्तिम १६ को नजिक छ। शनिबार राति पोल्यान्डलाई पराजित गरे साउदी नकआउट चरणमा पुग्नेछ। यस्तोमा प्रशिक्षक रेनार्डले साउदीका खेलाडीले पछिल्लो खेलको नतिजालाई बिर्सिएर खेल्नु पर्ने बताएका छन्।

‘हामी नकआउट चरणमा पुग्न चाहन्छौँ, चाहे समूह विजेता भएर होस् वा उपविजेता भएर। प्राथमिक लक्ष्य नआउट नै हो। हामी यो लक्ष्यमा प्रतिबद्ध छौँ। पहिलो खेल जित्यौँ तर त्यसले हाम्रो अवस्थामा परिवर्तन गरेको छैन। पिफा वरीयताका आधारमा हामी अझै पनि समूहको कमजोर टिम हो। हामीले मेहनत जारी राख्न आवश्यक छ। मेहनत नगरे हामी कहीँ पनि पुग्ने छैनौँ,’ पोल्यान्डसँगको खेलअघि रेनार्डले भनेका छन्।

अर्जेन्टिनासँगको खेलमा साउदीले पहिलो हाफको १० औँ मिनेटमै गोल खाएको थियो। पहिलो हाफ सकिएपछि ‘डे«सिङ रुम’ मा रेनार्डले आफ्ना खेलाडीलाई निर्देशन दिइरहेको भिडियो सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। भिडियोमा उनले साउदीका खेलाडीलाई दोस्रो हाफमा अझ मेहनत गरेर खेल्न भनिरहेको देखिन्छ। तर रेनार्डले यस किसिमको भिडियोले खेलाडीको प्रदर्शनमा कुनै असर नपर्ने बताए।

‘प्रशिक्षकका रुपमा खेलाडीलाई सम्झाउने, निर्देशन दिने मेरो काम हो। खेलमा मलाई कसैको प्रदर्शन मन परिरहेको छैन, टिमबाट गल्ती भइरहेकोे छ भने म सिधैँ भन्छु,’ रेनार्डले भन्छन्, ‘लियोनल मेस्सी, लाउटारो मार्टिनेज, एंगल डि मारिया जस्ता स्तरीय खेलाडीविरुद्ध खेल्न खेलाडी प्रतिबद्ध हुनै पर्छ।’

साउदी अरबले पहिलो पटक सन् १९९४ मा विश्वकप खेलेको थियो। पहिलो सहभागितामै नकआउट चरणमा पुगेको साउदी त्यसपछि समूह चरण कट्न सकेको छैन। ‘पहिलो खेल जितेपछि हामीले नकआउट चरणबारे धेरै सोचविचार गरेका छौँ। अझैँ दुई खेल खेल्न बाँकी छ। यसकारण हामी आफ्नो लक्ष्यमा सफल भइसकेका छैनौँ,’ अर्जेन्टिनाविरुद्ध गोल गरेका सालेह अल शेहरीले भने।

उनले साउदी टिम कमजोर नरहेको र सबै खेलाडी आत्मविश्वासी भएको बताए। ‘कसैले हामीलाई कमजोर आक्छ भने त्यो उसको गल्ती हो,’ शेहरीको भनाइ थियो।

पोल्यान्डविरुद्ध साउदीले यासेर अल शाहरानीलाई मैदान उतार्ने छैन। ३० वर्षीय यी फुलब्याक पहिलो खेलको अन्त्यतिर घाइते भएका थिए। उनी आफ्नै टिमका गोलरक्षक मोहम्मद अल ओआइससँग ठोक्किएका थिए।

प्रकाशित: १० मंसिर २०७९ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =