जहाँ विश्‍वकपबारे जानकार हुन उत्सुक हुन्छन् बालबालिका

विवेक विवश रेग्मी १० मंसिर २०७९ १२:५७
364
SHARES
जहाँ विश्‍वकपबारे जानकार हुन उत्सुक हुन्छन् बालबालिका

इटहरी- इटहरी ४ की एलिजा तामाङ मुस्कुराउँदै विद्यालयको गेटबाट प्रवेश गरिन्। सधैँ औपचारिक पोसाकमा विद्यालय पुग्‍ने उनी शुक्रबार भने ‘स्पाेर्ट्स युनिफर्म’ मा थिइन्। खेलकुद प्रतियोगितामा सहभागी हुन वा आफ्नाे टिमलाई समर्थन गर्न लगाइने जर्सीमा एलिजा र उनी जस्तै अरु विद्यार्थी विद्यालय पुगेपछि वरपरका स्थानीय आश्चर्यमा परे।

विश्‍वकप चलिरहेकाले यी विद्यार्थी जर्सी लगाएर विधालय पुगेका थिए। यसरी अन्य बेलामा भन्दा फरक पाेसाक लगाएर विद्यालय पुगेकी कक्षा ७ की विधार्थी एलिजाले आफ्नाे विद्यालयमा विश्‍वकप भइरहेकाे माैकामा पारेर खेलकुदका गतिविधि भइरहेकाे बताइन्। उनले विश्‍वकपका दिउँसो हुने खेल विद्यालयमा ‘प्राेजेक्टर’ राखेर देखाइने गरेकाे सुनाइन्।

इटहरी २ मा रहेको पशुपति इंङ्लिस बोर्डिङ स्कुलमा विश्वकपको समय पारेर अहिले हरेक शुक्रबार विद्यार्थीले आफ्नो मनपर्ने टिमको जर्सी लगाएर आउँछन्। त्यतिमात्रै होइन, शुक्रबार विद्यालयमा विश्वकपबारे नै जानकारी गराइन्छ। आवश्यकता अनुसार विद्यार्थीहरू फरकफरक टिमको समर्थक भएर खेल्छन्। विश्वकपकाे इतिहास र यसका विभिन्‍न संस्करणबारे चासो राख्छन्।

विद्यालयका प्रधानाध्यापक सुमित थापाले फुटबलको विषयमा बालबालिकालाई जानकारी गराउने उदेश्यले रचनात्मक काम गर्ने अभ्यास गरिएको बताए। ‘विश्वकप अवधिभर हामीले विद्यार्थीलाई फुटबलको विषयमा जानकारी गराउने उद्देश्यले हरेक शुक्रबार यो किसिमको कार्यक्रम आयोजना गरेका हौँ,’ थापाले थपे, ‘विद्यालयमा ३२ वटा राष्ट्रको झण्डा पनि राखिएको छ, विश्वकपको इतिहासदेखि अहिलेको वर्तमान अवस्थासम्म विद्यार्थीलाई जानकारी गराइन्छ।’

उनका अनुसार विद्यार्थीले किताबी शिक्षासँगै विश्वकपबारे जानकार हुने अवसर पाउँछन्। जसकारण विद्यार्थीलाई खेलकुदमा पनि अब्बल बन्नका निम्ति सहज हुनेछ। ‘शिक्षा सँगसँगै खेलकुदलाई पनि अगाडि बढाउने उदेश्यले कक्षा १ देखि १० सम्मका विद्यार्थीले आफ्नो मनपर्ने टिमको जर्सी लगाएर विद्यालय आउँछन्,’ थापा भन्छन्, ‘हरेक शुक्रबार हामीले आज कसको खेल छ, हिजो कसले जित्याे, के-के भयो र भोलि के हुँदैछ भनेर विश्वकपकै विषयमा मात्र कुरा गर्छौँ, जसले विद्यार्थी र शिक्षकको सम्बन्ध पनि प्रगाढ बन्छ।’

उनका अनुसार विद्यालय समयमा विश्वकप भएको अवस्थामा सबै विद्यार्थीलाई एकैठाउँ राखेर ‘प्रोजेक्टर’मार्फत प्रतियोगिता देखाईँदै आएको छ। ‘हामीले यो किसिमले विद्यार्थीलाई प्रत्यक्ष रूपमा खेलकुदसँग जोड्न गरेको अभ्यासले उनीहरूमा खेलकुदप्रतिको उत्साह देखिएको छ,’ उनले भने, ‘शिक्षालाई खेलकुदसँग जोड्न र विश्वकपबारे सूचना दिने उदेश्यले यो काम गरेका हौँ।’

फुटबल मात्रै नभइ क्रिकेट प्रतियोगिता भएको समयमा पनि विद्यार्थीलाई खेलकुदको माध्यममा सक्रिय बनाएको उनले सुनाए। सोही विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै आएका इटहरी १ का पारस खड्काले भने आफूहरू खेलकुदमा जानकार राख्ने र उत्साहित हुने बताए। ‘हामीलाई खेलकुदमा पनि सक्रिय हुनुपर्छ भनेर विद्यालयले उत्साह प्रदान गरेको छ,’ उनले परिपक्क मानिसले झैँ यसअघि थपे, ‘विद्यालयमै साथीहरूसँग मित्रवत् प्रतिष्पर्धा गर्दा सम्बन्ध मजबुत हुन्छ, सँगै मनोरञ्जन पनि प्रदान हुन्छ र जानकारी पनि हुने हुँदा एकदमै खुसी लागेको छ।’

प्रकाशित: १० मंसिर २०७९ १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =