गठबन्धनमा भोट ‘ट्रान्सफर’ नहुँदा कास्कीमा एमाले जोगायो विरासत

विजय उत्सव १० मंसिर २०७९ ११:४०
6
SHARES
गठबन्धनमा भोट ‘ट्रान्सफर’ नहुँदा कास्कीमा एमाले जोगायो विरासत

पोखरा- यसपटक नेकपा एमालेले कास्कीमा विरासत कायम गर्दै इतिहास कायम गरेको छ। गण्डकी प्रदेशका ११ मध्ये पर्वतमा ‘क्लीन स्वीप’ गरेको एमालेले कास्कीमा २०७४ सालको विरासत कायम गर्दै अपेक्षाकृत चुनाव जितेको हो।

प्रतिनिधिसभाका ३ क्षेत्र रहेको कास्कीमा प्रदेशसहित कुल ९ मध्ये ६ सिट जितेको एमालेले यसपालि विपक्षी दलको गठबन्धनको चुनौतीबीच पनि १ सिट अझै थपेर ७ पुर्‍यायो। कास्की क्षेत्र २(ख) र क्षेत्र ३(ख) गरी २ सिटमात्र पाँचदलीय गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले जित्यो भने अन्य सबै सिट एमालेले कब्जा गर्‍यो । प्रतिनिधिसभातर्फ कास्की १ मा मनबहादुर गुरुङ, २ मा विद्या भट्टराई र ३ मा दामोदर पौडेल बैरागी विजेता बने।

२०७४ सालको चुनावमा सोही क्षेत्रबाट एमालेका खगराज अधिकारी निर्वाचित भएका थिए। यसपालि प्रदेशसभातर्फ ओर्लिएका उनी पुनः निर्वाचित भए। प्रदेशसभा १ मा अधिकारीले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै मुख्यमन्त्रीको दावेदार बनेका छन्। अधिकारीले १५ हजार ६ सय २३ र कोइरालाले ११ हजार ६ सय २७ मत पाए।

प्रदेशसभा २ मा एमालेका वेदबहादुर गुरुङ (श्याम) ले बाजी मारे। उनले कांग्रेसका दीपक गुरुङ (माइला) लाई ८ सय ६७ मतान्तरसहित पराजित गरेका हुन्। श्यामले १२ हजार ६ सय ६१ र दीपकले ११ हजार ७ सय ९४ पाए। तेस्रोमा राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरे।
कास्की क्षेत्र २ प्रतिनिधिसभा सदस्यमा एमालेकी विद्या भट्टराई निर्वाचित भइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई ४ हजार ५ सय ३ मतान्तरले हराउँदै दोस्रो कार्यकालका लागि उनी निर्वाचित हुन सफल भएकी हुन्। यो क्षेत्र उनका पति रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्र हो। विद्याले १६ हजार ९ सय ९८ र उनका प्रतिस्पर्धी कँडेलले १२ हजार ४ सय ९५ मत पाए।

गठबन्धनबाट समाजवादी पार्टीका श्रीनाथ बराल तेस्रोमा खुम्चिए। उनले ९ हजार ६ सय ५९ मत प्राप्त गरे। क्षेत्र २(१) मा एमालेका भीमबहादुर कार्की सांसद बने। उनले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी राप्रजाका विजयबहादुर भण्डारीले ५ हजार ८ सय ९३ पाए।

माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० ल्याउँदै तेस्रो स्थानमा सीमित रहे । क्षेत्र २(२) मा कांग्रेसका बिन्दुुकुमार थापाले जीत दोहोर्‍याए। उनले एमाले उम्मेदवार मीना गुरुङ पराजित गर्दै दोस्रो इनिङ सुरु गरेका हुन्।

गण्डकीका सञ्‍चारमन्त्री समेत रहेका उनले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरे। तेस्रोमा राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे।
कास्की क्षेत्र ३ प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर वैरागी निर्वाचित भए। गठबन्धनबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पारेका हुन्। बैरागीले २२ हजार ९ सय ८० र बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे। रास्वपाका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाए ।
कास्की क्षेत्र ३(क) बाट एमालेका गणेशमान गुरुङ विजयी भए। उनले माओवादी केन्द्रका दुर्गादत्त भण्डारीलाई झण्डै ५ हजार मतान्तरले पराजित गरेका हुन्। गुरुङले १४ हजार ४ सय ७३ र भण्डारीले ९ हजार ६ सय ६१ मत प्राप्त गरे। राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत सहित तेस्रो भए।

क्षेत्र ३ (२) बाट कांग्रेसका प्रकाश बराल निर्वाचित भए। उनले एमालेका राजीव पहारीलाई पराजित गरेका हुन्। बरालले १२ हजार ३ सय ६७ र पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे। तेस्रो स्थानमा रास्वाप हरिराम भण्डारीले २ हजार ५ सय ६० मत ल्याए।
एमालेविरुद्ध पाँचदलीय गठबन्धनको सिट बाँडफाँडमा कास्की १ कांग्रेस, २ एकीकृत समाजवादी र ३ माओवादी केन्द्रले लिएका थिए । प्रदेशसभातर्फ १ मा माओवादी तथा २ तर्फ कांग्रेसलाई टिकट परेको थियो। तर गठबन्धनकै दलले अपेक्षाकृत भोट ‘ट्रान्सफर’ नहुँदा, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, विभिन्न स्वतन्त्र उम्मेदवारलाई मत जाँदा त्यसको फाइदा एमालेले लिन सफल भएको राजनीतिक विश्लेषक बताउँछन्।

कास्कीमा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशसभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । ४ मंसिरको चुनावमा २ लाख ९१ हजार ५ सय ६८ मतदातामध्ये १ लाख ७९ हजार ९ सय ६६ जना अर्थात् ६१।७२ प्रतिशतले भोट खसालेका थिए। प्त्यक्ष्तर्फ गणना सकिएकोमा समानुपातिकतर्फ मतगणना जारी छ।
२०७४ को आमनिर्वाचनमा बामगठबन्धन हुँदा एमालेले कास्कीबाट प्रतिनिधिसभाका सबै ३ ओटै सिटसहित प्रदेशतर्फ ३ सिट जितेको थियो। अरु माओवादीबाट सांसद बने।

प्रकाशित: १० मंसिर २०७९ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =