कतार विश्‍वकप : घरेलु राजनीतिमा उकुसमुकुस इरानको पहिलो जित

हिमाल प्रेस ९ मंसिर २०७९ १८:३७
6
SHARES
कतार विश्‍वकप : घरेलु राजनीतिमा उकुसमुकुस इरानको पहिलो जित

काठमाडौँ-आतिरिक्त समयमा दुई गोल गर्दै इरानले विश्वकप समूह चरणमा वेल्सलाई २–० ले हराएकाे छ। अल रायनको अहमद बिन अली रंगशालामा वेल्सलाई हराउन इरानका रुजबे चेस्मी र रमिन रेजाइनले एक–एक गोल गरे।

यो जितले इरानको नकआउट चरण पुग्ने सम्भावना जीवित बनाएको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको इरान दुई खेलबाट दुई अंक जम्मा गर्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा अमेरिकासँग बराबरी गरेको वेल्स एक अंकसहित पुछारमा छ।

शीर्ष स्थानमा इंग्ल्यान्ड र तेस्रो स्थानमा अमेरिका छ। यी दुई टिम शुक्रबार राति भिड्दै छन्। यो खेल जिते इंग्ल्यान्ड नकआउट चरणमा पुग्नेछ। अमेरिकाले अन्तिम खेलमा इरानको सामना गर्नेछ। अमेरिकालाई हराए इरानको अन्तिम १६ यात्रा पक्का हुनेछ। कतारमा छैठौँ विश्वकप खेलिरहेको इरान कहिले पनि नकआउट चरणमा पुग्न सकेको छैन।

अधिकांश समय बल वेल्सको नियन्त्रणमा भए पनि आक्रमण बुन्ने मामलामा इरान अगाडि रह्यो। १६ औँ मिनेटमै इरानका अली घोलिजादेहले गोल गरेका थिए। तर उनको गोललाई भीआएरले मान्यता दिएन। पहिलो हाफ बराबरी भएपछि दुवै टिम दोस्रो हाफमा गोल गर्ने लक्ष्यका साथ मैदान फर्किएका थिए। कुल २१ पटक वेल्सको पोस्टमा प्रहार गरेको इरानले ९० मिनेटपछि मात्रै गोल गर्न सक्यो।

८६ औँ मिनेटमा गोलरक्षक वायने हेनेसीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको वेल्सले त्यसपछिको समयमा इरानी आक्रमण थेग्न सकेन।

यसअघिको खेलमा राष्ट्रिय गान नगाएका इरानी खेलाडीले शुक्रबार भने त्यसो गरेनन्। इरानमा जारी नागरिक आन्दोलनको समर्थनमा खेलाडीले राष्ट्रिय गान गाएका थिएनन्। कतार ओर्लिन साथ इरानी खेलाडीले घरेलु राजनीतिबारे विदेशी सञ्चारमाध्यमको प्रश्न सामना गरिरहेका छन्। इरानी सरकार र आन्दोलनकारीको चेपुवामा परेका इरानी खेलाडीले विश्वकपमा पहिलो जित हासिल गरेसँगै राहत महसुस गरेका छन्।

खेल सुरु हुनुअघि रंगशालामा इरानी राष्ट्रिय गान बजाइँदा इरानी समर्थक भावुक बनेका थिए। एक इरानी महिलाले मासा आमिनीको नाम अंकित जर्सी प्रदर्शन गरेकी थिइन्। हिजाब सम्बन्धी नियम उल्लंघन गरेको भन्दै इरानी धार्मिक प्रहरीले आमिनीलाई गिरफ्तार गरेको थियो। प्रहरीको नियन्त्रणमा रहेकै बेला उनको मृत्यु भएको थियो। जसकारण इरानभर महिला आन्दोलित भए। अन्ततः त्यही आन्दोलनले विशाल रुप लिएको छ।

रंगशालामा उपस्थित सयौँ इरानी समर्थकले इरानमा जारी आन्दोलनलाई समर्थन गर्नेगरी नारा लगाएका थिए। कयौँ इरानी समर्थकले रंगशाला प्रवेश गर्दा नै त्यस किसिमका नारा लगाएका थिए। त्यसरी नारा लगाउने एक महिलाबाट इरानी सरकारविरोधी सन्देश लेखिएको टिसर्ट र पम्पलेट रंगशाला सुरक्षा गार्डले खोसेका थिए। विश्वकप आयोजक कतारले यसअघि नै इरानी समर्थकलाई कुनै किसिमको राजनीतिक नारा नलगाउन चेतावनी दिएको थियो।

प्रकाशित: ९ मंसिर २०७९ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =