तेस्रोपटक प्रधानमन्त्री बन्ने कसरतमा ओली

हिमाल प्रेस १० मंसिर २०७९ १३:०६
156
SHARES
तेस्रोपटक प्रधानमन्त्री बन्ने कसरतमा ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसरी पनि सत्ताको नेतृत्व लिने रणनीतिमा जुटेका छन्। आफूले नेतृत्व नलिए मुलुक दुर्घटनामा पर्नसक्ने भन्दै नेताहरूसँग छलफल अघि बढाएको उनी निकट एक नेताले जानकारी दिए। चुनावमा जाँदा तालमेल गरिएका दलहरूसँग एक चरणको छलफल गरेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि हातेमालो गरेर अघि बढ्न प्रस्ताव गरिसकेका छन्।

अघिल्लो कार्यकालमा झन्डै दुई तिहाइ बहुमत सरकारको नेतृत्व गरेका ओलीमाथि सत्ता टिकाउन नसकेको आरोप छ। ओलीले सरकारमा रहँदा दुईदुई पटक असंवैधानिक रुपमा संसद् विघटन गराएको, नेकपा विभाजन गराउन प्रमुख भूमिका खेलेको जस्ता आरोप पनि उनीमाथि छ। ओलीको सोही कदमको विरोध गर्दै चुनावमा गएको कांग्रेस–माओवादी सोचेजति परिणाम ल्याउन सकेनन्। त्यसैले अब वर्तमान गठबन्धन कायम हुने हो या नयाँ गठबन्धन गर्ने भन्ने विषयमा नेताहरूबीच आन्तरिक छलफल भइरहेको छ।

‘अब नयाँ जनादेश आइसकेको छ। जनताले कुन पार्टीको हैसियत के हो भन्ने कुरा देखाइदिएका छन्। एमाले अब सत्ता समीकरणका लागि तयार छ भन्ने हिसाबमा कुराकानी भइरहेको छ’, एमालेका एक नेता भन्छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा एमाले ३८ स्थानमा जितेर दोस्रो छ। समानुपातिकमा भने एमालेले १८ लाखभन्दा बढी मत ल्याएर अग्रता हासिल गरिरहेको छ। कांग्रेस ४९ स्थानमा विजयी हुँदा माओवादी १६ स्थानमा निर्वाचित भएको छ।

आफू नेतृत्वको गठबन्धनले समानुपातिकसहित ११० सिट ल्याउने र बाँकी माओवादीसँग सहकार्य गर्ने ओलीको तयारी छ। एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरी चुनावमा गएको थियो।  राप्रपाले ६ सिटमा चुनाव जितेको छ। यस्तै जनता समाजवादीले पनि पाँच सिटमा जितेको छ।

विपक्षी गठबन्धनसहित माओवादी केन्द्रलाई पनि आफूसँगै ल्याउन सकेमा प्रत्यक्ष र समानुपातिक दुवै गरी १३५ भन्दा बढी सिट हुने ओलीको आकलन छ। बाँकी सिटका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य दलबाट ल्याउने प्रयास गर्नेसम्मको तयारीमा ओली लागिपरेका छन्।

सत्ता समीकरणमा एकीकृत समाजवादी अघि नसरेमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सामेल गराएर अघि बढ्ने ओलीको योजना छ। लामिछानेले पनि अब कुनै दलसँग गठबन्धन गरेर अघि बढ्न सकिने संकेत गरिसकेका छन्।

ओली निकट एक नेताले भने, ‘एमालेले नै सत्ताको नेतृत्व गर्नुपर्छ भन्ने अध्यक्षज्यूको अडान छ। अघिल्लो कार्यकालमा थालनी गरिएका विकास निर्माणलाई पूर्णता दिन र मुलुकलाई राष्ट्रियताका पक्षमा अघि बढाउन हामीले नै नेतृत्व लिने हो।’ ती नेताका अनुसार सत्ता समीकरणका लागि संघलाई मात्र आधार बनाएर हुँदैन। प्रदेशमा पनि तालमेल गरी अघि बढ्ने विषयमा छलफल हुनेछ।

सत्तामा जाने तयारीकै लागि ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग वार्ता गरिसकेका छन्। तत्कालीन नेकपा विवादपछि यी दुई नेताबीच कुराकानी भएको थिएन।

निर्वाचनमा पार्टीका केही प्रभावशाली नेताहरू पराजित भए पनि प्राप्त सिटसंख्याका आधारमा एमाले बलियो रहेको ओलीको बुझाइ छ। सरकार बनाउने विषयमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँगको सहकार्यका विषयमा ओली मौन छन्। विगतमा आफू नेतृत्वको सरकार ढाल्न र पार्टी फुटाउन सक्रिय रहेका नेपालसँग अहिलेकै अवस्थामा सहकार्य गर्न नसकिने ती नेताले बताए।

‘गल्ती सबैबाट हुन्छन्। तर पनि निर्वाचन परिणाम त पर्खनैपर्छ,’ उनले भनेका थिए। अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग त सहकार्यका लागि पहल गर्न प्रयास गरेकाले माधव नेपालसँग पनि सहकार्य टाढा नरहेको ती नेता बताउँछन्। नेपाल नेतृत्वको पार्टी राष्ट्रि पार्टी हुन नसकेमा कतै न कतै मिल्ने हुनाले पनि त्यहाँ सके सबै नसके ४० प्रतिशत मिलाउन सकिने विकल्पमा पनि ओलीले छलफल गरेका छन्। ‘दशकौँसम्म एकै ठाउँमा रहेका व्यक्तिहरूबीच फेरि सहकार्य हुनु नयाँ होइन। तर यसका लागि दुवै पक्ष तयार हुनैपर्नेछ’, ती नेताले भने।

देउवाले  सरकार नेतृत्व सकसमा रहेको भनिरहँदा ओली अर्को ढंगले सरकार बनाउने प्रयासमा लागेका हुन्। यसमा सरकार बनाउने विषय मात्र छैन। राष्ट्रपति, उपराष्ट्रपति चयनदेखि प्रतिनिधिसभाको सभामुख उपसभामुखको भागबण्डा पनि मिलाएर सबैलाई समेट्न सकिने ओलीको तयारी छ। ती नेताले भने, ‘संसद्को समितिमा नेतृत्वको  विषय पनि छ। त्यसैले सरकारमा जाने कसरत सुरु गरिएको हो।’

प्रकाशित: १० मंसिर २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =