अमेरिकाको सामना गर्नुअघि इंग्ल्यान्डलाई इतिहासकाे चिन्ता, नेदरल्यान्ड्सको नजर नकआउट चरणमा

हिमाल प्रेस ९ मंसिर २०७९ १५:०१
8
SHARES
अमेरिकाको सामना गर्नुअघि इंग्ल्यान्डलाई इतिहासकाे चिन्ता, नेदरल्यान्ड्सको नजर नकआउट चरणमा

काठमाडौँ- अर्जेन्टिना र जर्मनी जस्ता ठूला टिम विश्वकपको पहिलो खेलमा पराजित हुँदा इंग्ल्यान्ड र नेदरल्यान्ड्सले विजयी सुरुवात गरेका छन्। अब एक–एक खेल जिते इंग्ल्यान्ड र नेदरल्यान्ड्स अन्तिम १६ मा पुग्नेछन्। यही तथ्यलाई मनन गरेर यी दुई टिम शुक्रबार राति मैदानमा ओर्लदैछन्।

समूह चरणको सुरुवाती खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ ले पन्छाएको थियो। दोस्रो खेलमा इंग्लिस टिमले अमेरिकाको सामना गर्दैछ। विश्वकपमा इंग्ल्यान्डका लागि अमेरिका सजिलो विपक्षी भने होइन।

अमेरिकासँगकै हारका कारण इंग्ल्यान्ड सन् १९५० मा विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो। दक्षिण अफ्रिकामा यी दुई फेरि एकपटक एकै समूहमा परेका थिए। त्यसबेला इंग्ल्यान्डलाई अमेरिकाले बराबरीमा रोकेको थियो। अन्ततः त्यही नतिजाका कारण इंग्ल्यान्ड समूह विजेता बन्न सकेन।

विगतमा अमेरिकाले दुःख दिएका कारण इंग्ल्यान्ड यसपटक संयमित छ। ‘विश्वकपमा हामीले अमेरिकालाई पराजित गर्न सकेका छैनौँ। यसकारण हामीसँग इतिहास बनाउने अवसर छ। आशा छ हामी सफल हुनेछौँ। तर हामी अमेरिकालाई कम आक्ने पक्षमा छैनौँ। किनभने त्यो टिममा प्रतिभावान् खेलाडी छन्,’ इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भनेका छन्।

इंग्ल्यान्डले ५६ वर्षदेखि उपाधि जितेका छैन। उसका सामु गत वर्ष उपाधि खडेरी तोड्ने अवसर थियो। तर युरोको फाइनलमा इंग्ल्यान्डलाई इटालीले पराजित गर्‍याे। रुस विश्वकपमा सेमिफाइनलमा पुगेको इंग्ल्यान्डले यसपालि कम्तीमा त्यही सफलता दोहोर्‍याउने अनुमान गरिएको छ। पहिलो खेलमा विशाल अन्तरको जित दर्ता गरेकाले इंग्ल्यान्ड उत्साहित पनि छ।

इंग्ल्यान्डसँग पराजित इरान भने विश्वकपबाट बाहिरिने खतरामा छ। शुक्रबार दिउँसो वेल्ससँग हार व्यहोरे इरान आफ्नै क्षेत्रमा भइरहेको विश्वकपबाट बिदा हुनेछ। पहिलो खेलमा अमेरिकाविरुद्धको खेल गुमाएको वेल्स पनि ठ्याक्कै इरानको स्थितिमा छ। यस्तोमा यी दुवै टिम अनिवार्य जितको खोजीमा छन्।

देशको राजनीतिक अवस्थाका कारण इरानी टिम त्यसै पनि दबाबमा थियो। त्यहाँ जारी नागरिक आन्दोलनबारे इरानी खेलाडीलाई कतारमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रश्न गरिरहेका छन्। आन्दोलनलाई समर्थन गर्दै इरानी टिमले पहिलो खेलमा राष्ट्रिय गान गाएका थिएनन्।

इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका स्ट्राइकर मेहदी तारेमीले भने आफ्ना् टिमले कुनै प्रकारको दबाब महसुस नगरिरहेको बताएका छन्। उनले आफूहरूलाई राजनीतिक टिप्पणी गर्ने इच्छा नरहेको पनि प्रस्ट पारेका छन्।

वेल्स इरानलाई पन्छाउँदै छिमेकी इंग्ल्यान्डसँग भिड्नु अगावै अन्तिम १६ मा पुग्न चाहन्छ। वेल्स सन् १९५८ यता विश्वकपको समूह चरण कट्न सकेको छैन। स्विडेनमा भएको त्यो विश्वकपमा वेल्स पेले सम्मिलित ब्राजिलसँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

‘इरान कमजोर टिम होइन। कमजोर भएको भए विश्वकपमा छनोट नै हुने थिएन,’ वेल्सका कप्तानले इरानमाथि टिप्पणी गरेका छन्।

समूह ‘ए’ बाट नकआउट चरणमा पुग्ने दौडमा नेदरल्यान्ड्स र एक्वाडोर छन्। शुक्रबार यी दुई टिम आमनेसामने हुँदैछन्। नेदरल्यान्ड्सले पहिलो खेलमा बलियो सेनेगललाइ पन्छाएको थियो भने एक्वाडोरले आयोजक कतारलाई परािजत गरेको थियो।

तीन पटक विश्वकपको उपविजेता बनेको नेदरल्यान्ड्स लुई भान हालको नेतृत्वमा तेस्रो विश्वकप खेल्दैछ। सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलमा पु¥याएका भान हालले च्याम्पियन बन्ने लक्ष्यका साथ आफूहरू कतार ओर्लिएको अभिव्यक्ति दिएका छन्।

विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक टिम बनेको कतार पीडा भुलेर सेनेगलसँग भिड्न चाहन्छ। यो खेल हारे एसियन कप च्याम्पियन विश्वकपबाट बाहिरिनेछ। यसो भए विश्वकपको समूह चरणबाटै बाहिरिने दोस्रो आयोजक टिम बन्नेछ कतार। यो खरबा कीर्तिमान अहिलेसम्म दक्षिण अफ्रिकाको नाममा मात्रै छ।

‘हामीले पहिलो खेलमा असाध्यै दबाबको सामना गर्‍याैँ। आशा छ सेनेगलसँग हामी बिना दबाब खेल्न सक्नेछौँ। सेनेगलसँग प्रतिस्पर्धात्मक खेल खेल्न हामी सक्षम छौँ,’ कतारमा प्रशिक्षक फिलिक्स सान्चेजले भने।

प्रकाशित: ९ मंसिर २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =