उरुग्वे र दक्षिण कोरियाबीच गोलरहित बराबरी

हिमाल प्रेस ८ मंसिर २०७९ २१:१३
6
SHARES
उरुग्वे र दक्षिण कोरियाबीच गोलरहित बराबरी

काठमाडौँ- पाएका बग्रेल्ती मौकामा गोल गर्न नसक्दा विश्वकप समूह चरणमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्। बिहीबार राति एजुकेसन सिटी रंगशालामा भएको यो बराबरी जारी विश्वकपमा चौथो गोलरहित बराबरी हो।

यसअघि डेनमार्क र ट्युनिसिया, मेक्सिको र पोल्यान्ड, मोरोक्को र क्रोएसिया बीचका खेलमा पनि गोल भएका थिएनन्।

बल पोसेसनमा उरुग्वे अगाडि रहे पनि आक्रमण भने दुवै टिमले लगभग उस्तै संख्यामा गरे। उरुग्वेले १० पटक दक्षिण कोरियाली पोस्टमा प्रहार गरेको थियो। उता दक्षिण कोरियाले सात पटक दक्षिण अमेरिकी विपक्षीको पोस्टमा प्रहार गर्‍याे।

फिफाले संकलन गरेको तथ्यांक अनुसार दुवै टिमका प्रहार ‘टार्गेट’ मा परेनन्। यो शताब्दीमा भएका पाँच विश्वकपका खेलमध्ये कुनै टिमको ‘सट अन टार्गेट’ नभएको यो पहिलो पटक हो।

उत्तरार्द्धसम्म पनि दुवै टिमले एकअकाविरुद्ध आक्रमण बुनिरहे। ८१ औँ मिनेटमा उरुग्वेसँग दक्षिण कोरियाको बलियो रक्षापंक्ति तोड्दै गोल गर्ने मौका थियो। भेट्रान स्ट्राइकर एडिन्सन काभानीले विपक्षी बक्समा पुगेका आफ्ना युवा सहकर्मी डार्विन नुनेजलाई पास निकालिदिएका थिए। तर २२ वर्षीय नुनेजले त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

त्यसअघि ६२ औँ मिनेटमा पनि नुनेजले गोल गर्ने अवसर पाएका थिए। उरुग्वेली रक्षापंक्तिबाट आएको लामो पास भेट्न नुनेज दक्षिण कोरियाको बक्समा पुगेका थिए। तर चनाखो रहेका दक्षिण कोरियाका गोलरक्षक सुङ ग्यु किमले नुनेजले ‘इन्टरसेप्ट’ गरे।

पहिलो हाफमा उरुग्वेका कप्तान डिएगो गोडिन र दोस्रो हाफमा मिडफिल्डर फेडेरिको भाल्भार्डेले गरेका प्रहार पोस्टमा ठोक्किएका थिए।

विंगमा खेलेका कप्तान ह्युङ मिन सन र उइ जो ह्वाङले दक्षिण कोरियालाई अग्रता दिलाउन केही मौका पाएका थिए। ना साङ होले ३४ औँ मिनेटमा दिएको क्रसलाई ह्वाङले गोलको दिशा दिन सकेनन्।

प्रकाशित: ८ मंसिर २०७९ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =