दुई ठूला टिम हारेपछि सचेत ब्राजिल ; रोनाल्डो अब विश्वकपमा केन्द्रित

हिमाल प्रेस ८ मंसिर २०७९ १३:२२
10
SHARES
दुई ठूला टिम हारेपछि सचेत ब्राजिल ; रोनाल्डो अब विश्वकपमा केन्द्रित

काठमाडौँ- ब्राजिलको छैठौँ पटक विश्वकप जित्ने अभियान बिहीबार रातिबाट सुरु हुँदैछ। समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले सर्बियाको सामना गर्न लागेको हो। उता पोर्चुगलले पनि आज नै पहिलो खेल खेल्दैछ। म्यानचेस्टर युनाइटेडसँगको विवाद र बहिर्गमनका कारण साताभर चर्चामा रहेका क्रिस्टियानो रोनाल्डो पोर्चुगलाई घानामाथि विजयी गराउने लक्ष्यमा छन्।

लुसेल रंगशालामा सर्बिया ब्राजिलका लागि सजिलो विपक्षी हुने छैन। फेरि लुसेल त्यही रंगशालामा हो जहाँ यसअघि अर्जेन्टिना कमजोर मानिएको साउदी अरबसँग पराजित भइसकेको छ। कतारी भूमिमा जारी विश्वकपमा अर्जेन्टिना पछि पराजित हुने अर्को पूर्वविजेता जर्मनी रह्यो। जर्मनीलाई बुधबार जापानले स्तब्ध बनाएको हो। यी दुई नतिजाका कारण ब्राजिल सर्बियाले प्रस्तुत गर्ने चुनातीलाई लिएर संयमति भएको हुनुपर्छ।

ब्राजिल उत्साहित हुँदै कतारमा ओर्लिएको छ। दुई दशकअघि एसियामा भएको विश्वकप जितेको ब्राजिल त्यही लय दोहोर्‍याउने अभियानमा छ। यसका लागि ब्राजिल आफ्ना स्टार खेलाडी नेयमारमाथि भरपर्ने छ। तर ब्राजिलकाे याे अभियानमा नेयमार एक्लाे छैनन्। टिममा उनी भिनिसियस जुनियर र रोड्रिगो जस्ता खेलाडीले घेरिएका छन्।

‘नेयमारलाई युवा खेलाडीहरूले सहयोग गर्नेछन्। उनका लागि स्पेस र अवसरको सिर्जना गर्नेछन् भन्ने विश्वास छ,’ टिमका पाका खेलाडी थियागो सिल्भाले भनेका छन्,‘ यसपालि हाम्रो टिममा अनुभवी र युवा खेलाडीको समिश्रण छ। सबैबीच एकता छ।’

ब्राजिल र सर्बिया चार वर्षअघि पनि समूह चरणमा भिडेका थिए। त्यसबेला ब्राजिल २–० ले विजयी भएको थियो। रुसबाट चाँडै घर फर्किएका सर्बियन टिम यसपालि भने अन्तिम १६ मा पुग्न दृढ छ। ‘हामी कोहीसँग डराउँदैनौँ। ब्राजिलसँग खेल्न पनि डर छैन,’ सर्बियाका प्रशिक्षक ड्रागन स्टोकभिचले ब्राजिलसँगको खेलअघि भने।

स्विटजरल्यान्डविरुद्ध क्यामरुन

बिहीबार नै स्विटजरल्यान्ड र क्यामरुन भिड्दैछन्। स्विटजरल्यान्डका कप्तान ग्रानिट जाकाले क्यामरुनसँगको खेलअघि जर्मनीले जस्तो फिफाविरुद्ध सांकेतिक विरोध नगर्ने बताएका छन्। समलैंगिकताका समर्थन र फिफाको विरोध गर्दै जर्मन खेलाडीले बुधबार आआफ्ना मुख छोपेका थिए।

समलैंगिकताको समर्थन गर्दै कप्तानले त्यही अनुसारको आर्मब्यान्ड लगाउने निर्णय युरोपका सात टिमले गरेका थिए। ती सात टिममध्ये स्विटजरल्यान्ड पनि एक हो। तर फिफाले त्यसो गर्न अनुमति दिएन। त्यसकै विरोधमा जर्मनीका खेलाडीले जापानसँगको खेलअघि मुख छोपेका हुन्।

‘जर्मनीले जे गर्यो‍ हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन। फिफाको नियम मान्दै फुटबलमा ध्यान दिन चाहन्छौँ,’ जाकाले भनेका छन्।

रोनाल्डो सम्भवत आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। तर उनको विश्वकप सहभागिता म्यानचेस्टर युनाइटेडसँगको विवादका कारण छाँयामा परेको छ। गएको मंगलबार मात्र उनले युनाइटेड छाड्ने घोषणा भएको छ। युनाइटेडले धोका दिएको, प्रशिक्षक एरिक टेन हागलाई सम्मान नगर्ने लगायतका कुरा उनले एक टेलिभिजन अन्तरवार्तामा गरेपछि उनी विवादमा तानिएका थिए।

क्लब करियरमा जे भइरहेको छ, त्यसलाई हालका लागि बिर्सिएर विश्वकपमा केन्द्रित हुने लक्ष्यमा रोनाल्डो छन्। दोहाको स्टेडियममा ९७४ मा घानाविरुद्धको खेलमा पोर्चुगलको पहिलो एघारमा रोनाल्डो रहने अनुमान गरिएको छ।

यसैबीच पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डो विश्वकपका लागि तयार रहेको बताएका छन्। टिममा रोनाल्डोको विषयमा कुरा नभएको र उनीसहित सबै खेलाडी विश्वकपमा केन्द्रित रहेको सान्तोसको भनाइ छ।

‘पोर्चुगलका सबै खेलाडी विश्वकपप्रति प्रतिबद्ध छन्। उनीहरूलाई के गर्नुपर्छ भन्ने थाहा छ। टिमको लक्ष्यबारे जानकार छन्। र समूह चरणमा रहेका विपक्षी कत्तिका बलिया छन् भन्ने ज्ञान पनि छ। हामी एउटा तथ्यमा प्रस्ट हुनुपर्छ, विश्वकप जित्न सजिलो छैन,’ सान्तोसले भने।

एसियाका दुई टिमले आफूभन्दा बलिया टिमलाई हराएपछि दक्षिण कोरिया पनि उत्साहित छ। यही उत्साह बोकेर समूह ‘एच’ मा दक्षिण कोरियाले बिहीबार राति दक्षिण अमेरिकाको उरुग्वेको सामना गर्दैछ। यो खेलका लागि दक्षिण कोरियाली टिममा सन ह्युङ मिन पनि हुने बताइएको छ।

आँखामा चोट लागेपछि गरिएको शल्यक्रियाका कारण सन यो खेलका लागि उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने प्रष्ट थिएन। च्याम्पियन्स लिगमा मार्सेविरुद्धको खेलमा टोटनहमका फरवार्ड सनको आँखामा चोट लागेको थियो। शल्यक्रिया नै गर्नुपरेपछि उनले विश्वकप नै गुमाउने हल्ला पनि चलेको थियो। तर उनी अभ्यासमा फर्किइसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =