युरोपियन लिगका कारण बलियो बनेको जापानी टिम

हिमाल प्रेस ७ मंसिर २०७९ १३:३५
6
SHARES
युरोपियन लिगका कारण बलियो बनेको जापानी टिम

काठमाडौँ- जापानले सन् १९९८ बाट विश्वकप खेल्न थालेको हो। त्यसबेला जापानी टिममा युरोपियन लिग खेल्ने खेलाडी थिएनन्। यसपालिको परिदृश्य फरक छ। विश्वकप खेल्न कतारमा रहेको जापानी टिममा घरेलु लिग खेल्ने खेलाडी सात जना मात्र छन्। बाँकी १९ जना भने युरोपमा खेल्छन्। त्यसमध्ये आठ जना त जर्मन लिगका क्लबसँग सम्बद्ध छन्।

संयोगवश जापान पहिलो खेलमा बुधबार साँझ जर्मनीसँग भिड्दैछ। दोहाको खलिफा अन्तर्राष्ट्रिय मैदानमा बलियो जर्मनीसँग भिड्ने जापानमाथि उसका समर्थकको अपेक्षा ठूलो छ। यसको कारण युरोपियन फुटबलको अनुभव बटुलेका खेलाडीको समूह नै हो।

विश्वकपमा डेब्यु गरेयता जापान कुनै संस्करणबाट छुटेको छैन। त्यसैले भन्नैपर्छ, जापान अब विश्वकपमा भेट्रान टिमका रुपमा स्थापित भएको छ। त्यसमाथि झन् जापानी टिम बलियो बन्दै गएको छ।

जापानी लिग खेल्ने सात खेलाडीमध्ये दुईसँग त युरोपमा खेलेको अनुभव छ। जस्तै, युटो नागाटामो। उनीले ११ वर्ष युरोपका विभिन्न क्लबबाट खेलेका थिए। सुरुमा सेसेना हुँदै इन्टर मिलान पुगेका उनी गालाटासारे र मार्सेमा पनि कयौैँ वर्ष रहे। त्यसपछि मात्र उनी घर फर्किएका हुन्। हाल जे–लिगमै रहेका हिरोकी साकाइ पनि करिब १० वर्ष जर्मनी र फ्रान्समा थिए।

३६ वर्षीय लेफ्ट ब्याक नागाटोमा युरोपमा खेल्ने खेलाडीको संख्या धेरै हुनु जापानी टिममा लागि फाइदाजनक रहेको बताउँछन्। ‘हाम्रो टिममा च्याम्पियन्स लिग खेलेका खेलाडी छन्। जर्मन लिग खेल्नेसँग बायर्न म्युनिख जस्ता बलिया टिमविरुद्ध भिडेको अनुभव छ। समग्रमा जापानी टिम पहिलेभन्दा बलियो छ,’ चौथो पटक विश्वकप खेल्न लागेका नागाटामोले भनेका छन्।

विगतका जापानी टिममा पनि विदेशी लिग खेलेका खेलाडी हुन्थे। तर उनीहरूको संख्या अहिलेको जस्तो धेरै हुँदैन थियो। यो टिममा फ्रान्समा खेल्ने तीन, स्पेन, इंग्ल्यान्ड र बेल्जियममा खेल्ने दुई–दुई अनि पोर्चुगल तथा स्कटल्यान्डमा खेल्ने एक–एक खेलाडी छन्। जापानी टिममा पर्न चर्को प्रतिस्पर्धा छ। कतिसम्म भने सेल्टिकका क्योगो फुरुहासी र रियो हाटाटे टिममै परेनन्।

जापानी टिममा नागाटोमा जस्ता अनुभवी खेलाडी रहँदा रहँदै नयाँ पुस्ताको पनि प्रवेश भएको छ। १९ खेलाडीका लागि यो पहिलो विश्वकप हुनेछ। कुनैबेला जापानी टिमका बलिया खम्बा रहेका केइसुके होन्डा, शिन्जी ओकाजाकी, माकोटो हसिबेलाई आयासे उएडा, डाइजेन माइडा, शुटो माचिनो, युकी सोमा, काउरो मिटोमा जस्ता युवा खेलाडीले प्रतिस्थापन गरेका छन्।

नागाटामो जस्तै चौथो पटक विश्वकप खेल्न गइरहेका गोलरक्षक इजी कावाशिमा नयाँ पुस्ताका जापानी खेलाडीसँग विश्व फुटबललाई चकित पार्न सक्षम रहेको बताउँछन्।

‘२०१० को विश्वकपमा हामीसँग युरोपमा खेल्ने चार खेलाडी थिए। आजको दिनमा युरोपमा नखेली टिममा नपर्ने स्थिति आएको छ। च्याम्पियन्स लिग, बुन्डेसलिगा, इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडीका कारण जापानी टिम विगतमा भन्दा बलियो छ,’ ३९ वर्षीय कावाशिमाले भनेका छन्।

जापानका ६ खेलाडीले यसपालि च्याम्पियन्स लिग खेलेका छन्। डाइची कामाडाले गत सिजन फ्रान्कफर्टबाट युरोपा लिग जितेका थिए। टाकेहिरो टोमियासु आर्सनलबाट नियमित खेलिरहेका खेलाडी हुन्। मिटोमा प्रिमियर लिगकै ब्राइटनमा स्थापित भइसकेका छन्।

उसो त विश्वकपमा भिड्न खेलाडीसँग प्रतिभा भएर मात्र नपुग्ने नागाटामो बताउँछन्। खेलाडी मानसिक रुपमा बलियो भए मात्र जापानले बलिया टिमलाई टक्कर दिनसक्ने उनको बुझाइ छ। ‘विश्वकप यस्तो प्रतिस्पर्धा हो, जहाँ प्रतिभा र रणनीतिले मात्र सफलताको ग्यारेन्टी गर्न सक्दैनन्। सबैभन्दा महत्त्वपूर्ण मानसिकता हो। मानसिक रुपमा कमजोर भए विश्वकपमा टिक्न गाह्रो छ। तीनवटा विश्वकप खेलेर सिकेको यही हो,’ नागाटोमा भन्छन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =