संघीय संसद्‌मा दुई नयाँ नेत्रीको ‘फोर्सफुल इन्ट्री’

हिमाल प्रेस ७ मंसिर २०७९ १३:३६
86
SHARES
संघीय संसद्‌मा दुई नयाँ नेत्रीको ‘फोर्सफुल इन्ट्री’

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर २ बाट सोबिता गौतम निर्वाचित भएपछि मतदातामा भिन्नै उत्साह छाएको छ। हालसम्म प्रतिनिधिसभामा निर्वाचित नेतामध्ये सबैभन्दा कान्छी २७ वर्षीया गौतमको जितको चर्चा यतिबेला त्यस क्षेत्रमा मात्रै सीमित छैन। माओवादीकी स्थापित नेत्री ओनसरी घर्तीलाई पराजित गरेका कारण पनि उनी देशव्यापी चासोको विषय बनेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतम १५ हजार २२९ मत ल्याएर निर्वाचित भएकी हुन्। ४४ वर्षीया घर्ती माओवादी ‘सशस्त्र विद्रोह’ देखि सक्रिय राजनीतिमा छिन्। माओवादी शान्तिप्रक्रियामा आएपछि पटकपटक सांसद र सभामुखसमेत भइसकेकी घर्तीलाई चार महिनाअघि मात्रै राजनीतिमा आएकी युवा उम्मेदवार गौतमले संसद् छिर्नबाट रोकेकी हुन्।

घर्तीलाई लोकतान्त्रिक-वाम गठबन्धनको समर्थन थियो। यसअघि रोल्पाबाट चुनाव लड्दै आएकी उनलाई काठमाडौँबाट चुनाव लडाउन उनका पतिसमेत रहेका माओवादी नेता वर्षमान पुनले पार्टीमा निकै कसरत गर्नुपरेको थियो।

काठमाडौँ-२ यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्दै आएको क्षेत्र हो। उनले रौतहट रोजेपछि सुरक्षित ठानेर चुनाव लड्न पुगेकी घर्ती चौथो स्थानमा समेटिएकी छन्। घर्तीले ९ हजार ४४९ मत ल्याएकी छन् भने राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ र दोस्रो स्थानमा रहेका एमालेका मणिराम फुँयालले ११ हजार ५५५ मत पाएका छन्।

घर्तीलाई चुनाव जिताउन सत्ता गठबन्धनका नेताहरूले गरेको प्रयास सफल हुन सकेन। उनको चुनावी प्रचारमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि पुगेका थिए।

माओवादी अध्यक्ष दाहालले त सभामुख भइसकेकी घर्ती अब प्रधानमन्त्रीका लागि योग्य रहेको भन्दै मत मागेका थिए। तर राष्ट्रिय राजनीतिमा चिनिएकी र माओवादीको सशस्त्र युद्धदेखि पार्टीको केन्द्रीय भूमिकामा रहेकी नेतालाई काठमाडौँ-२ ले विश्वास गरेन। सोबिताको विजयीसँगै घर्ती कम्तीमा पनि ५ वर्षका लागि संसदीय राजनीतिबाट बाहिरिएकी छन्।

घर्तीमात्रै होइन, माओवादीकी अर्की प्रभावशाली नेत्री पम्फा भुसालसमेत संसदीय राजनीतिबाट आगामी ५ वर्षका लागि बाहिरिने पक्का भएको छ। त्यसो त भुसालले चुनावी अभियानकै क्रममा आफूले अन्तिमपटक प्रत्यक्ष चुनाव लड्ने बताएकी थिइन्। ललितपुर-३ को जारी मतगणनामा ६० वर्षीया भुसाल ठूलो मतान्तरका साथ तेस्रो स्थानमा खुम्चिएकी छन्।

बहालवाला ऊर्जामन्त्रीसमेत रहेकी भुसालले मध्याह्न १२ बजेसम्म ५ हजार ९३९ मत पाएकी छन्। उनीभन्दा अघि रहेका एमालेका अमृत खड्काको ८ हजार ७२० मत छ। जित सुनिश्चत बनाउँदै गएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले १५ हजार ८५१ मत पाइसकेकी छन्।

भुसालका पक्षमा जनमत जुटाउन माओवादी पार्टी र भ्रातृसंगठनले मात्रै होइन, गठबन्धनमा आबद्ध कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि निकै मेहनत गरेका थिए। तर ३३ वर्षीया तोसिमाका अगाडि यी सबै प्रयास र रणनीति विफल बन्न पुगे।

भुसाल पनि वर्षौँ राजनीतिमा संघर्ष गरेकी नेत्री हुन्। सशस्त्र युद्धमै केन्द्रीय भूमिमा रहेकी उनले पटकपटक सत्ता र सिंहदरबारको यात्रा गरिसकेकी छन्।

भुसाल पनि वर्षौँ राजनीतिमा संघर्ष गरेकी नेत्री हुन्। सशस्त्र युद्धमै केन्द्रीय भूमिमा रहेकी उनले पटकपटक सत्ता र सिंहदरबारको यात्रा गरिसकेकी छन्।

संयोग नै मान्नुपर्छ, माओवादीकी दुई शीर्ष नेत्रीलाई चुनाव हराउने सोबिता र तोसिमा  राष्ट्रिय स्वतन्त्र पार्टीका युवा हुन्। सामाजिक क्षेत्रमा काम गरेर उदाएका यी नयाँ नेत्रीहरूलाई केही गरौँ भन्ने हुटहुटीले संसद्को यात्रा तय गरेको हो। उनीहरूका पछाडि न कुनै नेताको आशीर्वाद थियो न त कुनै संगठनको बल। तर पनि संघीय संसद्‌मा यी दुई नेत्रीको जबर्जस्त प्रवेश भएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =