यसपालिको विश्वकपमा रेफ्रीले पहिले भन्दा बढी समय किन थपिरहेका छन् ?

हिमाल प्रेस ६ मंसिर २०७९ २१:५३
34
SHARES
यसपालिको विश्वकपमा रेफ्रीले पहिले भन्दा बढी समय किन थपिरहेका छन् ?

काठमाडौँ- फुटबल ९० मिनेटको खेल हो, यो सुन्दै आएको भनाइ हो। तर कतारमा जारी विश्वकपले भने फुटबल एक सय मिनेटको खेल हो भनेझैँ बनाइदिएको छ। धेरैको मनमा प्रश्न उब्जिएको हुनसक्छ, किन यो विश्वकपमा रेफ्रीहरूले अरुबेला भन्दा बढी समय थपिरहेका छन्? सुन्दा अचम्म लाग्नसक्छ तर यसो भइरहेको फिफाको योजना अनुसार नै हो।

फिफा ठान्छ, यसरी समय थपिँदा खेल थप रोमाञ्चक हुन्छ। समर्थकले खेलको बढी मज्जा लिनसक्छन्।

मंगलबार अर्जेन्टिना र साउदी अरबबीचको खेलमा ९० मिनेट कटेपछि १३ मिनेट समय थपिएको थियो। यो खेलसँगै कतारमा विश्वकपकै इतिहासमा सर्वाधिक समय थपिएका पाँच खेल भएका छन्। यो फुटबल सम्बन्धी तथ्यांक बटुल्ने ‘ओप्टा जो’ बाट लिइएको तथ्यांक हो।

सोमबार इंग्ल्यान्ड र इरान आमनेसामने भएको खेल पहिलो हाफको ४५ मिनेट सकिएको १५ मिनेट सम्म चलिरह्यो। रेफ्रीले दोस्रो हाफ थप १४ मिनेट खेलाए। पहिलो हाफमा थपिएको समयका लागि रेफ्रीसँग स्पष्ट कारण थियो। त्यो भनेको इरानी गोलरक्षक टाउकोको चोटका कारण धेरैबेर मैदानमा ढल्नु। तर दोस्रो हाफ कित त्यत्तिको धेरै समय थपियो? उनीसँग सायदै जवाफ होला।

सेनेगल र नेदरल्यान्ड्सबीचको खेलमा पनि कुल १० मिनेट थपिएको थियो। पहिलो हाफमा दुई मिनेट मात्र थपिए पनि दोस्रो हाफ भने थप आठ मिनेटसम्म चल्यो। अमेरिकाले वेल्सको सामना गरेको खेलमा रेफ्रीले दोस्रो हाफ निर्धारित ४५ मिनेट सकिएपछि थप १० मिनेटसम्म खेलाए। रोचक के भने, दोहाको समय अनुसार सोमबार राति १० बजे सुरु भएको अमेरिका र वेल्सबीचको खेल सकिँदा मंगलबार भइसकेको थियो।

विश्वकपको समूह चरणका खेलमा किन पहिलेभन्दा बढी समय थपिँदैछ भनेर जान्न रेफ्री कमिटीका अध्यक्ष पिएरलुइगी कोलिनाको अभिव्यत्तितर्फ ध्यान दिन जरुरी छ। ‘हाम्रो चाहना समर्थकले केही बढी समय खेल हेर्न पाउन् भन्ने हो,’ विश्वकप सुरु हुनुअघि कोलिनाले भनेका थिए। उनले रेफ्रीलाई आतिरिक्त समयको अवधि लम्बाउन दिइने निर्देशन नयाँ कुरा नभएको पनि बताएका छन्।

निर्धारित ९० मिनेटभित्र रेफ्रीले पटक पटक खेल रोक्नु पर्ने स्थिति आइपर्छ। जसले गर्दा खेल समय त्यसैपनि घटिरहेको हुन्छ। यसको समाधानको उपाय फिफा अधिकारीहरूले पहिलेबाटै सोच्दै आएको बताइन्छ। सन् २०१७ मा भने फिफाका तत्कालिन प्राविधिक निर्देशक मार्को भान बास्टनले ९० मिनेटको सट्टा ६० मिनेट मात्र खेलाउने प्रस्ताव ल्याएका थिए। रेफ्रीले पटक पटक खेल रोक्नु पर्ने बाध्यताबारे उनले चिन्ता व्यक्त गरेका थिए।

संकलन गरिएको तथ्यांक अनुसार सन् २०१४ विश्वकपको एउटा खेलमा करिब ६० मिनेट मात्र बल चलायमान हुने गरेको थियो। रुस विश्वकपमा भने बल चलायमान हुने समय ५२ देखि ५८ मिनेटसम्ममा झ¥यो।

चार वर्षअघिबाट विश्वकपमा प्रयोग गर्न थालिएको भीएआरका कारण पनि पटक पटक खेल रोकिने गरेको छ। भीएआरको प्रयोग गरेर निर्णय दिन समय लाग्ने भएकाले यसको असर रेफ्रीले थप्ने आतिरिक्त समयमा पनि पर्छ। रेफ्रीले भीएआरमा एकपल्टमा दुई मिनेटसम्म समय खर्चिने गरेका छन्।

गोल गरेपछि खेलाडीले मनाउने खुसीयालीमा पनि निकै समय व्यतित हुने गरेको छ। खुसीयाली मनाउँदा कम समय खर्च होस् भन्नमा फिफा सचेत रहेको बताइन्छ। ‘एउटा गोलको खुसीयाली मनाउँदा चार–पाँच मिनेट खर्च हुने गर्छ। यसले गर्दा पनि आतिरिक्त समय लम्बिने गरेको हो। खुसीयाली एक वा डेढ मिनेटमात्र हुनुपर्छ,’ कोलिनाले गत शुक्रबार अफिसियलहरूसँगको छलफलमा भनेका थिए।

इरानमाथि इंग्ल्यान्डले ६–२ को जित दर्ता गरेको खेलमा रेफ्रीले १० मिनेट आतिरिक्त समय थपेका थिए। इंग्लिस खेलाडीले दोस्रो हाफमा मात्रै पाँच गोल गरेका थिए। त्यसमाथि भीएआरको पनि प्रयोग भएको थियो। यो खेलमा इंग्ल्यान्डले ७ सय ३० पास खेलेको थियो। विश्वकपको इतिहासमा कुनै पनि टिमले निर्धारित ९० मिनेटभित्र यत्तिको संख्यामा पास खेलेको दोस्रो पटक हो।

विश्वकपका खेल लम्बिएकामा समर्थकको आपत्ति नहुन सक्छ। तर विश्वकप प्रसारण गर्ने टेलिभिजन च्यानलहरूका लागि भने समय व्यवस्थापन गर्न सजिलो छैन।

एपीबाट 

प्रकाशित: ६ मंसिर २०७९ २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =