ट्युनिसियाले रोक्यो डेनमार्कलाई

हिमाल प्रेस ६ मंसिर २०७९ २१:०४
16
SHARES
ट्युनिसियाले रोक्यो डेनमार्कलाई

काठमाडौँ- फिफा विश्वकपको समूह ‘डी’ को खेलमा मंगलबार डेनमार्कलाई ट्युनिसियाले गोलरहित बराबरी रोकेको छ। कतारी सहर अल रायनको एजुकेसन सिटी स्टेडियमा डेनर्माकले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन।

क्रिस्टियन एरिक्सन सम्मिलित डेनर्माकलाई रोक्न ट्युनिसियाको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेको थियो। साउदी अरबले अर्जेन्टिनालाई हराएको खबरले उत्साहित ट्युनिसियाले बलियो मानिएको डेनमार्कविरुद्ध केही राम्रा अवसर सिर्जना गर्न सफल भयो।

४३ औँ मिनेटमा ट्युनिसियाका इसाम जेबालीले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर उनलाई वान–अन–वानमा डेनिस गोलरक्षक पिटर स्माइकलले रोके। त्यसअघि एनिस बेन स्लिमानेले डेनमार्कका दुई रक्षकलाई कटाउँदै गरेको प्रहार गोलमा परिणत भए पनि पछि अफसाइड ठहरियो।

पहिलो हाफमा ट्युनिसियाको रक्षापंक्ति भत्काउन नसकेपछि दोस्रो हाफमा डेनमार्कले अझ आक्रामक नीति लिएको थियो। ६९ औँ मिनेटमा प्लेमेकर एरिक्सनले गरेको शक्तिशाली प्रहार ट्युनिसियाका गोलरक्षक एइमन डाहमेनले बचाएका थिए। केहीबेर पछि आन्द्रेस कार्नेलियसले अग्रता दिलाउने अवसर खेर फाले। आतिरिक्त समयमा जेस्पर लिन्ड्रोस्टमको प्रयास पनि डाहमेनले विफल तुल्याइदिएका थिए।

बराबरीका बाबजुद डेनमार्कका एरिक्सनका लागि यो खेल विशेष रह्यो। डेढ वर्षअघि युरोमा फिनल्यान्डसँगको खेलमा हृदयघातका कारण मैदानमा ढलेका एरिक्सन लामो समय मैदानबाहिर रहेका थिए। उनी फुटबलमा फर्कन सक्छन् वा सक्दैनन् भने संशय थियो।

तर करिब एक वर्षपछि उनी फेरि एक पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा डेनिस टिमको अगुवाका रुपमा प्रस्तुत भएका छन्। दोस्रो हाफमा रक्षक सिमोन कायर निस्किएपछि टिमको कप्तानी एरिक्सनले गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७९ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =