मुख्य सचिवसहितको टोली निर्वाचन सुरक्षा हेर्न जुम्लामा

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:५१
मुख्य सचिवसहितको टोली निर्वाचन सुरक्षा हेर्न जुम्लामा

जुम्ला- निर्वाचन सुरक्षा हेर्नका लागि मुख्य सचिव शंकरदास वैरागीसहितको सचिवस्तरको टोली जुम्ला पुगेको छ।

निर्वाचन अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट जुम्ला पुगेको हो।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको बताए। उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र  जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति राजेन्द्र केसीले साविक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा प्रस्तुति दिएका थिए। जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा जानकारी गराएका थिए।

नेपाल सरकारको उक्त उच्चस्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशनसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखहरू समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेका छन्।

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुँदै  मुगु बस्ने तालिका रहेको छ। सोमबार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिमतिर लाग्ने तालिका छ।

प्रकाशित: २८ कार्तिक २०७९ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =