नागरिकता विधेयक पास गर्नु चुनावपछिको सरकारको पहिलो दायित्व : निधि

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:२२
नागरिकता विधेयक पास गर्नु चुनावपछिको सरकारको पहिलो दायित्व : निधि

सप्तरी- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसद्‌को पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्।
नेपाली कांग्रेस सप्तरीद्वारा रुपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वसपसभापति निधिले एमालेको अवरोधका कारण नागरिकता सम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता नपाएर अनेक समस्या भोग्नु परेको बताए।

उनले चुनावपछि सत्तागठबन्धनको सरकार बन्ने र नागरिकता सम्बन्धी कानुन बनाउनु नै त्यसको पहिलो काम भएको उल्लेख गरे। नागरिकता समस्याको समाधानका लागि कांग्रेसले विगतमा गरेको प्रयासबारे जानकारी गराउदै नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले कानुन बनाउन रोकेको दाबी गरे।

उनले नागरिक अधिकारका पक्षमा सरकारले अघि बढाएको विधेयक स्वीकृत नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकोमा आपत्ति जनाए। निधिले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता दिलाउने प्रतिबद्धता जनाए।

नागरिकताविहीन नागरिकलाई कानुनी प्रकृया पूरा गरेर नागरिकता दिँदा राष्ट्रियता खतरामा भएको भन्ने ओलीका कारण नै राष्ट्रियता खतरामा परेको उनको भनाइ थियो।

मधेशी जनतालाई अधिकारसम्पन्न बनाउने सत्तागठबन्धनको प्रमुख दायित्व भएको र ओली नेतृत्वको गठबन्धन ती जनतालाई अधिकारबाट बञ्‍चित गराउने काममा लागेकोले ४ मंसिरको चुनावमा सत्तागठबन्धनलाई मत दिएर जिताउन कांग्रेस नेता निधिले आह्वान गरे।

प्रकाशित: २८ कार्तिक २०७९ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =