पिताको उत्तराधिकारी बनेर संसद् यात्रामा योगेश

विजय नेपाल ५ मंसिर २०७९ १८:२९
6
SHARES
पिताको उत्तराधिकारी बनेर संसद् यात्रामा योगेश

पोखरा- हिमालपारिको जिल्ला मुस्ताङबाट कांग्रेसले प्रतिनिधिसभा सदस्यमा पहिलो जित दिलाएको छ। आइतबार देशभर एकै चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा कांग्रेसका युवा नेता योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै जितको खाता खोलेका हुन्।

गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन्। मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो। ९ सय १४ अन्तर पारेर निर्वाचित योगेश मुस्ताङमा लामो समयसम्म एकछत्र राज गर्दै आएका रोमी गौचन थकालीका सुुपुत्र हुन्।

२०७४ सालको चुनावमा प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १ सय ८१ मत ल्याएका थिए। कम मतान्तरले चुनाव हार्नेमा मुस्ताङ पनि पर्छ। तर त्यो हारको बदला उनकै छोरा २९ वर्षीय योगेशले लिन सफल भएका हुन्। त्यसबेला एमालेले प्रतिनिधिसभासहित प्रदेशसभामा एकछत्र राज गरेको थियो।

मुस्ताङ कांग्रेसमा अगुवा कार्यकर्ताको पलायन भइरहँदा कांग्रेसमा योगेशको जितले उत्साहित बनाएको छ। हरेक जिल्लामा उम्मेदवारका लागि निकै रस्साकसी भएकोमा योगेशको प्रभावका कारण सहज टिकट मिलेको थियो।
कांग्रेस मुस्ताङ सभापति आफ्नै बाबु रोमी भएकाले को उठ्ने भन्ने तत्कालीन समयमा निर्णय हुन सकेको थिएन। युवाको आकर्षण बढ्दै गएको र युवामाझ लोकप्रिय हुँदै गएपछि अन्ततः खाली टिकटमा योगेशको टिकट भरेर निर्वाचन कार्यालयमा दर्ता भएको थियो।

मुस्ताङ कांग्रेसमा लामो समयमा काम गरेका प्रेम तुलाचन र उनका दाजु खगेन्द्र तुलाचन नातामा रोमीकै मामाका छोरा पर्दछन्। राजनीतिक विरासत बोकेको गौचन परिवार योगेशको हजुरबुवा जोगप्रसाद गौचन लामो समय प्रधानपञ्च भए। बाबुको विरासतले छोरा वसन्त र रोमी कांग्रेस संगठनमा लागे। संसदीय निर्वाचन पटकपटक जितेर मन्त्रीसमेत बनेका रोमी २०७४ मा भने चुनाव हारेकोमा छोराको जितले कांग्रेसलाई सहज बनाएको छ।

नेविसंघबाट राजनीति सुरु गरेका योगेश भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका हुन्। बाबु पटकपटक सांसद एवं मन्त्री हुँदा योगेश कहिल्यै सिंहदरबार छिरेनन्। कांग्रेस लेते गाविसमा पार्टी सभापति रहेका योगेश हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन्।

उनी पोखरास्थित त्रिथुंगा ट्राभल र लेतेको कालोपानी गेस्ट हाउस चलाउँछन्। अब्बल पर्यटन व्यवसायी उनी अविवाहित हुन्। उनको यो जितसँगै थासाङ गाउँपालिका–३ लेते कालोपानी हर्षित छ। उनलाई बधाई दिनेको सोमबार दिनभरजसो घुइँचो लागेको थियो।

शालीन, मुदुभाषी, इमानदार र अनुशासित भएकाले पनि उनको जित सहज बनेको कतिपयको विश्लेषण छ। उनले मुस्ताङीको चाहनामा कुठाराघात नगर्ने बताउँदै मत खेर जान नदिने प्रतिबद्धता जनाएका छन्। यस्तै कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक पहल गर्ने, सडक पूर्वाधार बनाउने, जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई दीर्घकालीन रुपमा निकास दिने लगायत चुनावी प्रतिबद्धता उनको छ।

प्रकाशित: ५ मंसिर २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =