साख फर्काउने नेदरल्यान्ड्सको अभियानमा अगुवा बनेका भान डाइक

हिमाल प्रेस ५ मंसिर २०७९ १७:१४
4
SHARES
साख फर्काउने नेदरल्यान्ड्सको अभियानमा अगुवा बनेका भान डाइक

काठमाडौँ- नेदरल्यान्ड्सले विश्वकपको आफ्नो पहिलो खेलमा सोमबार सेनेगलको सामना गर्दा युरोपियन टिमको नेतृत्वकर्ता भर्जिल भान डाइक हुनेछन्। सन् २०१४ को विश्वकप र दुई वर्षपछिको युरो गुमाएपछि डच टिम पुनः निर्माणको चरणमा प्रवेश गरेको थियो। त्यसकै नतिजा हुन्, कप्तान भान डाइक।

लिभरपुलबाट इंग्लिस प्रिमियर लिग खेल्ने भान डाइक विश्व फुटबलले मानेको उत्कृष्ट रक्षक हुन्। यहीबीच उनी नेदरल्यान्ड्सको साख फर्काउने अभियानको अगुवा बनेका छन्।

सन् १९७४, १९७८ र २०१० मा विश्वकप उपविजेता बनेको नेदरल्यान्ड्स सन् २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो। त्यसबेला सायदै कसैले सोचेको थियो नेदरल्यान्ड्स सेमिफाइनलमा पुग्छ भनेर। अर्जेन्टिनासँग पेनाल्टीमा हारे व्यहोरेपछि नेदरल्यान्ड्सको चौथो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन।

त्यसबेला प्रशिक्षक रहेका लुई भान हाल फेरि उही भूमिकामा फर्किएका छन्। स्वास्थ्य बिग्रिएपछि संन्यास लिएका भान हालले राष्ट्रिय टिमको जिम्मेवारी लिन फुटबलमा पुनरागमन गरेका हुन्। ‘प्रोस्टेट क्यान्सर’ बाट पीडित भान हाल अहिले पनि उपचारकै चरणमा छन्।

तेस्रो पटक डच टिमको प्रशिक्षक बनेका भान हालले गत नोभेम्बर १५ मा साइकल दुर्घटनाको सामना गर्नु परेको थियो। बन्द प्रशिक्षणमा रहेका डच खेलाडीसँग अभ्यासपछि साइकल चलाएर टिम होटल फर्किरहेका भान हाल बाटोमा लडेका थिए। यसरी दुर्घटनामा परेको भोलिपल्ट उनले ह्विलचियरबाट नर्वेविरुद्धको खेल हेरेको थिए। यही खेलमा जित हासिल गरेपछि मात्रै नेदरल्यान्ड्स समूह विजेता बनेर विश्वकपमा छनोट भएको हो।

सन् २०१४ को विश्वकपमा भान हालले भान डाइकलाई टिममा राखेनन्। उसो त भान डाइक त्यसबेला युरोपियन क्लब फुटबलमा कहलिन बाँकी नै थियो। त्यसपछि भने उनको करियरले उचाइ लियो। साउथह्याम्पटन हुँदै लिभरपुललाई पुगे। योर्गन क्लपको लिभरपुल पुनः निर्माणलाई साथ दिए, प्रिमियर लिग र च्याम्पियन्स लिग जिते।

दुर्भाग्यवश भान डाइकले युरो २०२० गुमाए। घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहनु परेकाले भान डाइकले युरो खेल्न नपाएका हुन्। सुन्दा अचम्म लाग्न सक्छ, ३१ वर्षीय भान डाइकका लागि विश्वकप पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

‘हाम्रो टिममा स्तरीय खेलाडी छन्। धेरै खेलाडी विश्वका ठूला क्लबहरूमा खेल्छन्। हामीले आफूमाथि विश्वास गर्न आवश्यक छ। आत्मविश्वासी हुनुछ। हामी अनुभवी प्रशिक्षकको प्रशिक्षणमा खेलिरहेका छौँ,’ कप्तान भान डाइकले आफ्नो टिमबारे भनेका छन्।

युरो र विश्वकप छनोटमा नेदरल्यान्ड्स असफल भइरहँदा भान डाइकको उदय भएको हो। उनीबिनाको नेदरल्यान्ड्स युरो २०२० को क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। ४ अगस्ट, २०२१ मा भान हाल प्रशिक्षक बनेपछि भने नेदरल्यान्ड्स लगातार १५ खेलसम्म अपराजित रहेको छ।

‘हामी सन्तुलित टिम हौँ जस्तो लाग्छ। किननभे हामीसँग अनुभवी र युवा प्रतिभा बराबरी छन्। मुख्य कुरा चाहिँ हामीबीच एकता छ। हुन त यी कुनै कुराले पनि सफलता ज्ञारेन्टी गर्न सक्दैनन्। तर सफलतातर्फ लम्कन यी सबै चाहिन्छ,’ भान डाइकले भनेका छन्।

भान डाइक सन् २०१८ मा विश्वकै महंगा रक्षक बनेका थिए। साउथह्याम्पटनबाट उनलाई खरिद गर्दा लिभरपुलले सात करोड ५० लाख पाउन्ड तिरेको थियो। लिभरपुलमा भान डाइकको तत्कालै देखियो। योर्गन क्लपको टिम च्याम्पियन्स लिगको फाइनलसम्म पुग्यो। अर्को सिजन त च्याम्पियन नै बन्यो।

लिभरपुलसँग आबद्ध भएपछि भान डाइकको लोकप्रियता मात्र बढेन, प्रदर्शनमा निखार आउँदै गयो। सन् २०१९ को बालोन डोरमा उनलाई लियोनल मेस्सीले मात्र पछि पारेका थिए। त्यही वर्ष उनले इंग्ल्यान्डमा सर्वोत्कष्ट खेलाडीको पुरस्कार पाए।

सन् २०१९/२० सिजनमा लिभरपुल लिग च्याम्पियन बन्दा भान डाइकले प्रत्येक खेल खेलेका थिए। त्यसलगत्तैको सिजन भने भान डाइक भने घाइते भए। लिगमा जम्मा पाँच खेल मात्र खेल्न पाए। चोटबाट मुक्त हुन उनले पर्याप्त समय लिए। ‘रिह्याबिलिटेसन’ मा हतार गरेको भए उनले युरो २०२० खेल्न पाउने सम्भावना थियो। तर उनले त्यसो गरेनन्।

महादेसीय प्रतियोगिता गुमाएका उनी अन्ततः विश्वकपमा आइपुगेका छन्। उनी र उनको टिमक लागि सेनेगलको चुनौती कठिन परीक्षा हुनेछ। यसबारे भान डाइक सचेत छन्। आफ्ना पूर्वसहकर्मी साडियो माने नभए पनि सेनेगलको टिम बलियो रहेको भान डाइकको बुझाइ छ।

‘माने घाइते हुँदा मलाई दुःख लागेको छ। विपक्षी टिममा भए पनि उनको खेल हामी सबै मिस गर्नेछौँ। उनीबिना पनि सेनेगल बलियो छ। अफ्रिकी च्याम्पियन भएकाले सेनेगलसाग खेल्न सजिलो छैन। यद्यपि हाम्रो प्रयास पहिलो खेल जित्दै विश्वकपमा सकारात्मक सुरुवात गर्ने हो,’ भान डाइकले भने।

प्रकाशित: ५ मंसिर २०७९ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =