मानव अधिकारबारे मुखर एन्जलिना

हिमाल प्रेस ५ मंसिर २०७९ १५:३१
4
SHARES
मानव अधिकारबारे मुखर एन्जलिना

काठमाडौँ– हलिउड अभिनेत्री एन्जलिना जोली लामो समययता सामाजिक कार्यक्रममा सक्रिय छिन्। महिला र बालबालिकाका विषयमा उनी मुखर छिन्। उनीहरूका समस्याबारे एन्जलिनाले खुलेर बोल्ने गरेकी छन्।

सन् २००१ मा ‘युनाइटेड नेसन्स हाई कमिसनर फर रिफ्युजी (यूएनएचसीआर)’ मा आबद्ध उनले संसारभरिका महिला र बालबालिकाको विषयमा आवाज उठाउने गरेकी छन्।

यूएनएचसीआरका तर्फबाट उनले द्वन्द्वपीडित क्षेत्रको भ्रमण र द्वन्द्व प्रभावित महिला तथा बालबालिकाहरूलाई सहयोग पनि गर्ने गरेकी छन्।

इरानमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्युपछि चर्किएको आन्दोलनबारे पनि एन्जलिनाले बोलिरहेकी छन्। हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गर्दै इरानको आन्दोलनमा प्रभावित बालबालिकालाई संरक्षणको अधिकार हुनपर्ने बताएकी छन्। ‘बालबालिकालाई सबै प्रकारको हानिबाट संरक्षण पाउने अधिकार छ,’ इन्स्टाग्राममा उनले लेखेकी छ्न, ‘उनीहरूलाई पनि आवाज उठाउने अधिकार छ।’

‘यूएन ह्युमन राइट काउन्सिल’को तथ्यांक उल्लेख गर्दै उनले इरानमा आन्दोलन सुरु भएदेखि ३८ जना बालबालिकाको मृत्यु भएको लेखेकी छन्।

मानव अधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘एमनेस्टी इन्टरनेसनल’ले यस विषयमा छानबिन गर्नुपर्ने माग उनले गरेकी छन्।

२२ वर्षीया महसा अमिनीलाई हिजाब नियमबमोजिम प्रयोग नगरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। नियन्त्रणमा लिएको केही घण्टामै उनको प्रहरी हिरासतमा मृत्यु भएको थियो। उनको मृत्यपछि इरानी महिलाहरू सडक आन्दोलनमा उत्रिएका थिए। उनीहरूको आन्दोलनलाई एन्जलिनाले समर्थन गर्दै आएकी छन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =