इंग्ल्यान्ड र इरान भिड्नुअघि उठेका राजनीतिक प्रश्न

हिमाल प्रेस ५ मंसिर २०७९ १३:५१
6
SHARES
इंग्ल्यान्ड र इरान भिड्नुअघि उठेका राजनीतिक प्रश्न

काठमाडौँ- पछिल्लो समय इरान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बनिरहेको छ। यसको कारण त्यहाँ भइरहेको आन्दोलन हो। इरानी धार्मिक प्रहरीको गिरफ्तारमा परेकी मासा एमिनीको मृत्यु भएपछि तेहरान लगायतका ठूला सहरमा आन्दोलन सुरु भएको थियो।

सुरुमा २२ वर्षीया अमिनीको मृत्युको विरोधमा सुरु आन्दोलन हाल इरानको राज्य व्यवस्था परिवर्तनको माग गर्ने अवस्थामा पुगेको छ। आन्दोलनरत इरानीले अन्तर्राष्ट्रिय समुदायको ध्यानआकर्षण गराउने प्रयत्न गरिरहेका छन्।

यहीबीच विश्वकप खेल्न कतार पुगेका इरानी खेलाडीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारबाट प्रश्नको सामना गरिरहेका छन्। सायद यसको बदला लिनलाई हुनसक्छ, एक इरानी पत्रकारले आइतबार इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटलाई बेलायती राजनीतिबारे प्रश्न गरे। इराक र अफगानिस्तानमा भएको युद्धमा बेलायती संलग्नताका विषयमा साउथगेटलाई सोधियो।

‘विदेशी पत्रकारहरूको प्रश्नले इरानी टिमलाई दिक्क बनाएको हुनुपर्छ। यो मनोभावना म बुझ्छु। पछिल्लो ६ वर्षमा मैले पनि बेलायती पत्रकारको राजनीति सम्बन्धि प्रश्नका सामना गरेको छु। यसकारण म र इरानी खेलाडी वा प्रशिक्षक एकै परिस्थितिमा छौँ। मलाई किन यस्ता राजनीतिक प्रश्न गरिन्छ भनेर बुझ्छु,’ साउथगेटले सोमबार हुने इरानसँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा भने।

त्यसअघि इरानी कप्तान इहान हाजिसाफीलाई इरानको वर्तमान राजनीतिक अवस्थाबारे सोधिएको थियो। निकैबेर सोचेर मात्र हाजिसाफीले जवाफ दिएका थिए। ‘हाम्रो देशको हालत ठिक छैन भनेर स्वीकार गर्नुपर्छ। सरकारसँग इरानी खुसी छैनन्। हामी यहाँ विश्वकप खेल्न आएका छौँ। यसको मतलब यो होइन कि हामी इरानी नागरिकको आवाज बन्नु हुँदैन,’ हाजिसाफीले भने, ‘तनाव र शोकमा रहेका इरानीलाई हामी खुसी हुने कारण दिन चाहन्छौँ। त्यसका लागि हामी मेहनत गर्नेछौँ।’

आन्दोलनका कारण इरानका प्रसिद्ध पूर्वखेलाडीद्वय अली डेइ र जाभाद नेकौनाम विश्वकप हेर्न कतार पुगेका छैनन्। दुवैले फिफाको निम्तो अस्वीकार गरेकोे पुष्टि गरेका छन्। विश्वभर छरिएको इरानी समुदायमा लोकप्रिय रहेका हास्य कलाकार ओमिद जालिलीले इरानलाई विश्वकपबाट प्रतिबन्ध लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए। इरानी सरकारले नागरिकमाथि गरेको ज्याजतीको विरोधमा इरानलाई विश्वकप खेल्न दिन नहुने उनको जिकिर छ।

उनले इंग्ल्यान्डका खेलाडीलाई विशेष आग्रह पनि गरेका छन्। इरानविरुद्ध गोल गर्ने खेलाडीले खुसीयाली मनाउँदा कपाल काटेको अभिनय गर्न उनको आग्रह छ। यो अभिनय अनिवार्य हिजाब लगाउनु पर्ने इरानी नियमको विरोधी हुने जालिलीको भनाइ छ।

उता इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले आफ्नो टिमको उद्देश्य समस्त बेलायतीलाई खुसी दिने रहेको बताएका छन्। ‘हामी यो विश्वकपको अनुभवलाई सम्झनलायकको बनाउन चाहन्छौँ। हाम्रो खेल हेरेर बेलायती खुसी होउन् भन्ने चाहना छ। बेलायती यतिबेला निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छन्। देशमा आर्थिक मन्दी छ। जसकारण आम बेलायतीलाई घरपरिवार चलाउन असजिलो छ। यस्तोमा फुटबलले उनीहरूलाई मानसिक राहत दिन सकोस् भन्ने चाहना हो,’ इंग्ल्यान्डलाई विश्वकप २०१८ को सेमिफाइनलमा पुर्‍याएका साउथगेटले भनेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =