अलैँचीमा आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

हिमाल प्रेस ५ मंसिर २०७९ १२:०१
4
SHARES
अलैँचीमा आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

पोखरा- कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन्। नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो।

माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन्। ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भने, ‘अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।’ उनले सेपिलो बाँझो जग्गामा अलैँचीखेती हुनेहुँदा खेर गएको जग्गाको उपयोग भएको बताए।

स्थानीय किसानले २०५०/५१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत इलाम र ताप्लेजुङ भ्रमणमा गएको बेला त्यहाँबाट अलैँचीको रामसाइँ र गोलसाइँ जातका केही बेर्ना ल्याएर रोपेका थिए ।

यसले राम्रो उत्पादन दिएपछि स्थानीयवासी अलैँचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्। त्यतिबेला रोपेको अलैँचीको बेर्नाले अहिलेसम्म पनि फल दिइरहेको छ । एकचोटीको लगानी र मेहनतको प्रतिफल लामो समयसमम पाइने भएकाले पनि किसानको रोजाइमा पर्दै गएको उनी बताउँछन्।

लामिछानेका अनुसार पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैँची क्षेत्र कार्यक्रममार्फत अनुदान प्राप्त हुन थालेपछि यस क्षेत्रका किसानको रुची अझ बढेको हो । परियोजनाको अनुदानमा उक्त क्षेत्रमा ११ वटा अलैँची सुकाउने आधुनिक भट्टी पनि निर्माण गरिएको छ।

त्यसैगरी पोखरा–२५ हेम्जाका भुवनेश्वर पौडेलले पनि अहिले माछापुच्छ्रे गाउँपालिका–६ धिताल गाउँमा व्यावसायिक अलैँची खेती सुरु गरेका छन्। सरकारी सेवाबाट अवकास लिएपछि कृषि कर्ममा लागेका पौडेल अहिले अलैँची खेतीबाट निकै उत्साहित छन्। माछापुच्छ्रे एग्रो सेन्टर प्रालिका अध्यक्षसमेत रहेका पौडेलले सुरुमा परीक्षणका लागि करिब सात रोपनी क्षेत्रफलमा मात्र अलैँची लगाएको र उत्पादन राम्रो भएपछि क्षेत्र विस्तार गरेर व्यावसायिक खेती गरेको बताउँछन्।

माछापुच्छे« मर्दी खोला अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दिपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयमा बिर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए। उनका अनुसार गाउँपालिकाको वडा नं २, ६, ७, ८ र ९ का स्थानीयवासीले व्यावसायिकरुपमै अलैँची खेती गरेका छन् भने बाँकी वडाका किसानले पनि चासो राख्न थालेका छन्।

यस्तै मादी गाउँपालिकाको वडाहरु १,२,३, ८, १० र ११, अन्नपूर्ण गाउँपालिकाको वडा १, ३,४, ७, १० र ११ तथा पोखरा महानगरपालिकाको वडा नं १६ र १९ मा अलैँची क्षेत्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत रोशन अधिकारी कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडामा अलैँची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताउँछन्।

प्रकाशित: ५ मंसिर २०७९ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =