नवलपरासीको देवचुलीमा सोमबार मतदान हुने

हिमाल प्रेस ४ मंसिर २०७९ २०:३९
नवलपरासीको देवचुलीमा सोमबार मतदान हुने फाइल तस्बिर

नवलपरासी– पूर्वीनवलपरासीको देबचुली नगरपालिका-४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ। मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले आइतबार स्थगित भएको सो वडामा सोमबार बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने जानकारी दिए।

स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो। त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए।

गौतमका अनुसार स्थानीय नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए। अन्य तीनवटा मतपेटिकामा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन्।

नौ सय ८० मतदाता रहेको यस निर्वाचन केन्द्रमा सात सय मत खसेको छ। आगजनी गरेपछि भागेका भण्डारीलाई करिब दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। नवलपरासीका साथै गुल्मी, सुर्खेत र बाजुरा गरी आइतबार मतदान स्थगित भएका १५ स्थानमा सोमबार नै मतदान हुने आयोगले जानकारी दिएको छ। देवचुलीबाहेक अन्य स्थानमा कति बजेदेखि मतदान सुरु हुने भन्ने आयोगले अवस्था हेरेर जानकारी गराउने बताएको छ।

प्रकाशित: ४ मंसिर २०७९ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =