प्रधानमन्त्रीसहित शीर्ष नेताहरू यी ठाउँबाट गर्दैछन् मतदान

हिमाल प्रेस ३ मंसिर २०७९ १५:२१
प्रधानमन्त्रीसहित शीर्ष नेताहरू यी ठाउँबाट गर्दैछन् मतदान

काठमाडौँ– आइतबार हुन गइरहेकाे प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि शीर्ष नेताहरू गृहजिल्ला तथा सम्बन्धित मतदान केन्द्र पायक पर्ने स्थानमा जाने तयारीमा छन्।

प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरू मतदानका लागि मतदान केन्द्रतर्फ पुगिसकेका छन् भने केही नेताहरू त्यसतर्फ जाने तयारीमा छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर देउवाले निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन्। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन्। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ।

०४८ सालदेखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछन्न्।

यस्तै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ः०० बजे भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बराह क्षेत्र नगरपालिका-१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा-८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्ने छन्। उनी रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्ने छ।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न शनिबार अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। उनले भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गौर नगरपालिका-२स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन्। सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका-९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।

यस्तै लोकतान्तिक समाजवादी पार्टी,  (लोसपा) अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका-१ मा मतदान गर्नेछन्न्। अध्यक्ष ठाकुर महोत्तरी-३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर-१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन्। उनी सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन्। कांग्रेस महामन्त्री गगन थापाले काठमाडौँ-३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन्न्।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ-१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन्न्। कांग्रेस नेता शेखर कोइरालाले विराटनगर-७ को आर्दश विद्यालयमा मतदान गर्नेछन्।

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै छन्। उन सुनसरी १ बाट उम्मेदवार बन्नुभएको छ। जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन्। श्रेष्ठ काठमाडौँ   ७ का उम्मेदवार छन्।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज-३ स्थित केएएमबी माविबाट मतदान गर्दै छन्। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर-२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन्। महतो सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका-८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौँ-५ स्थित टोखा-६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै छन्।

यस्तै एमाले उपाध्यक्ष  विष्णु पौडेलले बुटवल-८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै छन्। एमाले महासचिव शंकर पोखरेलले तुलसीपुर- १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नेछन्।

संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम-७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन्। एमाले नेता रामबहादुर थापा ‘बादल’ले भरतपुर-१० नारायणी नमूना माविमा मतदान गर्नेछन्। अर्का नेता टोप रायमाझीले अर्घाखाँचीको सन्धिखर्क-९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नेछन्।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका-७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन्। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यवानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन्।

यी नेताले आफैँलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन्।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमासमेत केही नेताले आफूले आफैँलाई मतदान गर्नबाट वञ्चित हुनुपरेको छ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नेछन्।

यस्तै आयुक्त ईश्वरी पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त राम भण्डारीले अनामनगरस्थित मिलन विद्या मन्दिर केन्द्रमा मतदान गर्ने छ।

आयुक्त डा. जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका-२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका-४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नेछन्।

प्रकाशित: ३ मंसिर २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =