सत्तागठबन्धनविरुद्ध गलत प्रचार गरेको भन्दै कांग्रेस र माओवादीको आपत्ति

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५०
सत्तागठबन्धनविरुद्ध गलत प्रचार गरेको भन्दै कांग्रेस र माओवादीको आपत्ति

काठमाडौँ– निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति प्रकट गरेका छन्।

निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

‘कांग्रेस, माओवादी केन्द्रलगायत पाँचदल लोकतान्त्रिक वामगठबन्धनप्रति पूर्णप्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पनासमेत गर्दैनन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ,’ भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आमनागरिकमा आह्वान गर्दछौँ।’

गलत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रूपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ। कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ।

प्रेस सेन्टरको आपत्ति
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा गलत प्रचार गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले  नेकपा एमालेको प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहीले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दु रूपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति ध्यानाकर्षण भएको बताए।

केही स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई ‘स्क्रीनसट’ गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको अध्यक्ष सापकोटाको भनाइ छ।

‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै ‘स्क्रीनसट’ गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो। सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो’ अध्यक्ष सापकोटाले भने ‘यस्तो गलतकार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको उल्लंघन पनि हो।’

आमनिर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहित रूपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने अवस्थामा पेसागत पत्रकार संगठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लंघन भएको ठहर गर्दै प्रेस सेन्टरले उक्त घटनालाई गम्भीर रूपमा लिई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगलाई अनुरोध गरेको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =