निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सफल बनाउन राष्ट्रपतिको आग्रह

हिमाल प्रेस ३ मंसिर २०७९ ९:४४
निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सफल बनाउन राष्ट्रपतिको आग्रह फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेकी छन्।

शनिबार देशबासीका नाममा एक सन्देश गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन्। ‘आइतबार देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ। जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्त्व रहेको छ,’ सन्देशमा भनिएको छ,’ निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमश: जनउत्तरदायी हुँदै जान्छन्। यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ। स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ।’

जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको पनि राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन्।

जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्न आवधिक निर्वाचनको महत्त्व रहेको पनि उनले जनाएकी छन्।

‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु,’ सन्देशमा भनिएको छ, ‘यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु।’

प्रकाशित: ३ मंसिर २०७९ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =