तनहुँ : असिना नपर्दा जोगियो सुन्तला, बढ्यो उत्पादन

हिमाल प्रेस ३ मंसिर २०७९ ६:४५
तनहुँ : असिना नपर्दा जोगियो सुन्तला, बढ्यो उत्पादन

तनहुँ- तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ। यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ। फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ। तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ। यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ’, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ। समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ।’

उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनी बताउँछन्। ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ। फल्ने क्षेत्रफल घटेको छ’, तिवारीले भने। गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

जिल्लामा यस वर्ष कुल २७ करोड रुपैयाँको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ। जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका स्थानमा निर्यात गरिन्छ। सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनी बताउँछन्।

त्यस्तै शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गरे। यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष  चार/पाँच लाख आम्दानीलाई बढाएर सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनी बताउँछन्।

त्यसैगरी देवघाट गाउँपालिका-३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताउँछन्। ‘पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ। यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ। ठेक्का बिक्री गरेका छौँ। अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्’, उनीले भन्छन्।

प्रकाशित: ३ मंसिर २०७९ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =