कतार विश्वकपमा उदाउन सक्ने ६ युवा खेलाडी

हिमाल प्रेस ३ मंसिर २०७९ ६:४४
कतार विश्वकपमा उदाउन सक्ने ६ युवा खेलाडी

काठमाडौँ- विश्वकप अन्तर्राष्ट्रिय फुटबलका स्थापित स्टारका लागि मात्र होइन स्थापित हुन चाहनेका लागि पनि भरपर्दो मञ्च हो। प्रत्येक विश्वकपले कोही न कोही नयाँ स्टार जन्माएको हामीले देखेकै छौँ।

यसपल्टको विश्वकपमा पनि नयाँ पुस्ताका केही खेलाडीले सबैलाई छक्क पार्ने अनुमान गर्न सकिन्छ। त्यसो गर्न सामर्थ्य राख्ने खेलाडीको सूची लामो छ। जसमध्ये केहीको चर्चा यहाँ गरिएको छ।

मोइसेस काइसेडो, एक्वाडर 
आइतबार राति सुरु हुने विश्वकपको पहिलो खेलमा आयोजक कतार र दक्षिण अमेरिकी टिम एक्वाडर आमनेसामने हुँदैछन्। सम्भवतः प्राय फुटबल समर्थकको ध्यान कतारमाथि हुनेछ। त्यही खेलमा एक्वाडरका मोइसेस काइसेडोको लक्ष्य चाहिँ मिडफिल्डमाथि नियन्त्रण जमाउने हुनेछ।

इंग्लिस प्रिमियर लिग पछ्याउनेका लागि काइसेडो अपरिचित नाम होइन। यी २१ वर्षीय मिडफिल्डर ब्राइटनमा मुख्य खेलाडी बनेका छन्। फेब्रुअरी, २०२१ मा एक्वाडरबाट बेलायत पुगेका काइसेडोले ब्राइटनमा सजिलै मौका पाएका होइनन्।

उनले गएको सिजनबाट मात्र ब्राइटनको सिनियर टिममा मौका पाउन थालेका हुन्। त्यसअघि उनलाई बेल्जियमको बियरसोटबाट खेल्न पठाइएको थियो।

यो सिजन काइसेडोले जसरी खेलेको छन्, यसले उनलाई प्रिमियर लिगकै उत्कृष्ट मिडफिल्डरहरूको सूचीमा पारेको छ। त्यहीकारण उनलाई अनुबन्ध गर्न चाहने क्लबहरूको भिड लागेको छ। जसमा अग्रस्थानमा लिभरपुल छ।

काइसेडोले एक्वाडरका लागि २५ खेल खेलिसकेका छन्। जसमध्ये १५ खेल उनले विश्वकप छनोटमा खेलेका हुन्। रोचक मान्नु पर्छ, एक्वाडर ब्राइटनका लागि खेलाडी स्काउट गर्ने गतिलो ठाउँ बनेको छ।  काइसेडोबाहेक एक्वाडरका अरु दुई खेलाडी पनि ब्राइटनबाट खेल्छन्। जो विश्वकपमा हुनेछन्। ती खेलाडी हुन्, पेर्भिस इस्टुपिनान र जेरेमी सार्मिएन्टो।

ज्युड बेलिङहम, इंग्ल्यान्ड 
बोरुसिया डर्टमन्डका ज्युड बेलिङहम किशोर उमेरमै इंग्ल्यान्डका भरपर्दा खेलाडी बनेका छन्। यी १९ वर्षीय ठिटोका लागि कतार विश्वकप दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। उनी युरो २०२० खेलेको इंग्लिस टिमका सदस्य थिए। यद्यपि उनले त्यहाँ खेल्न पाएनन्। किनभने डेक्लान राइस र काल्भिन फिलिप्स प्रशिक्षक ग्यारेथ साउथगेटका लागि मुख्य मिडफिल्डर थिए।

तर पछिल्लो एक वर्षमा धेरै कुरा बदलिएको छ। बेलिङहमको प्रदर्शन उत्कर्षमा पुगेको छ। बुन्डेसलिगा र च्याम्पियन्स लिगमा उनले आफूलाई उच्चस्तरको मिडफिल्डरका रुपमा प्रमाणित गरेका छन्।

बेलिङहम मिडफिल्डबाट खेलमाथि नियन्त्रण जमाउन सक्छन्। अनि गोल गर्न पनि माहिर छन्। च्याम्पियन्स लिगमा यो सिजन उनले गरेको गोलको संख्या चार पुगिसकेको छ। स्वाभाविक रुपमा उनको यस्तो प्रदर्शनले युरोपका ठूला क्लब लोभिएका छन्। विशेषगरी रियल म्याड्रिड र लिभरपुलसँग उनको नाम जोडिँदै आएको छ।

इंग्ल्यान्डले विश्वकप नजितेको ५६ वर्ष भइसक्यो। प्रतिभावान् खेलाडी नभएर इंग्ल्यान्डले विश्ववकप जित्न नसकेको भनेर ठोकुवा गर्ने कोही छैन। किनभने इंग्ल्यान्ड सधैँ एकसेएक खेलाडीले भरिने टिम हो। यसपालि पनि बेलिङहम जस्ता कुशल खेलाडीको कमी छैन। तर इंग्‍ल्यान्ड उपाधि नजिक पुगेमा बेलिङहमको भूमिका अहम हुनेछ भनेर अनुमान गर्न गाह्रो छैन।

कोडी गाक्पो, नेदरल्यान्ड्स 
विश्व फुटबललाई खतरनाक फरवार्ड दिँदै आएको नेदरल्यान्ड्सको पछिल्लो उपहार हुन्, कोडी गाक्पो। २३ वर्षीय विंगर गाक्पोको सबैभन्दा ठूलो खुबी ‘फिनिसिङ’ हो। युरो २०२० मा थोरै खेल्न पाएका गाक्पो यो विश्वकपमा डच टिमको पहिलो एघारमा पर्ने अनुमान गरिएका खेलाडी हुन्।

पीएसभी आइन्डोभनका लागि जारी सिजन १४ गोल गरिसकेका गाक्पोलाई लुई भान हालले पहिलो खेलमै उतार्ने सम्भावना छ। नियमित फरवार्ड मेम्पिस डिपे खेल्ने टुंगो नभएकाले गाक्पोले अग्रपंक्ति सम्हाल्ने सम्भावना झनै बढेको हो।

रुस विश्वकप गुमाएको नेदरल्यान्ड्स विश्व फुटबलमा आफ्नो साख फर्काउने प्रयत्नमा छ। यसकारण कतार विश्वकपलाई नेदरल्यान्ड्स र अनुभवी प्रशिक्षक भान हालले अवसरका रुपमा लिएका छन्। यही विश्वकप गाक्पोका लागि पनि मौका हो, युरोपमा सीमित आफ्नो परिचय विश्वभरलाई दिने।

जियो रेना, अमेरिका 
जियो रेना भर्खर २० वर्षका भए। तर उनले युरोपकै बलियो लिगमध्येको एक बुन्डेसलिगा खेल्न थालेको तीन वर्ष भइसक्याे। बोरुसिया डर्टमन्डले मात्र होइन, युरोपियन क्लब फुटबलले रेनाको प्रतिभा पहिचान गरेको छ। तर यिनले अझ पनि आफ्नो प्रतिभा अनुसारको उचाइ भेट्न सकेका छैनन्। यसको कारण उनलाई बारम्बार दुःख दिइरहने चोट हो।

रेनाका सबैभन्दा कम उमेरमा बुन्डेसलिगामा डेब्यु गरेको कीर्तिमान छ। उनीअघि यो कीर्तिमान अमेरिकाकै क्रिस्टियन पुलिसिकको नाममा थियो। पुलिसिकले पनि डर्टमन्डबाट खेलेर यस्तो कीर्तिमान राखेका थिए।

अमेरिकी टिममा टिमोथी वे र ब्रेन्डन आरोनसन जस्ता तीव्र गतिका फरवार्ड छन्। अमेरिकी टिमको पहिले एघारमा पर्न रेनको प्रतिस्पर्धा यी दुईसँग हुनेछ।

जमाल मुसिआला, जर्मनी 
उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका जमाल मुसिआलाले सिनियर टिम भने जर्मनीको रोजेका हुन्। जर्मनीमै जन्मिएकाले उनका लागि जर्मन टिमको ढोका खुलेको हो। बायर्न म्युनिखबाट यो सिजन १२ गोल गरिसकेका मुसिआला त्यही क्लबका उत्पादन हुन्।

मुसिआला अट्याकिङ मिडफिल्डर हुन्। गोल गर्न र अवसर सिर्जना गर्न उत्तिकै माहिर छन्। यो सिजन सबैखाले प्रतियोगितामा गरी उनले नौ असिस्ट दर्ता गरिसकेका छन्। फरक फरक भूमिकामा देखिन सक्ने भएकाले प्रश्क्षिक हान्सी फ्लिकका लागि मुसिआला असाध्यै उपयोगी बन्न सक्छन्।

चोटका कारण टिमो बेरनर र मार्को रुइस अनुपस्थित रहेकाले जर्मनीसँग गोलका सीमित स्रोत छन्। यस्तोमा १९ वर्षीय मुसिआला जर्मनीका नयाँ ‘फिनिसर’ का रुपमा उदाउने सम्भावना छ।

मोहम्मद कुडुस, घाना 
घानाका मोहम्मद कुडुस १२ वर्षको उमेरदेखि युरोपमा छन्। घानाको राइट टु ड्रिम एकेडेमीबाट डनमार्कको नोर्जल्यान्ड पुगेका उनले त्यहाँ दुई सिजन डेनिस लिग खेले। त्यसपछि उनलाई नेदरल्यान्ड्सको आयाक्सले अनुबन्ध गरेको थियो। जहाँ उनले तीन सिजन बिताइसकेका छन्।

२२ वर्षका कुडुसले यो सिजन च्याम्पियन्स लिगमा चार गोल गरेका छन्। २२ वर्षीय कुडुसको सबैभन्दा बलियो पक्ष भनेको मिडफिल्ड र अग्रपंक्तिमा खेल्नसक्ने क्षमता हो। आयाक्समा यो सिजन कयौँ खेलमा सेन्ट्रल फरवार्डको भूमिका निभाएका छन्। घानाको टिममा भने उनलाई अधिकांश खेलमा अट्याकिङ मिडफिल्डरका रुपमा प्रयोग गरिएको छ। राष्ट्रिय टिमबाट उनले हालसम्म १८ खेल खेलिसकेका छन्। ति खेलमा उनले पाँच गोल गरेका छन्।

क्वार्टरफाइनल पुग्ने पछिल्लो अफ्रिकी टिम हो, घाना। पछिल्ला केही वर्षयता यो टिमको अग्रपंक्ति जोर्डन आयु र आन्द्रे आयुले सम्हाल्दै आएका छन्। यो विश्वकपमा आयु दाजुभाईलाई सघाउने भरपर्दा आक्रामक खेलाडी कुडुस बन्ने आस गरिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =