मौन अवधिमा राष्ट्रपति भण्डारीको अन्तर्वार्ताबारे खुलदुली

हिमाल प्रेस २ मंसिर २०७९ ५:११
मौन अवधिमा राष्ट्रपति भण्डारीको अन्तर्वार्ताबारे खुलदुली

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निजी टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्ता खुलदुलीको विषय बनेको छ। भण्डारीले निर्वाचनको मौन अवधिमा एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि चासोको विषय बनेको हो। अन्तर्वार्ता एपीवान टेलिभिजनबाट शुक्रबार (आज) साँझ नौ बजे प्रसारण हुने प्रस्तोता टीकाराम यात्रीले जनाएका छन्।

आइतबार हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रपतिले थाहा पाएरै निर्वाचनको मौन अवधिमा अन्तर्वार्ता दिएकी हुन् या संयोग परेको हो भन्ने विषयलाई लिएर खुलदुली बढेको हो।

अन्तर्वार्तामा भण्डारीले आफ्नो राजनीतिक यात्रा र राष्ट्रपति पदको जिम्मेवारीका विषयमा अनुभव व्यक्त गरेको बताइएको छ।  एपीवान टेलिभिजनले अघिल्लो साता एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको थियो।

जानकारहरू राष्ट्रपति भण्डारीले निजी सञ्चारमाध्यमलाई निर्वाचनको मौन अवधिमा अन्तर्वार्ता दिनु आश्चर्यको विषय भएको टिप्पणी गर्छन्।तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार राजनीतिशास्त्री हरि शर्माले निर्वाचनकै पूर्वसन्ध्यामा राष्ट्रपतिले बोल्नु आश्चर्यको विषय भएको बतााए। उनले भने, ‘राष्ट्रपतिबाट निर्वाचनकै पूर्वसन्ध्यामा किन अन्तर्वार्ता दिइयो? यो जिज्ञासाको विषय हो। थप टिप्पणी त अन्तर्वार्ता हेरेपछि मात्रै गर्न सकिन्छ।’

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी मौन अवधिमा राष्ट्रप्रमुखको अन्तर्वार्ता बाहिर आउनु खुलदुलीको विषय रहेको बताउँछन्। उनी भन्छन्, ‘राष्ट्रपति जस्तो गरिमामय पदलाई हल्का बनाउने काम कहीँकतैबाट हुनु हुँदैन। अन्तर्वार्ता हेरेपछि मात्र थप कमेन्ट गर्न सकिन्छ। तर निर्वाचनको अवधिमा अन्तर्वार्ता दिँदा खुलदुली बढेको छ।’

पूर्वराष्ट्रपति डा. यादवका प्रेस सल्लाहकार वरिष्ठ पत्रकार राजेन्द्र दाहालले अन्तर्वार्ता नसुनेसम्म टिप्पणी गर्न नसकिने बताए। उनले भने, ‘राष्ट्रपतिले हालै नागरिकता विधेयकका बारेमा दिएको प्रस्टीकरण र अन्तर्वार्ताबीच सन्तुलित नदेखिन सक्छ। अहिले नै टिप्पणी गर्नु भन्दा हेरेपछि थप केही भन्न सकिन्छ।’ नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा केही दिनअघि राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जबाफ दिएको छ।

त्रिवि पत्रकारिता विभागका सहप्राध्यापक एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले पनि राष्ट्रपतिले अन्तर्वार्ताका लागि मौन अवधि नै किन छान्नुभयो भन्ने विषयमा अन्तर्वार्ता हेरेर मात्र टिप्पणी गर्न सक्ने बताए।

मौन अवधिमा राष्ट्रपति किन बोलेको भनेर प्रश्न उठ्ने विषयमा चासो हुन्न र भन्ने जिज्ञासामा अधिकारीले भने, ‘प्रश्न त उठ्ला, त्यसको जवाफ पनि दिउँला। तर बोलिसक्नुभयो, अब के गर्ने?’ 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने अन्तर्वार्तामा राष्ट्रपतिले आफ्ना व्यक्तिगत र राजनीतिक अनुभव मात्रै व्यक्त गरेको जानकारी दिए। राजनीतिक विषयमा केही धारणा नराखेका कारण यसलाई अन्यथा लिन नमिल्ने उनको भनाइ छ। अधिकारीले भने, ‘राष्ट्रप्रमुख बोलिसक्नुभएको छ। हामी त्यसमा धेरै भित्र नपुगौँ होला। उहाँले आफ्नो अनुभव बताउनुभएको हो।’

मौन अवधिमा राष्ट्रपति किन बोलेको भनेर प्रश्न उठ्ने विषयमा चासो हुन्न र भन्ने जिज्ञासामा अधिकारीले भने, ‘प्रश्न त उठ्ला, त्यसको जवाफ पनि दिउँला। तर बोलिसक्नुभयो, अब के गर्ने?’

भण्डारीले पत्रकार यात्रीसँग आफ्नो राजनीतिक यात्रा, मदन भण्डारीसँग बिताएका क्षणलगायतको विषयमा लामो कुराकानी गरेको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गरेको छ। यद्यपि प्रसारण भने एक घण्टाको मात्रै हुने बताइएको छ। राष्ट्रपति कार्यालयका प्रेस संयोजक टीका ढकालसँग अन्तर्वार्ताबारे थप बुझ्न पटकपटक टेलिफोन गर्दा पनि सम्पर्क हुन सकेन।

प्रकाशित: २ मंसिर २०७९ ५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =