निर्वाचन ०७९

कास्कीका तीन नमुना मतदान केन्द्र, सबै कर्मचारी महिला

विजय नेपाल २ मंसिर २०७९ ५:०३
कास्कीका तीन नमुना मतदान केन्द्र, सबै कर्मचारी महिला

पोखरा– आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको निर्वाचन गराउने जिम्मा महिला कर्मचारीले मात्र पाएका छन्।

नमुना मतदान केन्द्र नाम दिइएको ती मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार मतदान केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा दिइएको हो।

जसमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी छन्। जिल्लामा प्रतिनिधिसभातर्फ ३ ओटा निर्वाचन क्षेत्र हुन्। हरेक निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एउटा मतदान केन्द्र नमुना बनाउन महिला कर्मचारीलाई मात्र खटाइएको हो।

कास्की क्षेत्र नम्बर २अन्तर्गत पार्दी मावि मतदानस्थलको मतदान केन्द्र (ख) लाई कानुन मन्त्रालयकी उपसचिव सरिता रायमाझीले सम्हालेकी छन्। सो मतदान केन्द्रमा रायमाझीसहित सबै ८ जना कर्मचारी महिलामात्र छन्।

पार्दी मावि मतदानस्थलका कुल ६ वटा मतदान केन्द्र कायम गरिएको छ। यसअघि पनि निर्वाचन अधिकृत भएर काम गरिसकेको रायमाझीको अनुभव भएकोले अहिलेको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आफूले भरमग्दूर प्रयास गर्ने उनी बताउँछिन्।

कास्कीको क्षेत्र १अन्तर्गत जनप्रकाश मावि, भण्डारढिक मतदानस्थलमा गीता न्यौपाने र कास्की क्षेत्र ३अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्कस्थित मतदानस्थलको मतदान केन्द्रमा गीता घिमिरे दोरंगा सहितको महिला कर्मचारी खटिएका छन्।

उनीहरूले निर्वाचन सामग्री बुझेर मतदान स्थलको आवश्यक तयारी सुरु गरेको बताएका छन्। ४ मंसिरको चुनावका लागि सर्वदलीय बैठक बसेर सहमतिका कामअघि बढाउने उनीहरू बताउँछन्।

महिलालाई मात्र जिम्मेवारी दिंदा महिलाले पनि जिम्मेवार पूरा गर्न सक्छन् भन्ने उदाहरण विगतको चुनावमा पनि गरिंदै आइएको थियो।

कास्कीमा १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्र छन्। १ सय ५० मतदानस्थलमध्ये ५० ओटा अति संवेदनशील छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी टेक केसीले पोखरामा हालै भएको सुरक्षा गोष्ठीमा सोबारे ब्रिफिङ गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई आग्रहसमेत गरेका थिए।

कास्कीमा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी कुल ९१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कास्कीमा २ लाख ९१ हजार ५६८ जना मतदाता छन्। यो संख्या गत वैशाख ३० को स्थानीय तहको चुनावभन्दा १० हजार बढी मतदाता हुन्। स्थिर समय सुरु हुनुअघि उम्मेदवारले चुनावी प्रचार सकेका छन्। मात्र यहाँका मतदाता मतदानको पर्खाइमा छन्।

प्रकाशित: २ मंसिर २०७९ ५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =