युवाको आश्वासन र ज्येष्ठ नागरिकको खबरदारीपछि मुस्कुराउँदै अघि बढे प्रकाशमान

हिमाल प्रेस १ मंसिर २०७९ १२:११
युवाको आश्वासन र ज्येष्ठ नागरिकको खबरदारीपछि मुस्कुराउँदै अघि बढे प्रकाशमान

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंह आइतबार कार्यकर्ताको भीडसँगै बानेश्वर क्षेत्रको घरदैलोमा देखिए। उनी बानेश्वर बैंक्युटबाट देब्रेतिर लागेपछि छेउकै घरबाट पाका उमेरका व्यक्ति बाहिर निस्केर भने, ‘बाबु यसपटक पनि आफैँ उठ्नुभएको?’

प्रकाशमानको उत्तर थियो, ‘हजुर! अब तपाईँले मत दिएर मलाई फेरि जिताउनुपर्छ। अर्को पटक सायद म दुःख दिन्न होला।’ ती वृद्धले प्रकाशमानलाई आश्वासन दिँदै भने, ‘ठेट्नाहरू मिलेर आएनन्। भोट त बाबुलाई नै दिनुपर्‍यो। बाबुको भन्दा पनि बुवाको नाताले भोट दिन्छु। नेपालमा प्रजातन्त्र ल्याउन बुवाको योगदानको हामीले कदर गर्नैपर्छ।’ ती वृद्धले यसो भनिरहँदा सिंह हाँसिरहे। कांग्रेस कार्यकर्ता अर्को घरमा पर्चा दिँदै थिए।

कार्यकर्ताले बाँडेको पर्चा कतिपयले पढेको देखिन्थ्यो भने कतिपयले थन्काएर राखे। अनि अर्को घरबाट एक बालिका निस्किएर सोधिन्, ‘तपाईँ त गणेशमान सिंहको छोरा रे नि?’ ‘हो नानी’ भन्दै सिंहले मुन्टो हल्लाए। ‘हामीले तपाईँका बुवाको बारेमा स्कुलमा पढेको। हाम्रो घरबाट सबै भोट तपाईँलाई आउँछ। मैले बुवाममी र हजुरबाले कुरा गरेको सुनेको।’

‘अरू अंकलहरू पनि भोट माग्न आइरहनुभएको छ भन्दै ती बालिका गन्तव्यतिर लागिन्। प्रकाशमान वेदान्त विद्यालय नजिकैको एउटा घरमा प्रवेश गरे। सेतै फुलेका एक जेष्ठ नागरिकले भने, ओहो प्रकाशमानजी! तपाईँसँग साह्रै चित्त दुखेको छ। तर भोट त तपाईँलाई नै दिने हो।’ अवकाश प्राप्त कर्मचारीजस्ता देखिने ती वृद्धले हाँस्दै भने, ‘मेयरमा भाउजूलाई उठाउन हुन्थेन। महाधिवेशनमा शेरबहादुरलाई समर्थन गर्न हुन्थेन। दुवै काम नगरेको भए तपाईँको हैसियत अझ माथिल्लो हुन्थ्यो। यसले पार्टीमा पनि परिवर्तन आउने थियो।’

प्रकाशमान हाँसिरहे। अनि हात समाउँदै सिंहले भने, ‘यहाँहरूको सहयोग आवश्यक छ। कहिलेकाहीँ चुकिन्छ। त्यसलाई सुधार गर्दै जाने हो, सधार हुनेछ।’ त्यहाँबाट पाठशाला स्कुलतर्फ लम्कँदै गर्दा एक जना महिला बाहिर निस्केर भनिन्, ‘भोट तपाईँलाई नै दिने हो। तर अब पुस्ता हस्तान्तरणको योजना बनाउनुहोला। सबैलाई समान अवसर दिनुहोला। नेताप्रतिको वितृष्णा हटाउनुहोला।’

ती महिलाले सिंहलाई निर्वाचनको समयमा मात्र होइन अन्य समयमा पनि यस क्षेत्रमा आउन र जनताको समस्या सम्बोधन गर्न अनुरोध गरिन्। सिंहले भने, ‘काठमाडौँ क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान हुनुपर्छ भनेका छन्।’ सिंहको घरदैलो अभियान त्यहाँबाट अगाडि बढ्दै गयो। अर्को गल्लीबाट तीनचार जनाको युवा समूह निस्कियो। प्रकाशमानलाई देखेपछि एकजना युवकले भने, ‘हामी तपाईंलाई भोट दिन्छौँ। तर अब तपाईँ अब प्रधानमन्त्री बन्नैपर्छ। यसअघि सभापति पनि बन्न सक्नु भएन र गतिलो नेता चयन गर्न पनि जान्नु भएन।’

आमनागरिकको चाहना पूरा गर्न पनि आफू संसदीय दलको नेतामा लड्ने जानकारी उनले दिए। उपप्रधानमन्त्री भएर काम गरिसकेको र पार्टीमा उपसभाति भइसकेको भन्दै उनले आफू अब प्रधानमन्त्रीको रेसमा रहेको स्पष्ट पारे। उनले त्यसो भनिरहँदा एक महिलाले माला र खादा लगाउँदै प्रधानमन्त्रीका लागि शुभकामना दिइन्। प्रकाशमानले दंग पर्दै भने, तपाईँको शुभकामना खेर जाँदैन।’

प्रकाशमान २०६४ देखि काठमाडौँ क्षेत्र नम्बर १ बाट निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका छन्। अघिल्लो निर्वाचनमा प्रकाशमान १० हजार ९३६ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले १० हजार ११८ मत ल्याएका थिए।

आफूले निर्वाचन जितेमा मुलुकको अर्थतन्त्रमा देखापरेको संकट समाधान गर्न पहल गर्ने र लगानीमैत्री वातावरण बनाउन सक्रिय हुने उनको भनाइ छ। आफ्नो निर्वाचन क्षेत्रसँगै मुलुक बनाउने दायित्व पनि आफैँमा रहेकाले मतदान गर्न अपिल गर्दै उनी अघि बढेका थिए।

त्यसै क्रममा चेल्सी स्कुलको गल्लीबाट केही मानिसहरू ‘प्रकाशमान जिन्दावाद, उहाँले जिते मात्र यो क्षेत्रको विकास हुन्छ, अन्य सबै ट्राइलमा छन्। उहाँ जितेर सीधै प्रधानमन्त्री वा त्यही स्तरको नेतृत्व’ भन्दै घरदैलो अभियानमा मिसिए। मुलुकमा निर्वाचन गराउन सधैँ कांग्रेस नेतृत्व आवश्यक पर्ने रहेको भन्दै उनीहरूले मुलुक पनि कांग्रेसले बनाउने बताए।

यसपछि घरदैलो अभियान बागमती प्रदेशका मन्त्री दीपेन्द्र श्रेष्ठको घर नजिकै पुग्यो। प्रकाशमान त्यहाँ केही बेर अडिए। उनले दीपेन्द्रले पनि चुनाव जित्नैपर्ने बताए। त्यसपछि  समूहमा निर्वाचनको समीक्षा हुन लागेको थियो।

एक किशोरले भने, ‘राजनीतिक परिवारको व्यक्ति भएकाले पनि तपाईँलाई जिताउन आवश्यक छ। विगतको जस्तो गल्ती दोहोर्‍याउने छुट भने तपाईँलाई छैन। यसपटक हामी युवाको भोट तपाईँलाई नै जानेछ।’

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताको जीवनलाई सहज बनाउन कांग्रेसबाहेक अन्य दलले नसक्ने ती युवकको भनाइ थियो।

स्नातक अध्ययनरत रहेका ती युवकले भने, ‘हामीमा पनि ठूलो सोच छैन। त्यही कारण पनि यहाँले जित्नैपर्छ। हामीले यस क्षेत्रमा अरूका कुरा पनि सुन्याैँ। तर तपाईँको जस्तो दृष्टिकोण अरूमा देखिएन।’ प्रकाशमान मुस्कुराउँदै त्यहाँबाट कार्यकर्तासँगै घरदैलोमा अघि बढे।

प्रकाशित: १ मंसिर २०७९ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =