सेना र प्रहरीले पुल बनाइदिएपछि जुम्लावासीलाई मतदानमा जान सहज

हिमाल प्रेस २ मंसिर २०७९ ११:४९
सेना र प्रहरीले पुल बनाइदिएपछि जुम्लावासीलाई मतदानमा जान सहज

जुम्ला–  बाढीले बगाएको पुल नेपाली सेना र नेपाल प्रहरीले निर्माण गरिदिएपछि हाटसिंजावासीलाई आवत-जावतमा सहज भएको छ।

बाढीले कनकासुन्दरी गाउँपालिका-४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवत-जावतमा समस्या हुँदै आएको थियो। तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवत-जावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए।

पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो। पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए।

उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको छ। पुल बनेसँगै कनकासुन्दरी-४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो।

नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो।

प्रकाशित: २ मंसिर २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =