घरेलु मैदानमा नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय श्रृंखला

हिमाल प्रेस २ मंसिर २०७९ १०:१५
घरेलु मैदानमा नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय श्रृंखला

काठमाडौँ- आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेपछि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ६ विकेटले पराजित गरेको छ। शुक्रबारको यो जितपछि नेपालले तीन एकदिवसीय सम्मिलित श्रृंखलमाथि कब्जा जमायो।

पहिलो खेल यूएईले ८४ रनले जिते पनि त्यसपछिका दुई खेलमा नेपाल विजयी बन्यो। बुधबारको खेल नेपालले तीन विकेटले जितेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो। असिफले अविजित ८८ र ज्ञानेन्द्रले ६४ रन बनाएपछि नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर १८० रन बनाएको थियो।

अर्जुन साउद ३३ बलमा नौ ९ बनाएर आउट हुँदा अर्का ओपनर आसिफ अन्तिमसम्मै टिके। ११९ बल सामना गर्दा उनले १२ चौका प्रहार गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बल खेल्दै सात चौका र तीन छक्का प्रहार गरेका थिए। त्यसैगरी कप्तान रोहित पौडेल १० रनमा सीमित भए। मध्यक्रमका दीपेन्द्रसिंह ऐरी भने पहिलो बलमै रनआउट भए।

पहिले ब्याटिङ गरेको पाहुना टिम यूएईका मोहम्मद वासिम र भृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। वासिमले ४६ बलमा ५० रन बनाए भने अरविन्दको नाममा २५ रन रह्योे। त्यसैगरी कप्तान चुन्दागापोयिल रिज्वानले ३४ बलमा २२ रन जोडे।

पहिलो एक दिवसीयमा घरेलु टिममाथि सजिलो विजय प्राप्त गरेको यूएईका लागि मध्यक्रमका आलिशान शाराफुले ३५, बासिल हामिदले २४ र विष्णु शुकुरामले १५ रनको योगदान गरे।

बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए। त्यसैगरी करण केसी, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।

प्रकाशित: २ मंसिर २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =