‘निटफेस्ट’अघि ‘म त लालीगुराँस भएछु’ सम्पन्न

हिमाल प्रेस २ मंसिर २०७९ ९:२४
‘निटफेस्ट’अघि ‘म त लालीगुराँस भएछु’ सम्पन्न

काठमाडौँ- ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट)’ को अग्रिम कार्यक्रमस्वरूप ‘म त लालीगुराँस भएछु’ सम्पन्न भएको छ।सो अन्तरक्रिया कार्यक्रममा नेपाली नाट्यकर्मीहरूले आफ्ना अनुभव साटासाट गरेका थिए। कार्यक्रममा अग्रज रंगकर्मीहरू सहभागी भएका थिए। उनीहरूले नेपाली रंगमञ्चका अनुभव, कलाशैली, संघर्षलगायत विषयमा छलफल गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा पुष्कर गुरुङ, विजय विस्फोट, वीरेन्द्र हमाललगायत रंगकर्मी सहभागी थिए। डबली थिएटरका संस्थापक पुष्कर गुरुङले अहिलेको पुस्ताले नाटकमा निकै राम्रो गरिरहेको बताए। ‘रंगमञ्चमा नयाँ पुस्ताले राम्रो काम गरिरहेका छन्,’ उनले भने।

अन्तरक्रिया कार्यक्रममा नाटककार, निर्देशक, अभिनेता विजय विस्फोटले राज्यले रंगकर्मीलाई चिन्न नसकेको गुनासो गरे। ‘देशले अझै पनि रंगकर्मी चिनिरहेको छैन,’ उनले भने, ‘रंगमञ्चको शैलीसँगै नीतिगत कुरामा पनि जोड दिनु जरुरी छ।’ कार्यक्रममा एमआर्ट थिएटरका संस्थापक वीरेन्द्र हमालले पनि आफ्ना अनुभव साझा गरेका थिए।

मंसिर ९ देखि १६ सम्म हुने नाट्य महोत्सवमा विभिन्न देशका २२ नाटक प्रस्तुत गरिनेछन्। त्यसबाहेक  विभिन्न तालिम, सेमिनार, कार्यशालालगायत पनि हुनेछन्।

मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरू सहभागी हुनेछन्।

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्‍च : विविधताको उत्सव’ नाराका साथ हुने यो नाट्य महोत्सवको दोस्रो संस्करण हो।

प्रकाशित: २ मंसिर २०७९ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =