‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रण हुन सक्छ’

हिमाल प्रेस २ मंसिर २०७९ ६:४१
‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रण हुन सक्छ’

चितवन- मधुमेहका बिरामीहरूले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्न सकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन्।

स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उनीहरूले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिए।

चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट ९हर्मनरोग विशेषज्ञ० डा। सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्ने बताए। औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उनले सुझाव दिए। ‘गर्भावस्था, शल्यक्रियाको समय र अन्य औषधिका कारणले हुने मधुमेह पछि निको भएर जाने भए पनि यीबाहेकका प्रायः मधुमेह पूर्णरुपमा निको हुँदैनन्,’ उनले भने, ‘यो बढ्दै जाने रोग हो। यसलाई औषधि, खानपान र व्यायामले नियन्त्रणमा राख्न सक्छौँ।’

उनका अनुसार नेपालका १० देखि २० प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ। मधुमेहका बिरामी आफैँ सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा. खतिवडाले भने, ‘खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ।’

औषधि र इन्सुलिन लिइरहेका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन उनले सुझाव दिए। डा. खतिवडाले भने, ‘चिनीको मात्रा उच्च वा न्यून भयो भने के कारणले यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनुपर्दछ।’

मधुमेहका बिरामीले पनि सामान्य एकजना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने डा. खतिवडाले बताए।

‘खानामा कार्बोहाइड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ। मुख्य रूपमा सजिलै चिनी निस्किने खालको कार्बोहाइड्रेड नभएको खाना खानुपर्छ। बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बोहाइड्रेड भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ। कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन,’ उनले भने। मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिँदै उनले अन्य समयमा पनि थोरैथोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाए।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा. देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा ‘सुगर’ आवश्यक पर्ने बताए। ‘मधुमेहका बिरामीको  शरीरलाई सुगर चाहिंदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन। सुगर भनेको शरीरका लागि इन्धन हो,’ उनले भने। सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उनको भनाइ छ।

पहिलेपहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिएको भए पनि हिजोआज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको उनले बताए। ‘खानपानका कारण कलिलो उमेरमै मोटोपनको समस्या, व्यायाम नगर्ने जस्ता कारणले हिजोआज २५–३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ। यसको मुख्य कारण जीवनशैली नै हो,’ उनले भने।

बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने जनाउँदै उनले अनियन्त्रित रूपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिहरुलाई मधुमेह हुने सम्भावना पनि बढी हुने बताए।

मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जाने उनले बताए। ‘पटक पटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु भनेको मधुमेहका लक्षण हुन्। यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनुपर्दछ,’ उनले भने। गर्भवतीलाई पनि मधुमेहको जोखिम हुने डा. जैसीको भनाइ छ।

प्रकाशित: २ मंसिर २०७९ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =