कास्कीका उम्मेदवारहरूले टुंगाए प्रचार

हिमाल प्रेस १ मंसिर २०७९ ५:२७
कास्कीका उम्मेदवारहरूले टुंगाए प्रचार

पोखरा– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि कास्कीमा उम्मेदवारले घरदैलो अभियान बिहीबार रातिदेखि टुंगाएका छन्। अब ४ मंसिरको मतदानको परिणाममा यहाँका मतदाता व्यग्र प्रतीक्षामा छन्।

कास्कीमा पाँचदलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा छ। प्रतिनिधिसभाका ३ वटा क्षेत्र रहेको कास्कीमा प्रदेशसहित ९ सिटका लागि दल तथा स्वतन्त्रका गरी ९१ उम्मेदवार चुनावी मैदानमा छन्।

उता निर्वाचन कार्यालयले पनि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए।

कास्कीमा प्रतिनिधिसभा सदस्य चुनावमा ४६ जना उम्मेदवार छन् भने प्रदेशतर्फ ४५ उम्मेदवार छन्। कास्कीमा सबैभन्दा बढी क्षेत्र २ मा १७ जना प्रतिस्पर्धी छन्। सबैभन्दा कम कास्की १ मा १४ जना उम्मेदवार छन्।

जिल्लामा कुल २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन्। १५० मतदानस्थलमा ३ सय ४४ वटा मतदान केन्द्र तोकिएको छ।
तथ्यांकअनुसार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ (१) मा ५८ हजार ४ सय ४५ मतदाता छन्।

महिलातर्फ ३० हजार ८ सय २७ र पुरुषतर्फ २७ हजार ६ सय १७ मतदाता छन्। अन्यमा १ जना मतदाता रहेकोसमेत निर्वाचन कार्यालय कास्कीले जनाएको छ। यो प्रदेश क्षेत्रमा ७० मतदान केन्द्र छन्।

को पुग्ला संघीय संसद्‍मा?

प्रतिनिधिसभातर्फ कास्की १ मा सत्तागठबन्धनबाट कांग्रेसका किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङबीच कडा प्रतिस्पर्धा छ। दुवै पार्टीका जिल्ला अध्यक्ष हुन्।

अघिल्लो चुनावमा यहाँबाट एमालेका खगराज अधिकारी निर्वाचित भएका थिए। यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

कास्की २ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धबाट एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेकी विद्या भट्टराईबीच कडा प्रतिस्पर्धामा छन्।

०७४ सालको चुनावमा स्व.रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। अधिकारीपत्नी विद्यालाई एमालेले पुनः अघि सारेको हो। यहाँ ७९ हजार एक सय ३८ मतदाता छन्। जसमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।

कास्की ३ मा प्रतिनिधिसभामा पनि सत्तागठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा छ। गण्डकीका अर्थमन्त्रीसमेत रहेका रामजी बराल जीवन र एमालेका दामोदर बैरागीबीच प्रतिस्पर्धा भएको हो।

दुवैले लोकप्रिय नारा लिएर घरदैलो सकाए। माओवादी केन्द्रका बराल संयुक्त गठबन्धनकोतर्फका साझा उम्मेदवार हुन्। अघिल्लो चुनावमा एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए। विकलाई त्यसबेला माओवादी केन्द्रको साथ थियो। उनले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका हुन्।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ। १ लाख १ हजार ७१५ मतदाता रहेको यस क्षेत्रमा १५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित: १ मंसिर २०७९ ५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =