लोकतन्त्र र संघीयता जोगाउन मतदानमा सहभागी बनौं : उपेन्द्र यादव

हिमाल प्रेस १ मंसिर २०७९ ५:१५
लोकतन्त्र र संघीयता जोगाउन मतदानमा सहभागी बनौं : उपेन्द्र यादव

सप्तरी– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदातासमक्ष आह्वान गरेका छन्। बिहीबार बिहान चुनावी अभियानका  क्रममा उनले यस्तो बताएका हुन्।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका यादव हाल चुनाव प्रचारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन्।

‘संघीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको संघर्षलाई मूर्तरूप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरूको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टीले आगामी चुनाव निकै महत्त्वपूर्ण रहेको आममधेशीको बुझाइ छ’, उनले भने, ‘आफ्नो भाग्य र भविष्यका लागि आममधेशी आफ्नो संघर्ष अझै जारी राखेका छन् र ती संघर्षका उपलब्धिलाई संरक्षित गर्दै थप उपलब्धि प्राप्त गर्न आगामी मंसिर ४ को निर्वाचन निकै महत्त्व राख्छ।’

लोकतान्त्रिक समाजमा आममतदाताको सबैभन्दा ठूलो शक्ति नै मतदान हो भन्दै अध्यक्ष यादवले भने, ‘आमनेपालीले गरेको कठोर संघर्ष र त्यागको फलस्वरूप हामीले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका उपलब्धि प्राप्त गर्न सकेका छौँ र यी उपलब्धिलाई जोगाएर राख्दै संस्थागत गर्न मताधिकारको प्रयोग सबैभन्दा आवश्यक रहेको तथ्य हामी कसैबाट लुकेको छैन।’

मुलुकमा प्राप्त विभिन्न राजनीतिक उपलब्धि समाप्त पार्न विभिन्न खाले षड्यन्त्रसमेत भइरहेको भन्दै यादवले आममतदातालाई सचेत हुन आग्रह गरेका छन्।

‘चुनाव भनेको लोकतन्त्रको महापर्व हो, यसमा सहभागी भएनौँ भने हामी कस्तो लोकतन्त्रवादी ?’, यादवले भने, ‘लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता  जोगाउनु छ भने मतदानमा सहभागी हुनुहोस्।’ उनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने समय निर्वाचन भएको भन्दै  मतदानमा उत्साहका साथ सहभागी हुनुपर्ने बताए।

आगामी चुनावबाट जसपा मधेशको मुख्य पार्टी मात्रै नभइ राष्ट्रिय राजनीतिकै मुख्य शक्तिमध्ये एक यादवको दाबी छ। मधेशको नाममा नानाथरिका षड्यन्त्र गर्ने दललाई थ्रेसहोल्ड जोगाउन पनि गाह्रो हुने बताउँदै यादवले भने, ‘जसपालाई आममतदाताले उसको नीति सिद्धान्त तथा विगतका दिनमा गरेका कामको आधारमा रुचाएको छन्, हामी झुठो आश्वासन बाँड्ने काम गरेका छैनाैँ।’

राजविराजमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय, नर्सिङ कलेज भवन निर्माण, इञ्जिनीयरिङ कलेज भवन निर्माण लगायतका काम सप्तरीको पुरानो पहिचानलाई पुनःस्थापित गर्न गरिएका प्रयास भएको उनको भनाइ छ।

‘जनप्रतिनिधिले गरेका कामको मूल्यांकन गर्नुस्, उसले अतितमा गरेका संघर्षलाई सम्झिदिनुस्, मधेशको पहिचान र स्वाभाविनाको संघर्षमा क-कसले के कस्ता योगदान दिए स्मरण गरिदिनुस् र लोकतन्त्रको महापर्वमा उत्साहका साथ मतदानमा सहभागी भइदिनुस् आममतदातामा मेरो विनम्र अनुरोध छ’, उनले मतदातासँग आग्रह गरे।

प्रकाशित: १ मंसिर २०७९ ५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =