कतारमा मेस्सीलाई स्वागत गर्न प्रतिस्पर्धा

हिमाल प्रेस १ मंसिर २०७९ ५:०४
कतारमा मेस्सीलाई स्वागत गर्न प्रतिस्पर्धा

काठमाडौँ- नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा भाग लिन टिमहरू कतार पुग्ने क्रम सुरु भइसकेको छ। बिहीबार बिहान मात्रै अर्जेन्टिनाको टिम दोहा ओर्लियो। लियोनल मेस्सीसहितको अर्जेन्टाइन टिमलाई विमानस्थलबाट कतार विश्वविद्यालय पुर्‍याइएको थियो। जहाँ अर्जेन्टाइन टिमलाई विश्वकपभर राखिनेछ।

कतार विश्वविद्यालयमा मेस्सी र उनका साथीहरूलाई स्वागत गर्न सयौँ समर्थक जम्मा भएका थिए। ती समर्थकमाझ भारतीयको संख्या उल्लेखनीय रहेको एएफपीले जनाएको छ। ती भारतीयले परम्परागत ड्रम बजाउँदै र नृत्य देखाउँदै अर्जेन्टाइन टिमको स्वागत गरेका थिए।

उसो अर्जेन्टिनाबाट कतार पुगेका अर्जेन्टाइन समर्थक पनि आफ्नो टिमलाई स्वागत गर्न कतार विश्वविद्यालय पुगेका थिए। तर उनीहरू भारतीयभन्दा पर उभिएको एएफपीको रिपोर्टमा उल्लेख छ।

गत मंगलबार इंग्ल्यान्डको टिम दोहा पुग्दा ठूलो संख्यामा भारतीयले स्वागत गरेका थिए। उनीहरूको संख्या इंग्ल्यान्डबाटै त्यहाँ पुगेका समर्थकको भन्दा धेरै थियो।

अर्जेन्टाइन टिम आबुधाबीमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग मैत्रीपूर्ण खेल खेलेर दोहा पुगेको हो। त्यस खेलमा अर्जेन्टिना ५–० ले विजयी भएको थियो। यो जितमा लियोनल मेस्सीले गरेको गोल ९१ औँ अन्तर्राष्ट्रिय गोल थियो। अर्जेन्टिनाका लागि भने यो लगातार ३६ औँ जित थियो। विश्वकप २०२२ मा आफ्नो पहिलो खेल जिते अर्जेन्टिनाले लगातार सर्वाधिक खेल जितेको इटालीको कीर्तिमान बराबरी गर्नेछ।

समूह ‘सी’ मा रहेका अर्जेन्टिना यसपालि पनि उपाधि दाबेदार हो। उसले पहिलो खेलमा मंगलबार साउदी अरबको सामना गर्नेछ। यो समूहमा उत्तर अमेरिकी टिम मेक्सिको र युरोपको पोल्यान्ड पनि छन्।

कतारमा अर्जेन्टिनाको समर्थकको संख्या निकै ठूलो रहेको बताइन्छ। कतिसम्म भने ‘अर्जेन्टाइन फ्यान्स इन कतार’ नाम गरेको समूहले करिब पाँच हजार समर्थक संगठित गरेको छ। ‘लियोनल मेस्सीका लागि यो सम्भवत अन्तिम विश्वकप हो। विश्वकपबाट बिदा लिन उनलाई कतारभन्दा उपयुक्त ठाउँ अर्को छैन,’ समर्थक समूहका मनिष शर्मा भन्छन्।

कतारमा विभिन्न टिमका जर्सी लगाएर र्‍याली निकाल्ने भारतीयको संख्या निकै छ। ‘भारतीय निकै हल्ला गर्छन्। यदि उनीहरूले यो ड्रम विश्वकपभर बजाए, कुनै पनि टिम राति सुत्न पाउने छैनन्,’ ब्युनोस आयर्सबाट कतार पुगेकी अर्जेन्टाइन समर्थक लाउरा भालेरोले भनेकी छन्।

२४ वर्षीय भालेरो आफ्ना अभिभावकसँग आठ हजार अमेरिकी डलर ऋण काढेर कतार पुगेकी हुन्। ‘मेरा सबै साथी विश्वकप हेर्न आउने भएपछि मलाई पनि आउन मन लाग्यो,’ भालेरोले भनिन्।

रोचक के छ भने विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्न कतार पुगेका घरेलु समर्थक र अर्जेन्टिना मनपराउने भारतीय समर्थकबीच प्रतिस्पर्धा छ, सर्मथनमा चर्को हल्ला गर्न। उनीहरू एकआपसलाई आफूले बनाएका गीत पनि सिकाइरहेका छन्। यसो गर्नेमा ६० वर्षीया सिल्भिया पेर्ला पनि छिन्।

जतासुकैबाट कतार पुगेका भए पनि, यी समर्थक मेस्सीलाई हेर्न लालयित छन्। ३५ वर्ष पुगिसकेका मेस्सीका लागि आफ्ना देशलाई मुख्य अन्तर्राष्ट्रिय उपाधि जिताउने यो अन्तिम मौका हो। यही वर्ष कोपा अमेरिका जिताएको भए पनि उनी म्याराडोनासँग दाँजिन लायकको भइसकेका छैनन्। किनभने उनी म्याराडोना जस्तो विश्वकप विजेता होइनन्।

प्रकाशित: १ मंसिर २०७९ ५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =