गठबन्धनबाट मैदानमा, चिन्ता आफ्नै क्षेत्रको

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:३१
गठबन्धनबाट मैदानमा, चिन्ता आफ्नै क्षेत्रको

काठमाडौँ- आमचुनावमा दुईवटा गठबन्धन मैदानमा छन्। पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा छ भने नेकपा एमाले नेतृत्वको गठबन्धनमा राप्रपा, जसपा लगायतका साना दल छन्।

चुनाव गठबन्धनबाट लडे पनि शीर्ष नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्। दोस्रो-तेस्रो तहका नेतालाई चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्रबाट निस्कन गाह्रो देखिएको छ। उनीहरू आफ्नै चिन्तामा छन्।

अघिल्ला निर्वाचनमा शीर्ष नेताहरु देशव्यापी रुपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिन्थे। यसपटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेक सबै दलका अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन्।

देउवा र ओलीले दुई दर्जन बढी चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। ‘अध्यक्ष ओलीले देशव्यापी रुपमा दुई दर्जन बढी चुनावी सभामा भाग लिनुभयो’, एमाले नेता रामशरण बजगाईँ भन्छन्।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी छ। निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ। १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था छ।

एमाले अध्यक्ष ओलीले बढीजसो समय गृहजिल्ला झापामा बिताए। प्रचण्ड र माधव नेपाल पनि देशका केही भूभागमा पुगे। अन्य शीर्ष नेता भने आफ्नै क्षेत्रमा मात्र चुनावी अभियानमा सक्रिय छन्।

०७४ मा चितवन-३ बाट चुनाव जितेका उनी यसपटक गोरखा २ पुगेका छन्। गोरखामा माओवादीको राम्रो भए पनि उनी आफ्नो निर्वाचन क्षेत्रमा प्रचार अभियानमा केन्द्रित छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यदाकदा गठबन्धनको चुनावी कार्यक्रममा सहभागी भए। पूर्वप्रधानमन्त्री झलनाथ खनालले अधिकांश समय आफ्नै क्षेत्रमै बिताएका छन्। कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला, एमालेका विष्णु पौडेल लगायत आफ्नै क्षेत्रमा सीमित छन्।

शान्ति-सम्झौता र गणतन्त्र स्थापनामा खास भूमिका खेलेका नेता हुन्, कृष्णप्रसाद सिटौला। उनी झापा-३ बाट उठेका छन्। २०४८ यता उनले प्रतिस्पर्धा गरेको यो सातौँ राष्ट्रिय निर्वाचन हो।

यसपटक उनको मुख्य प्रतिस्पर्धीका रूपमा राप्रपाका अध्यक्ष लिङ्देन मैदानमा छन्। लिङ्देनलाई एमालेको समर्थन छ। यसकारण पनि सिटौलाबाहिर निस्कन सकिरहेका छैनन्। नेपाललाई गणतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सिटौलको सम्भवतः जीवनको यो अन्तिम चुनावमा हो। लिङ्देनलाई एमालेले समर्थन गरेपछि सिटौलामाथि चर्को दबाब परेको छ। त्यसैले उनी सिटौला आफ्नो क्षेत्रको चुनावी प्रचारमा व्यस्त छन्।

पूर्वप्रधानमन्त्री खनाल पनि इलामबाट बाहिर गएको देखिएको छैन। प्रदेश १ मा सीमित खनाल केही दिनका लागि भने काठमाडौँ आएका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश समय तनहुँ-१ मा बिताए।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका नेता आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन्। थापा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर भोट मागिरहेका छन्। उनी पनि देशका अन्य भागमा कमै मात्र पुगेका छन्। काठमाडौँ ४ का जनतामाझ रहेर उनी चुनावप्रचार अभियान चलाइरहेका छन्।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत पनि आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्कन सकिरहेका छैनन्।

एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रेखा शर्माले पोखरेललाई चुनौती दिइरहेकी छन्। पार्टी र मुलुकको नेतृत्व दाबी गर्दै पोखरेल पनि दाङ २ बाट बाहिर निस्कन सकिरहेका छैनन्।

माओवादी केन्द्रका महासचिव गुरुङ २०६४ सालको पहिलो संविधानसभाको चुुनावमा मनाङ र कास्की-१ बाट विजयी भएका थिए। दुवै ठाउँबाट चुनाव जितेपछि उनले मनाङ रोजेका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा गुरुङ लमजुङबाट पहिलोपटक उम्मेदवार बने र जिते पनि। गुुरुङ यसपटक अघिल्लो निर्वाचनमा सहयात्री पृथ्वीसुब्बा गुरुङसँग आमनेसामने हुुँदैछन्। यसकारण गुरुङ लमजुङबाहिर चुनावी प्रचारमा निस्कन सकिरहेका छैनन्।

प्रकाशित: ३० कार्तिक २०७९ ४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =