भूमिहीनलाई हटाउन खोजेकोमा प्रकाशमानको आपत्ति

हिमाल प्रेस १ मंसिर २०७९ १२:०१
भूमिहीनलाई हटाउन खोजेकोमा प्रकाशमानको आपत्ति

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाइ छ।

काठमाडौँ महानगरपालिका-३१ जागृतिनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेता सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताए।

बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकामा आपत्ति जनाउँदै उनले भने, ‘बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझाव दिइएको छ, ती सुझावलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ।’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए। आफूले अरू दलका नेताले जस्तो झुठो आश्वासन नदिने दाबी गर्दै नेता सिंहले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्नेमा विश्वस्त हुन आग्रह गरे।

प्रकाशित: १ मंसिर २०७९ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =