पहिलो चुनाव २०१५ : निर्वाचन क्षेत्र र मतदान केन्द्र निर्धारण प्रक्रिया

हिमाल प्रेस ५ कार्तिक २०७९ ८:५७
पहिलो चुनाव २०१५ : निर्वाचन क्षेत्र र मतदान केन्द्र निर्धारण प्रक्रिया

२०१५ साल फागुन ७ गतेबाट निर्वाचन आरम्भ हुने गरी मिति तोकिएको थियो। उक्त निर्वाचनमा मुलुकलाई १०९ वटा निर्वाचन क्षेत्रमा विभाजित गरिएको थियो। जसअनुसार तल्लो सदन प्रतिनिधिसभाका लागि ती क्षेत्रबाट १०९ जना सदस्य निर्वाचित हुन्थे। प्रधानन्यायाधीश र अन्य २ जना मनोनीत सदस्य रहेकाे निर्वाचन क्षेत्र निर्धारण समितिले निर्वाचन क्षेत्र विभाजित गरेको थियो।

निर्वाचन क्षेत्र निर्धारण गर्दा मुख्य जिल्ला गढीगौडाको जनसंख्या र प्रचलित प्रशासकीय सीमाको ख्याल गरिएको थियो। प्रत्येक जिल्ला गढीगौडा गोश्वारालाई निर्वाचन क्षेत्रमा विभाजन गर्दा प्राकृतिक सिमाना जस्तो : नदीनाला, पहाडको आधारमा सकेसम्म मौजा, प्रगन्ना, थुम, दरा र गर्खालाई खलल नगरी निर्वाचन क्षेत्रहरु कायम गरिएको थियो। प्रमुख निर्वाचन कमिसनर सुवर्णशमशेरका अनुसार त्यतिबेला उक्त निर्वाचन क्षेत्र निर्धारण गर्नुअगाडि स्थानीय जनमत तथा राजनीतिक पार्टीहरुको समेत रायसल्लाह लिइएको थियो। (निर्वाचन सन्देश, वर्ष ०१, अंक ०२, प्रकाशक निर्वाचन कमिसन नेपाल)

काठमाडौँ उपत्यकामा ५, पूर्व १ नम्बर चौतारा ५, पूर्व २ नम्बर सिन्धुली ५, पूर्व ३ नम्बर ३, पूर्व ४ नम्बर ३, धनकुटा र इलाम ८, उदयपुर १, झापा १, विराटनगर ३, सप्तरी सिरहा ६, महोत्तरी सर्लाही ७, बारा पर्सा रौतहट ७, चिसापानी चितवन र ललितपुरका केही भाग २, पाल्ही माझखण्ड नवलपुर ३, खजहनी शिवराज २, बाँके बर्दिया २, कैलाली कञ्चनपुर १, डडेल्धुरा १, बैतडी २, डोटी ४, जुमला २, दैलेख ३, दाङ १, सल्यान ५, प्युठान ३, गुल्मी ४, बाग्लुङ ३, पाल्पा २, पश्चिम ४ नम्बर ४, पश्चिम ३ नम्बर ५, पश्चिम २ नम्बर २, पश्चिम १ नम्बर ४ वटा गरी कुल १०९ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो।

प्रत्येक निर्वाचन क्षेत्रमा लगभग ७८ हजार जनसंख्या थियो। एउटा निर्वाचन क्षेत्रमा ७८ हजार जनसंख्या हुँदा ती सबैलाई एकै ठाउँमा जम्मा गर्न सम्भव नहुने भएकाले हरेक निर्वाचन क्षेत्रलाई धेरै मतदान केन्द्रमा विभाजित गरिएको थियो। यातायातका साधन नभएको त्यो समयमा मतदाताहरुको सहजताका लागि करिब दुई हजार जना मतदाताका लागि एउटा मतदान केन्द्र निर्धारण गरिएको थियो। जसबाट मतदातारुलाई मतदान केन्द्र सम्म जान २/३ कोसभन्दा बढी हिँड्न नपर्ने विश्वास निर्वाचन कमिसनको थियो। कतिपय घना बस्ती भएको क्षेत्रमा त मतदातालाई मतदान केन्द्रसम्म पुग्न १ कोससम्म हिँडे पुग्ने थियो। घना बस्ती भएका त्यस्ता मतदान केन्द्रहरुमा मतदान चाँडो होस् भन्ने उद्देश्यले २/४ वटा मतदान स्थलसम्म राखिएको थियो।

मतदान केन्द्र निर्धारण गर्दा जिल्ला गढीगौडा गोश्वारामा खटिएका निर्वाचन अफिसरहरूले कुनकुन निर्वाचन क्षेत्रमा कहाँकहाँ मतदान केन्द्र राख्ने र प्रत्येक मतदान केन्द्र कुनकुन गाउँमा पर्ने भएको छ भन्ने लगत निर्वाचन कमिसनमा पठाएका थिए। त्यही लगतलाई आधार मानेर तय हुन लागेका मतदान केन्द्रहरु मतदाताको अनुकूल पर्छ वा पर्दैन भन्ने निश्चित गर्न राजनीतिक दलहरुमा त्यसको प्रति उपलब्ध गराई बडाहाकिमद्वारा स्थानीय जनताको समेत त्यसमा राय लिएर मतदान केन्द्रहरु निर्धारण गर्ने व्यवस्था निर्वाचन कमिसनले मिलाएको थियो।

ती १०९ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५६ हजार ९३२ जना मतदाताको संख्या क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणमा र सबैभन्दा कम २३ हजार ४६७ मतदाताको संख्या क्षेत्र नम्बर ६७ बैतडी पूर्वदक्षिणमा थिए। (नेपालको राजनीतिक दर्पण, भाग १, गृष्मबहादुर देवकोटा)

२०१५ सालमा सम्पन्न मुलुकको पहिलो निर्वाचन करिब ४५ दिनमा सम्पन्न भएको थियो। अलगअलग निर्वाचन क्षेत्रअनुसार त्यहाँ अलगअलग दिन मतदान भएको थियो। फागुन ७ गते पहिलो दिन १८ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो। त्यस्तै फागुन १८ गते ८ वटा निर्वाचन क्षेत्र, १४ गते ३, १५ गते ११, १६ गते ३, १९ गते ६, २१ गते ९, २३ गते ५, २५ गते ३, फागुन २६ गते ४, फागुन २८ गते ५, चैत २ गते १०, ५ गते ६, ७ गते ३, ११ गते ६, १३ गते ३, १७ गते ३, २१ गते ३ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो। (निर्वाचन सन्देश, वर्ष ०१, अंक १५, प्रकाशक निर्वाचन कमिसन नेपाल)

प्रकाशित: ५ कार्तिक २०७९ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =