हिमाल प्रेस अर्काइभबाट

जब एलिजाबेथ द्वितीया त्रिभुवनको निधनमा समवेदना दिन दोधारमा परिन्

सन्तोष खडेरी २५ भदौ २०७९ १०:११
2
SHARE
जब एलिजाबेथ द्वितीया त्रिभुवनको निधनमा समवेदना दिन दोधारमा परिन् भारतका राष्ट्रपति डा. राजेन्द्रप्रसादले नेपालका रानीहरुलाई सम्बोधन गरी पठाएको समवेदना सन्देश र राजा त्रिभुवनका दुई रानी कान्तिराज्य लक्ष्मीदेवी र ईश्वरीराज्य लक्ष्मीदेवी। स्रोत : इन्टरनेट

राजा त्रिभुवन सन् १९०६ जुन ३० मा काठमाडौँमा जन्मिएका थिए। सन् १९५५ मार्च १३ मा स्विट्जरल्यान्डको जुरिचस्थित क्यान्टोन्स अस्पतालमा उनको निधन भएको थियो। त्यतिखेर उनी ४९ वर्षका थिए।

नेपालको कूटनीतिक सम्बन्ध बेलायत, अमेरिका, भारत र फ्रान्ससँग मात्र सीमित थियो। ब्रिटिस सरकारका तर्फबाट नेपालका राणा शासकलाई ब्रिटिस सेनाको मानार्थ उपाधि प्रदान गर्ने प्रचलन थियो।

ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि पनि ब्रिटिस प्रचलनको सिको गर्दै भारतले नेपालका राणा शासकहरूलाई भारतीय सेनाको मानार्थ जनरलको पदवी प्रदान दिन थालेको थियो।

सन् १९५१ मा नेपालमा राणाशासनको पतन भएपछि भने ब्रिटिस र भारत दुवै सरकारले नेपालका राजालाई आआफ्नो सेनाको मानार्थ जनरलको उपाधि प्रदान गर्न सुरु गरे।

यसै क्रममा भारत सरकारले २६ जनवरी १९५३ मा राजा त्रिभुवनलाई भारतीय सेनाको मानार्थ जनरल र दसवटै गोर्खा राइफल्सको मानार्थ कर्नेलको उपाधि प्रदान गरेको थियो। (दी गजेट अफ इन्डिया २६ जनवरी १९५३)

ब्रिटिस सरकारले सन् १९५२ मा नै उनलाई ब्रिटिस सेनाको मानार्थ जनरलको पदवी प्रदान गरेको थियो। तर जनरलको तरबार भने दुई वर्ष पछि सन् १९५४ को मेमा काठमाडौँमा हस्तान्तरण गरेको थियो। (दी लिडर पोस्ट, २८ मे १९५४)

राजा त्रिभुवनको निधन हुँदा उनी ब्रिटिस र भारत सरकारको मित्रराष्ट्र नेपालका राष्ट्राध्यक्ष त थिए नै, सँगसँगै उनीहरूको सेनाका मानार्थ जनरलसमेत थिए।

त्यो भूमिकालाई उनको निधनपछि अन्तिम श्रद्धाञ्जलीका लागि अतिरिक्त के गर्नुपर्ने हुन सक्छ भनेर त्यहाँ चर्चा चलेको रहेछ। अतिरिक्त केही गर्न नपर्ने तर उनको अन्तिम श्रद्धाञ्जली समारोहमा भारतीय सेनाको प्रतिनिधि पठाउने निर्णय भयो।

राजा त्रिभुवनको पार्थिव शरीर स्विट्जरल्यान्डको जुरिचबाट दिल्ली हुँदै काठमाडौँ ल्याइयो। भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले राष्ट्रपति डा. राजेन्द्र प्रसादको समेत प्रतिनिधित्व गर्दै भारत सरकारका तर्फबाट दिल्लीमा राजा त्रिभुवनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

राजा त्रिभुवन जंगी पोसाकमा र ब्रिटिस महारानी एलिजाबेथ द्वितीयाले राजा महेन्द्रलाई सम्बोधन गरी पठाएको समवेदना सन्देशसम्बन्धी ‘दी स्पोक्स्मेन रिभ्यु’ मा १६ मार्च १९५५ मा छापिएको समाचार अंश। तस्बिर : इन्टरनेट

राजा त्रिभुवनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा उनको पार्थिव शरीरमा भारतको राष्ट्रिय झण्डा ओढाएका थिए। त्यस्तो किन गरिएको थियो हालसम्म पनि कारण खुल्न सकेको छैन।

काठमाडौँमा राजा त्रिभुवनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भारतबाट वरिष्ठ मन्त्री स्वर्णसिंहको संयोजकत्वमा भारतीय प्रतिनिधिमण्डल नेपाल आएको थियो।

जसका सदस्यहरूमा विदेश राज्यमन्त्री अनिल के. चन्द, नेपालका लागि भारतीय राजदूत भगवान सहाय, भारतीय सेनाका प्रतिनिधि मेजर जनरल मोहिते, राष्ट्रपतिका सैनिक सचिव यदुनाथ सिंहलगायत थिए।  त्यस्तै ब्रिटिस सरकारको प्रतिनिधित्व भने नेपालस्थित ब्रिटिस राजदूतले गरेका थिए।

नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुकका राष्ट्राध्यक्षले समवेदना सन्देश पठाएका थिए। समवेदना सन्देश पठाउने ब्रिटिस राजपरिवारको प्रचलन भने अलिक फरक थियो। कुनै पनि मुलुकका राजाको निधन हुँदा दिवंगत राजाका रानीलाई समवेदना सन्देश पठाउने ब्रिटिस प्रचलन रहेछ।

राजा त्रिभुवनका दुई वटा रानी जेठी कान्ति राज्यलक्ष्मी देवी र कान्छी ईश्वरी राज्यलक्ष्मी देवी थिए। दुई रानी भएकाले कुन रानीलाई सम्बोधन गरी समवेदना सन्देश पठाउने भन्ने त्यहाँ द्विविधा भयो।

त्यसैले प्रचलित मान्यता तोड्दै महारानी एलिजाबेथ द्वितीयाले सीधै छोरा अर्थात् नयाँ राजा महेन्द्रको नाममा समवेदना सन्देश पठाइन्। (दी स्पोक्स्म्यान रिभ्यु १६ मार्च, १९५५)

भारतका राष्ट्रपतिले भने समवेदना सन्देश पठाउने मध्यमार्गी बाटो अपनाए। उनले अंग्रेजीमा पठाएको समवेदना सन्देशमा दुवै रानीलाई सम्बोधन गर्ने गरी लेखिएको थियो। ‘देअर म्याजस्टिस दी क्विन्स अफ नेपाल’ लेखिएको थियो। (भारतीय राष्ट्रिय अभिलेखागार)

भारतका राष्ट्रपति डा. राजेन्द्र प्रसादले दिवंगत राजाका दुइटै रानी र उनका छोरा नयाँ राजा महेन्द्रलाई समवेदना सन्देश पठाए। त्यस्तै प्रधानमन्त्री जहवारलाल नेहरुले नयाँ राजा महेन्द्र, दुवै रानीलाई राष्ट्रपतिझैँ सम्बोधन गरी त्यस्तै आफ्ना समकक्षी प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई समवेदना सन्देश पठाएका थिए।

 

प्रकाशित: २५ भदौ २०७९ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =