भारतीय सेनाको मानार्थ जनरल उपाधि पाउने प्रथम प्रधानसेनापति सुरेन्द्रबहादुर शाह

सन्तोष खडेरी २० भदौ २०७९ १०:०६
भारतीय सेनाको मानार्थ जनरल उपाधि पाउने प्रथम प्रधानसेनापति सुरेन्द्रबहादुर शाह तस्बिर स्रोत : गोरखापत्र दैनिक/ मेरो एक शताब्दी अतिरथी नीरशमशेर जबरा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पा‌ंडे पाँचदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ ओर्लिएका छन्।

पा‌ंडे नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न नेपाल आएका हुन्। उनलाई सोमबार शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दर्ज्यानी चिह्न प्रदान गर्नेछिन्। गत १७ वैशाखमा त्यहाँका सेनाध्यक्ष नियुक्त भएका उनी पहिलोपटक नेपाल आएका हुन्।

उनका पूर्ववर्ती सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले २०७७ कात्तिक १९-२१ सम्म नेपाल भ्रमण गरेका थिए। उनलाई नेपालमा नेपाली सेनाको
मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो। त्यस्तै नेपालका वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले २३-२६ कात्तिकमा भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो।

दुवै मुलुकका सेनामा नयाँ प्रमुख नियुक्त हुनासाथ एकअर्को मुलुकमा पुगेर सम्बन्धित मुलुकका राष्ट्राध्यक्षबाट त्यहाँको सेनाको मानार्थ महारथी दर्जा पाउने परम्परा छ। त्यही परम्पराको निरन्तरतास्वरुप पा‌ंडे नेपाल आएका हुन्।

ब्रिटिसकै समयदेखि नै दुवै मुलुकको सेनामा कायम रहेको मानार्थ परम्परा उता ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि र यता नेपालमा राणा शासनको अन्त्य भएपछि पनि कायमै छ।

सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र हुँदा नेपालमा राणा शासन कायमै थियो। राणाकालमा श्री ३ महाराज एवं प्रधानमन्त्री नै नेपाली सेनाका सुप्रिम कमान्डर रहन्थे। ब्रिटिस सरकारले त्यसअघिसम्म नेपालका तिनै श्री ३ महाराजलाई ब्रिटिस सेनाको मानार्थ जनरलको दर्जा दिने गर्दथ्यो।

भारत स्वतन्त्र भएपछि पनि उसले त्यसैको निरन्तरतास्वरूप पहिले तत्कालीन श्री ३ महाराज प्रधानमन्त्री पद्मशमशेर जबरालाई र पछि मोहनशमशेर जबरालाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो। २००७ साल फागुनमा नेपालमा राणा शासन अन्त्य भयो र प्रजातन्त्र आयो। त्यसको नौ महिनापछि मोहनशमशेरले समेत राजपाठ त्यागे र भारत पलायन भए। त्यसपछिको परिवर्तित सन्दर्भमा भारत सरकारले पहिले राणा महाराजालाई प्रदान गर्ने भारतीय सेनाको मानार्थ जनरलको दर्जा राजा त्रिभुवनलाई प्रदान गर्‍यो।

हाम्रो राजाले स्वीकार गरेझैँ ब्रिटिस उपनिवेशबाट भर्खरै स्वतन्त्र भएको गणतान्त्रिक भारतका राष्ट्रपतिले नेपाली सेनाको कुनै मानार्थ दर्जा ग्रहण गर्ने अवस्था हुँदैनथ्यो। पहिले एकपटक मात्र ब्रिटिस सम्राट जर्ज छैटौँलाई नेपालले नेपाली सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरे  पनि धेरैजसो त ब्रिटिस भारतका प्रधानसेनापतिलाई नै उक्त दर्जा प्रदान गरिन्थ्यो।

त्यसैले पनि होला नेपालले २००९ सालमा स्वतन्त्र भारतका प्रथम भारतीय एवं तत्कालीन स्थल सेनाध्यक्ष केएम करिअप्पालाई नेपाली सेनाको मानार्थ जनरलको दर्जा प्रदान गर्‍यो।  २०१२ जेठमा भारत सरकारले त्यसअघि त्रिभुवनलाई प्रदान गरेजस्तै नयाँ राजा महेन्द्रलाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो।

नेपालतर्फ भने भारतबाट त्यो दर्जा राजालाई नै प्रदान गरिँदै आएको थियो। प्रजातन्त्र पुनर्स्थापनापछिका नेपाली सेनाका दुई प्रधानसेनापति जनरल केशरशमशेर जबरा र जनरल किरणशमशेर जबरा दुवैले प्रधानसेनापतिका हैसियतमा भारतको औपचारिक भ्रमण गरेनन्। त्यसैले सेनाको स्तरमा उनीहरूको कार्यकालमा भारत सरकारले कुनै मानार्थ दर्जा दिएन। किरणशमशेरपछिका तोरणशमशेरले सन् १९५८ र नीरशमशेरले सन् १९६४ मा प्रधानसेनापतिका हैसियतमा भारतको औपचारिक भ्रमण गर्दा पनि उनीहरूले समेत भारतका तर्फबाट त्यस्तो मानार्थ दर्जा पाएनन्।

सन् १९६० डिसेम्बरमा नेपाल आएका करिअप्पापछिका दोस्रो भारतीय स्थल सेनाध्यक्ष केएस थिमैयालाई नेपालले नेपाली सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो।

नीरशमशेरपछिका प्रधानसेनापति जनरल सुरेन्द्रबहादुर शाह सन् १९६६ जनवरीमा दुई साता लामो औपचारिक भ्रमणका लागि भारत पुगेका थिए। त्यतिबेलै तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको निधन भयो। भारत सरकार राष्ट्रिय शोकमा रहँदा उनी बीचमै भ्रमण स्थगित गरेर फर्किए।

उनै जनरल सुरेन्द्रबहादुर शाह २०२६ मंसिर अर्थात् सन् १९६९ डिसेम्बरमा तत्कालीन भारतीय सेनाध्यक्ष जनरल एसएचएफजे मानेकसाको निमन्त्रणामा १० दिने औपचारिक भ्रमणमा भारत गएका थिए। जनरल शाह नेपालबाट भारतीय वायुसेनाको विशेष विमानमा १६ मंसिरमा दिल्ली पुगेका थिए। दिल्लीको पालम हवाईअड्डामा उनलाई त्यहाँका सेनाध्यक्ष जनरल एसएचएफजे मानेकसाले स्वागत गरेका थिए। जहाँ उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यही दिन अपराह्न जनरल शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धासुमन अर्पण गरेका थिए।

त्यहाँका सेनाध्यक्ष जनरल मानेकसाले सोही बेलुकी उनको सम्मानमा हैदराबाद हाउसमा रात्रिभोज आयोजना गरेका थिए। (भारतीय सेनाको विज्ञप्ति-१ डिसेम्बर १९६९)

अर्को दिन १७ मंसिरमा जनरल शाहले बिहानपख भारतका रक्षामन्त्री सरदार स्वर्ण सिंह, रक्षासचिव एचसी सरिनसँग शिष्टाचार भेट गरेका थिए। सोही दिउँसो जनरल शाह राष्ट्रपति भवन पुगेका थिए। त्यसै अवसरमा भारतका तत्कालीन राष्ट्रपति भीभी गिरीले नेपाली सेनाका प्रधानसेनापति जनरल शाहलाई भारतीय सेनाको मानार्थ जनरलको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

राष्ट्रपति गिरीबाट जनरल शाहले तरबारसमेत पाएका थिए। श्री ३ महाराज र श्री ५ महाराजपछि नेपाली सेनाका प्रधानसेनापतिले भारतको मानार्थ जनरल प्राप्त गरेको त्यही नै पहिलो अवसर थियो। जनरल शाहको सम्मानमा राष्ट्रपति कार्यालयमा दिवा भोज आयोजना गरिएको थियो। त्यस्तै जनरल शाहले भारतीय सेनाध्यक्ष जनरल मानेकसालाई चाँदीको खुकुरी उपहार दिएका थिए। (सैनिक समाचार भारत वर्ष १६, अंक ५१, २८ डिसेम्बर १९६९)

जनरल शाह दुई दिन दिल्लीमा रहेका थिए बाँकी दिन जम्मुकश्मीर, देहरादुन, आग्रालगायतका भ्रमण गरी मंसिर २६ मा नेपाल फर्किएका थिए।

प्रकाशित: २० भदौ २०७९ १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =